२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पमाथि आक्रमण गर्ने व्यक्ति रिपब्लिकन पार्टी कै सदस्य!

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने व्यक्ति रिपब्लिकन पार्टी कै सदस्य रहेको बुझिएको छ।

अमेरिकी जाँच एजेन्सी एफबीआईले आक्रमण गर्ने व्यक्तिको बारेमा थप जानकारी सार्वजनिक गर्दै सो कुरा बताएको हो। स्थानीय सञ्चार माध्यमका अनुसार मतदाता नामावलीमा ती व्यक्तिको नाम रिपब्लिकन पार्टीको सदस्यको रुपमा उल्लेख गरिएको छ।

ट्रम्पमाथि आक्रमण गर्ने व्यक्तिको नाम थोमस म्याथ्यू क्रुक्स रहेको बताइएको छ। उनले शुक्रवार पेन्सिल्भेनियाको बटलरमा चुनावी सभालाई सम्बोधन गरिरहेका अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि एआर–१५ नाम सेमिअटोमेटिक बन्दुकले आक्रमण गरेका थिए।

क्रुक्सको उमेर २० वर्ष बताइएको छ। आक्रमण लगतै सुरक्षाकर्मीले उनलाई गोली हानेर मारेका थिए।

क्रुक्स स्थानीय नर्सिंग होमको भान्छाघरमा काम गर्दै आएका थिए।

उनले प्रयोग गरेका बन्दुक उनको पिताको रहेको र ६ महिना अघि मात्रै खरिद गरेर ल्याइएको पनि एफबीआईले बताएको छ।

घटनाबारे थप अनुसन्धान र छानबिन भइरहेको छ।

ट्रम्प आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बन्ने भएका छन्। जसका लागि उनी विभिन्न चुनावी सभामा सहभागी हुँदै आएका छन्।

प्रकाशित: ३१ असार २०८१ १३:५७ सोमबार

#donald trump #america