५ कार्तिक २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा हिंसाको कारक ‘उग्र दक्षिणपन्थी समूह’

बेलायतमा हिंसाका क्रममा लगाइएको आगो। तस्बिर: गेट्टी इमेजेज

गत साताको सोमबार उत्तरपश्चिम बेलायतको साउथपोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भयो। १७ वर्षका एक्सेल रुदाकुबानाले छुरा प्रहार गरेर हत्या गरेपछि हिंसाले उग्र रूप लिएको थियो।

साउथपोर्टमा छुरा प्रहारको घटनाबारे समाचार बाहिरिएपछि घटनामा संलग्न आक्रमणकारीको पहिचानबारे भ्रमपूर्ण जानकारी सामाजिक सञ्जालमा फैलिएको थियो। स्थानीय प्रहरीले सर्वसाधारणलाई यस विषयमा कुनै अनुमान नगर्न अनुरोध गरे पनि सामाजिक सञ्जालमा लोकप्रिय रहेका चरम दक्षिणपन्थीहरूले बेलायतमा शरणका लागि निवेदन दिएका एक मुस्लिम आक्रमणकारी रहेको र उनी डुंगाबाट बेलायत आएको हल्ला फैलाएका थिए। सामाजिक सञ्जाल ‘एक्स’ मा सक्रिय त्यस्ता व्यक्तिको सम्बन्ध चरम दक्षिणपन्थी समूह ‘इङ्लिस डिफेन्स लिग’का संस्थापकसँग देखिएको बताइएको छ।

यही कारणले मुस्लिम विरोधी र आप्रवासीविरोधी भावना भड्किँदा विभिन्न सहरमा गत साता दंगा फैलियो। ‘होप नट हेट’ चरमपन्थी विरोधी अनुसन्धान समूहका अनुसन्धान प्रमुख जो मल्हलका अनुसार यस्तो हल्ला फैलाउन सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूबाट निर्देशित हुन्छन्।

साउथपोर्टमा हिंसात्मक घटनाहरू सुुरु भएलगत्तै ‘होप नट हेट’ संस्थाले विगत केही वर्षदेखि नै बेलायतका स्थानीय समुदायबीच सामाजिक निकटताको अवस्था कमजोर बन्दै गइरहेको र यसअघिका सरकारले ती क्षेत्रमा गरेको खर्च कटौती र यसलाई प्राथमिकतामा नराखेका कारण यस्ताो भएको बताएको छ। सो संस्थाले बेलायती सरकारले समुदायहरूबीच आपसी सम्बन्ध बढाउन पहल गर्नुपर्ने बताएको छ।

बेलायतमा सन् २०१० देखि २०१९ सम्म खर्च घटाउने नाममा तत्कालीन अर्थमन्त्री जोर्ज ओस्बोर्न र उनका उत्तराधिकारीले परोपकारी कार्यक्रमहरू, आवास अनुदान र सामाजिक सुरक्षाका विभिन्न कार्यक्रममा ३० अर्ब पाउन्डभन्दा बढी कटौती गरेका थिए।

बिबिसीका अनुसार चरम दक्षिणपन्थी समूहहरूले उक्त हिंसात्मक घटनालाई आफ्ना कट्टरपन्थी विचारहरू फैलाउन र अश्वेतलाई डरधम्की दिन प्रयोग गरिरहेका छन्। मृतक बालिकाप्रति श्रद्धाञ्जली दिन साउथपोर्टमा आयोजित शान्तिपूर्ण जमघट बिस्तारै हिंसा र तोडफोडतर्फ उन्मुख भएका छन्। दंगाकारीहरूले प्रहरीमाथि ढुंगा र धुवाँ उत्पन्न गर्ने बम र अन्य वस्तुहरू प्रहार गर्नुका साथै विभिन्न होटलमा बसेका शरणार्थी आवेदकलाई पनि निसाना बनाएका छन्।

साउथपोर्टबाट हिंसा क्रमशः हल, लिभरपुल, म्यान्चेस्टर, ब्ल्याकपुल र बेल्फास्टमा फैलिएको छ। बेलायतको उत्तरपूर्वको हल सहरमा लुटपाटका घटना भएको बिबिसीका एक पत्रकारले बताएका छन्। हल सहरका कतिपय पसलमा तोडफोड र एउटामा आगजनी गरिएको छ।

आक्रमणमा बेलायतका केही स्थानमा रहेको मस्जिदहरूलाई पनि निसाना बनाइएका कारण सुरक्षाका निम्ति विशेष प्रहरी बल परिचालन गर्नुपरेको थियो। बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले ‘चरम दक्षिणपन्थी अपराधीहरू’ले दंगा भड्काएको र हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन्।

गत जुलाइमा बेलायतमा भएको संसदीय निर्वाचनमा पनि आप्रवासन र साना डुंगा चढेर आएका आप्रवासीको विषयलाई चर्चामा ल्याएको थियो। ‘ब्रेक्जिट’ अभियान तथा ‘रिफर्म युके’ नामक राजनीतिक पार्टीका एक अग्रणी नेता नाइजल फराजले अनावश्यक मानिसलाई बेलायत प्रवेशमा रोक लगाउनुपर्ने माग गर्दै आएका छन्।

‘ठुलो संख्यामा जारी अनियन्त्रित आप्रवासनले हाम्रा समुदायहरूमा विभाजन हुन थालेको हामीले देखेका छौं,’ उनले भनेका छन्। गत फेब्रुअरीमा इप्सोसले गरेको एक सर्वेक्षणले ५२ प्रतिशत मानिसले अहिलेको आप्रवासन स्तर एकदमै उच्च रहेको देखाएको थियो। दुई वर्षअघि त्यस्तो धारणा राख्ने मानिसको संख्या ४२ प्रतिशत थियो।

विभिन्न चरमपन्थी समूहले पनि गैरकानुनी आप्रवासीहरूलाई सामूहिक निष्कासन गर्नुपर्ने माग गरिरहेका छन्। बेलायती पत्रकार तथा लेखिका लिजी डिअर्डन साउथपोर्टको घटनाले दक्षिणपन्थीहरूलाई एकजुट बनाएको ठान्छिन्।

दंगा रोकिएको प्रहरी दाबी

बेलायत प्रहरीले चरम दक्षिणपन्थीहरूले गरेको दंगा नियन्त्रण लिइएको जनाएको छ। यसैबीच, बुधबार साँझ बेलायतका विभिन्न सहरमा हिंसाको विरोध र शान्तिका लागि सर्वसाधारणले प्रदर्शन गरेका छन्।

विज्ञहरूले सामाजिक र आर्थिक अस्थिरताले खासगरी युवालाई चरम दक्षिणपन्थी विचारधारातर्फ आकर्षित तुल्याउन सक्ने चेतावनी दिएका छन्। कोभिडले पारेको दीर्घकालीन प्रभावले पनि अवस्थालाई झन् जटिल तुल्याएको हुन सक्ने विज्ञ मान्छन्।

यसैबीच, दंगा बढ्न थालेपछि नेपाललगायत भारत, नाइजेरिया, मलेसियाजस्ता देशले बेलायतको यात्रा गर्न लागेका र त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन निर्देशन दिएका छन्।

-बिबिसीको सहयोगमा

प्रकाशित: २५ श्रावण २०८१ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App