जेरुसेलम, असोज १० (बिबिसी)– इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।
गोली हान्ने ३७ वर्षका व्यक्ति त्यस क्षेत्र नजिकैको गाउँको रहेको र उनलाई पनि गोली प्रहार गरी मारिएको बताइएको छ । प्यालेस्टिनी कामदारसँगै हार अदारमा प्रवेश गर्न लाइनमा लागेका बेला उनले सुरक्षाकर्मीको गोली खोसेर प्रहरी र सुरक्षा गार्डमाथि प्रहार गरेको प्रहरीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । सन् २०१५ पछि लगातार रुपमा इजरायली अरब र प्यालेस्टिनी नागरिकले इजरायलीमाथि गरिरहेको शृंखलाबद्ध आक्रमणको यो पछिल्लो घटना भएको बताइएको छ ।
आक्रमणको कुनैपनि समूहले जिम्मेवारी नलिएको भएपनि गाजा क्षेत्रमा आधारित प्यालेस्टिनी सैन्य संगठन हमास र इस्लामिक जिहादले घटनाको स्वागत गरेको बिबिसीले जनाएको छ । गोली प्रहार गर्ने ती व्यक्ति चार बालबालिकाको बाबु भएको र वेस्ट बैंकको सीमा नजिकै इजरायलमा रहेको जिहादी बस्तीमा काम गर्ने अनुमति पत्र बहाक व्यक्ति भएको इजरायलको आन्तरिक सुरक्षा एजेन्सीलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । गोली प्रहार गर्ने ती व्यक्ति हार अदारबाट करिब एक माइल पर रहेको बेट सुरिक गाउँबाट त्यस क्षेत्रमा काम गर्न आएको बताइएको छ । घटना भएको स्थल जेरुसेलमबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा रहेको बिबिसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले नजिकैबाट गोली प्रहार गरेका थिए । उनको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने अर्का एक चिन्ताजनक रुपमा घाइते भएका छन् । आक्रमणमा मारिएका र घाइते भएका कसैको पनि पहिचान सार्वजनिक गरिएको छैन । यहुदी बस्तीमा करिब ३६ हजार प्यालेस्टिनीसँग काम गर्ने अनुमति पत्र रहेको छ । त्यस क्षेत्रमा आक्रमणका विरुद्धको सुरक्षा एकदमै कडा रहेको छ । त्यस क्षेत्रमा रहेको यहुदी बस्ती इजरायल र प्यालेस्टिनीका बीचमा भइरहने झगडाको प्रमुख कारण हो । त्यस बस्तीलाई इजरायली र प्यालेस्टाइन दुवै पक्षले शान्ति प्रकृयाको बाधकका रुपमा देख्ने गरेका छन् । इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलमलाई कब्जा गरेदेखि त्यस क्षेत्रमा करिब एक सय ४० वटा बस्तीमा छ लाख भन्दा बढी यहुदी बसिरहेका छन् । अन्तर्राष्ट्रिय कानुन अनुसार ती बस्ती गैरकानुनी मानिन्छन् तर इजरायलले भने यसलाई अस्विकार गर्दै आइरहेको छ ।
अक्टोबर २०१५ देखि हालसम्म इजरायल र उसले कब्जा गरेको क्षेत्रमा छुरा प्रहार गरेर, गोली हानेर र जथाभावी कार कुदाएर कम्तीमा ५० जना इजरायली र पाँच विदेशी नागरिको हत्या भइसकेको छ । इजरायलका अनुसार करिब तीन सय प्यालेस्टिनी जसमा अधिकांश आक्रमणकारी रहेका थिए उनीहरु पनि यस अवधिमा मारिएका छन् । अन्य भने इजरायली सेनासँगको झडपमा मारिएका छन् । इजरायलले प्यालेस्टाइनको संस्थापन पक्षले आक्रमणमा मलजल गरिरहेको आरोप लगाउने गरेको छ भने प्यालेस्टाइनका नेताहरुले भने दशकौंदेखि इजरायलले कब्जा गरेर बसेको क्षेत्रका कारण सर्वसाधारणमा नैरस्यता प्रकट भएर घटना हुने गरेको बताउँदै आएको छ ।
प्रकाशित: ११ आश्विन २०७४ ०३:२० बुधबार