१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

पुत्रजया- मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्। 

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए। चार वर्षअघि बेपत्ता भएको मलेसियाली उक्त विमानमा २३९ यात्रु सबार थिए। तर उक्त प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन्। अनुसन्धान अधिकारीहरूले परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन्। कतिपय परिवारजन प्रतिवेदन सार्वजनिक कार्यक्रमबाट बीचमै उठेर हिँडेका थिए। 

“यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,” इन्तान माइजुरा ओथमानले बताए। उनका पति बेपत्ता भएका विमान एमएच३७० मा फ्लाइट स्टेवार्ड थिए। क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो। “म अति हतोत्साहित छु। प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन। यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन्।” 

“धेरैले प्रश्न सोधेका थिए,” जी. सुब्रमनियमले बताए। उनका छोरा यही विमानमा सबार थिए। अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरैजना क्रुद्ध बनेका थिए।” 

हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन। अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ। 

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको शुरुदेखि पुनः खोजी अभियान थालेको थियो। यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो। तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ। 

पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो। 

प्रकाशित: १४ श्रावण २०७५ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App