टोकियो – आफ्नै छोरालाई २० वर्षदेखि काठको पिँजडामा राखेको आशंकामा जापानको प्रहरीले एक ७३ वर्षीय बाबुलाई पक्राउ गरेको छ।
हाल ४२ वर्ष पुगेको छोरा मानसिक समस्याले ग्रसित भएको कारण आफूले पिँजडामा राखेको यासिताने यामासाकी नामक ती वृद्धले जनाएका छन्। मानसिक अवस्था खराब भएकाले छोरा कहिलेकाहीं हिसात्मकसमेत बन्ने गरेकाले आफूले पिँजडामा राख्ने गरेको यामासाकीलाई उद्धृत गर्दै जापानको सार्वजनिक प्रसारक एनएचकेले उल्लेख गरेको छ। जापानको सान्डा नजिकै रहेको आफ्नै घर नजिक एउटा झुपडी बनाएर यामासाकीले एक मिटर उचाइ र दुई मिटरभन्दा कम चौडाइको पिँजडामा आफ्नो छोरालाई राख्ने गरेका थिए।
जापानको सान्डा नजिकै रहेको आफ्नै घर नजिक एउटा झुपडी बनाएर यामासाकीले एक मिटर उचाइ र दुई मिटरभन्दा कम चौडाइको पिँजडामा आफ्नो छोरालाई राख्ने गरेका थिए।
पिँजडामा बस्दा बस्दा ढाडको समस्याले ग्रस्त छोरालाई अहिले सरकारी अधिकारीहरुले हेरिरहेको एनएचकेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई पश्चिमी जापानस्थित एउटा समाज कल्याण सुविधाअन्तर्गत यसै वर्षको जनवरी महिनादेखि रेखदेख गरिँदै आइएको छ। सहरका आधिकारीले यामासाकीको घरमा गरेको निरीक्षणका दौरान ४२ वर्षीय मानिस पिँजडामा राखिएको पाइएको थियो। यस विषयमा अनुसन्धान गरिरहेको अनुसन्धानकर्ताहरुले मानसिक समस्या भएको छोरालाई यामासाकीले १६ वर्षको उमेरदेखि पिँजडामा राखेको हुनसक्ने बताएका छन्। यामासाकीका अनुसार उनका छोरामा १६ वर्षकै उमेरदेखि नै मानसिक समस्या देखिएको थियो।
जापान सरकारको पेन्सन खाइरहेको यामासाकीले छोरालाई २० वर्षदेखि पिँजडामा राखिरहेको भए पनि जापानी प्रहरीले भने १८ जनवरीका दिन ३६ घण्टासम्म छोरालाई पिँजडामा राखेको आरोपमा मात्रै उनलाई पक्राउ गरेको बिबिसीले जनाएको छ। छोरालाई पिँजडामा कैद गरेको आरोपमा मुद्दा खेपिरहेका यामासाकीले भने प्रशासनसमक्ष आफूले प्रत्येक दिन छोरालाई खानेकुरा दिने गरेको र प्रत्येक दुई दिनमा नुहाइदिने गरेको बताएका छन्।
प्रकाशित: २७ चैत्र २०७४ ०३:५७ मंगलबार