डाभोस (स्विटजरल्याण्ड)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारमा आफ्नो मुलुक विश्वमै पहिलो राष्ट्र भएको दावी गरेका छन् । विश्व आर्थिक मञ्चमा बोल्दै ट्रम्पले व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिइने तर त्यसको मतलव अमेरिका एक्लै मात्र पहिलो नहुने बताएका हुन्।
डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा भेला भएका विश्वका उद्योगपती तथा राजनीतिज्ञहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अन्य देशका नेताहरुले पनि आ–आफ्नो देशलाई पहिलो बनाउन प्रयत्न गनुपर्छ।’
‘अमेरिका विश्वको लागि खुल्ला छ र यसको फाइदा लिन म सबैलाई आग्रह गर्छु’ ट्रम्पले भने, ‘अनुचित व्यापारको अभ्यासले बजारमा विकृति फैलाएको छ र अब त्यसप्रति चुप लागेर बस्न हुँदैन ।’
आलोचकहरुले भने ट्रम्पले जोड दिएको अमेरिका पहिलो भन्ने नीति विश्व आर्थिक मञ्चको सारा विश्व समेट्ने विश्वव्यापीकरण र सहकार्यको भावनासँग मेल नखाने भन्दै आलोचना गरेका छन् । यद्यपी अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो वर्ष निकै नै उपलब्धीमूलक रहेको दावी गरे । ट्रम्पले आफ्नो कार्यकालमा कर कटौती गरेको, बेरोजगारी दर घटाएको तथा आफ्नो देशलाई लगानीमैत्री बनाएको दावी गरे । एजेन्सी
प्रकाशित: १४ माघ २०७४ ०८:५४ आइतबार