२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्सका नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण सम्पन्न

फ्रान्सको राष्ट्रपति भवनमा सपथ लिदैं निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रों । तस्बिर : एएफपी

पेरिस – फ्रान्सका नव निर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोंको सपथ ग्रहण आइतबार एक समारोहकाबीच सम्पन्न भएको छ। 

राष्ट्रपति पदमा निर्वाचित भएको एक सातापछि ३९ वर्षे युवा राष्ट्रपति म्याक्रोंको सपथ ग्रहण समारोह सम्पन्न भएको हो । 

राष्ट्रपति भवन एलिसी प्यालेसमा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रमपछि बोल्दै नवनिर्वाचित राष्ट्रपति म्याक्रोंले विश्वमा रहेको फ्रान्सको प्रभावलाई पुनः स्थापित गर्ने वाचा गरेको बिबिसीले जनाएको छ । 

राष्ट्रपति म्याक्रोंले आफ्नो प्रमुख उद्देश्य नै फ्रान्सेली नागरिकलाई आफूले आफैंलाई विश्वास गर्ने वतावरण फिर्ता ल्याउनु रहेको बताए ।  

आफू राष्ट्रपतिका रुपमा फ्रान्समा रहँदा युरोपेली संघलाई सुधारिएको रुपमा हेर्न चाहेको पनि राष्ट्रपति म्याक्रोंले विश्वास लिएका थिए । 

म्याक्रोंको सत्तारोहण उनका पूर्ववती फ्रान्स्वाँ होलान्दको कार्यकालमा देशको बेरोजगारी दर बढेको बेला भएको छ । गत साता मे ७ का दिन भएको दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा  म्याक्रोंले नेसनल फ्रन्ट पार्टीकी उम्मेदवार मारिन ल पेनलाई पराजित गरेका थिए । कुल मतको ६६ प्रतिशत मत प्राप्त गरेर विजयी भएका म्याक्रोंलाई निर्वाचित भएको एक सातापछि आधिकारिक रुपमै राष्ट्रपतिको रुपमा घोषणा गरिएको छ । 

पूर्व इन्भेस्टमेन्ट बैंकर रहेका म्याक्रोंले राष्ट्रपति निर्वाचनमा होमिनु भन्दा अघि कुनैपनि निर्वाचनमा भाग लिएका थिएनन् । उनले आफ्नो मध्यपन्थी राजनीतिक गतिविधि एक वर्षअघि मात्रै स्थापना गरेका थिए । पदभार ग्रहण गरेपछि म्याक्रोंले देशको राजनीतिलाई सुधार्दै देशको अर्थतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने बताएका छन् । 

राष्ट्रपतिको आधिकारिक निवासमा भएको सपथ ग्रहण समारोहका दिन आइतबार राजधानी पेरिसको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत बनाइएको थियो । सयौं संख्यामा अतिरिक्त प्रहरीलाई पनि सुरक्षामा खटाइएको थियो । राष्ट्रपतिकै सपथका लागि भन्दै आइतबार बिहान पेरिस सहरका विभिन्न क्षेत्रमा सवारी आवागमनसमेत बन्द गरिएको थियो ।  

सन् २०१५ मा भएको आतंकवादी हमलापछि फ्रान्समा संकटकाल लाग्दै आएको छ । 

सपथ ग्रहण कै क्रममा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली जनताको भविष्यप्रतिको विश्वास पुनः फर्काउने बताए । 

देशमा रहिरहेको विभाजनलाई हटाउनुपर्ने  बताउँदै उनले विश्व तथा युरोपले स्वतन्त्रता र एकताका बारेमा बोल्नसक्ने बलियो फ्रान्स चाहेको बताए । 
 
उनले आफूले फ्रान्सेली जनतालाई फ्रान्सको शक्ति नघटिरहेको विषयमा विश्वस्त बनाउने र फ्रान्स पुर्नजागरणको तटमा रहेको बताउने पनि उल्लेख गरेका थिए । 

सपथ ग्रहण कार्यक्रममा उनलाई कुनैबेला नेपोलियन प्रथमले लगाएको हार दिइएको थियो । जसलाई राष्ट्रपतिको पदको संकेतका रुपमा फ्रान्समा लिने गरिन्छ । सपथग्रहणको औपचारिक कार्यक्रमपछि उनलाई २१ तोपको सलामी दिई स्वागत गरिएको थियो ।  

सपथ ग्रहण समारोह सुरु हुनुभन्दा अघि उनले आफ्ना पूर्ववती फ्रान्स्वाँ होलान्दसँग करिब एक घण्टा छलफल गरेका थिए । छलफलकै क्रममा म्याक्रोंलाई उनका पूर्ववर्ती राष्ट्रपति फ्रान्स्वाँ होलान्दले फ्रान्सको परमाणु अस्त्रको कोड औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । फ्रान्सका सबैभन्दा कान्छो उमेरका राष्ट्रपति बनेका म्याक्रोंले देशको राजनीतिक अवस्थालाई बदल्दै अर्थतन्त्रलाई नयाँ ढंगले ऊर्जाशील बनाउने प्रतिज्ञा पनि गरेको बिबिसीले जनाएको छ । तर म्याक्रोंको योजना सफल तुल्याउन उनको दल ‘रिपब्लिक अन द मुभ’ले अर्को महिना हुने संसदीय चुनावमा जित हासिल गर्नुपर्ने बाध्यता रहेको पनि बताइएको छ ।

  

प्रकाशित: १ जेष्ठ २०७४ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App