२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेंगुबाट बच्न काठमाडौँ महानगरद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान

पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै  गएपछि काठमाडौँ महानगरपलिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ।

यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिसँग अन्तरक्रियात्मक कार्यक्रमपछि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको कामपा जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।

डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा  सरसफाइ गर्न सुझाव दिइएको छ। कामपाले आजदेखि प्रयोगशाला भएका वडामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण  सुरु गर्ने जनएको छ।

यसरी परीक्षण सुरु हुने स्थानमा वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन्। उक्त अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको छ। महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो।

डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ। मान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको प्रमुख त्रिपाठीको भनाइ थियो।

विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यसले फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै पोखराजस्ता जनघनत्व बढी भएको सहरमा डेंगुका बिरामी बढिरहेका छन्। विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो। उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्। जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन्। 

प्रकाशित: २० भाद्र २०७९ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App