१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायल–हमास युद्ध अन्त्य गर्न कुटनीतिक प्रयासमा अमेरिका, विदेशमन्त्री ब्लिन्केन मध्यपूर्वमा

झन्डै ४ महिनादेखि जारी हमास र इजरायल युद्ध अन्त्य गर्न अमेरिका सक्रिय बनेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि मध्यपूर्व क्षेत्रतर्फ प्रस्थान गरेका छन्। 

अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक सोमवार यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उनले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए।

संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण विस्थापित बनेका गाजाका २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई आश्रय दिएको छ।

सप्ताहन्तमा इजरायलले हमासलाई उन्मूलन गर्ने अभियानअन्तर्गत राफामा आफ्नो जमीनी सेना अघि बढ्न सक्ने चेतावनी दिँदै सीमावर्ती शहरतर्फ थप दक्षिणतिर दबाब दिएको थियो।

इजरायलले खान युनिसबाट नै अक्टोबर ७ को आक्रमणका लागि हमासले योजना बनाएको र हमासका उच्च अधिकारीहरू त्यहाँ लुकेर बसेको दावी गरेको छ।

हमास शासित क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार आइतवारदेखि सोमबारसम्म इजरायली आक्रमणमा परी महिला र बालबालिकासहित कम्तीमा १२८ जनाको मृत्यु भएको छ।

हमासको सरकारी सञ्चार माध्यमका अनुसार गाजाको मध्य भाग र दक्षिणी तटीय क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको छ। 
ब्लिन्केन यस क्षेत्रमा आइपुगेसँगै उनले जनवरीमा पेरिसमा भएको अमेरिका, इजरायल, इजिप्ट र कतारी उच्च अधिकारीहरूको बैठकमा प्रस्तावित युद्धविरामबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

हमासप्रति ऐक्यवद्धता जनाउन इरान समर्थित समूहहरूले आक्रमण गर्ने क्रम बढेपछि संयुक्त राज्य अमेरिकाले जवाफी हमला गरिरहेको अवस्थामा कूटनीतिक दबाब थप अत्यावश्यक भएको छ।

हमाससम्वद्ध स्रोतका अनुसार प्रस्तावित छ हप्ताको युद्धविरामले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने उल्लेख छ।

हमासले अहिलेसम्म कुनै सम्झौता नभएको बताएको छ भने केही इजरायली अधिकारीहरूले कुनै पनि ‘कथित सहुलियत’को विरोध गरेका छन्।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाअट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ।

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायलले गरेको छ।

हमासलाई समाप्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले गाजामा ठूलो सैन्य आक्रमण गरेको र यसबाट कम्तीमा २७ हजार ३६५ जनाको मृत्यु भएको छ जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।

गत अक्टोबर ७ मा हमासको आक्रमणमा १२ जना कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि युएनआरडब्ल्यूए आफैं पनि ठूलो विवादमा परेको छ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा एक दर्जन भन्दा बढी देशहरूले मानवीय सहयोगका लागि काम गर्ने राष्ट्रसङ्घीय उक्त निकायलाई आफ्नो आर्थिक सहयोग रोकेका छन्।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युएनआरडब्लुएलाई दिइने आर्थिक सहायता स्थगन गर्ने राष्ट्रहरूले गाजाका ११ लाखभन्दा बढी मानिसलाई विनाशकारी भोकमरी र रोगको प्रकोपबाट पीडितलाई महत्वपूर्ण सहायता प्रदान गर्ने संसङ्गठनको अस्तित्वलाई खतरामा पारिरहेको चेतावनी दिए।

संयुक्त राष्ट्रसङ्घले युएनआरडब्लुएको सञ्चालनको अनुगमन गर्ने घोषणा गरेको छ। रासस

प्रकाशित: २२ माघ २०८० १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App