१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डः राजकुमारीद्वारा क्षमा याचना, उम्मेदवार बनाउने पार्टी खारेजीको तयारी

बैंकक– थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छिन्। शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडि उम्मेदवारी घोषणा गरेकी थिइन। 

उनको उम्मेदवारीका बारेमा भाई तथा राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए। राजाले राजपरिवारको सदस्य भएको व्यक्ति दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु नमिल्ने धारणा राखेका थिए। राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने राजाको भनाई थियो। 

राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो। 

पार्टी विघटनको तयारी

यसैबीच निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोजेको भन्दै ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको छ। आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ। उनकै प्रभावमा परेर रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडि प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी थिइन। 

तर, राजाको असन्तुष्टि र निर्वाचन आयोगको अयोग्य निर्णयपछि राजकुमारी उबोलरतनाले कमजोरी भएको स्वीकार गर्दै क्षमा याचना गरेकी छिन्। उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उहाँलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो। 

शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ। 

आउँदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडि नै अदालतले यस विषयमा निर्णय गर्नुपर्ने भएको छ। 

अदालतले विघटन गर्ने निर्णय गरेमा यसले सिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन। 

सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताई रहेकी सिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडि सारेको टिप्पणी गरिएको छ।

प्रकाशित: १ फाल्गुन २०७५ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App