६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गण्डकीमा टाइफाइडविरुद्ध खोप सुरु

गण्डकी प्रदेशमा टाइफाइडविरुद्ध खोप लगाउन थालिएको छ। प्रदेशमा पहिलोपटक १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि अभियानका रूपमा सो खोप लगाउन सुरु गरिएको हो।

अभियान पोखरास्थित अमरसिंह माविका विद्यार्थीलाई बिहीबार खोप लगाएर सुरु गरिएकाो हो। सो अवसरमा मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थिति थियो।

शुक्रबारदेखि प्रदेशभरका बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ। बहुवर्षीय खोप कार्ययोजना २०१७–२१ को लक्ष्यअनुरूप यही चैत चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

खोप अभियानअन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए।

खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयहरूमा लगाउने व्यवस्था गरिएको प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए। ‘प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं। आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं’–उनले भने। खोप लगाउनका लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी र सहयोगी खटाइएको उनले बताए ।

खोप सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लाका अधिकारीहरूलाई तालिम दिएको थियो। खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरू खोप केन्द्रहरूमा पु¥याइसकिएको प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए ।

अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्धारित समयमै प्रदेश भित्रका लक्षित समूहलाई खोप लगाइसकिने विश्वास व्यक्त गरे। उनले लोककल्याणकारी राज्यको अवधारणा अनुरूप प्रदेशमा स्वास्थ्य बीमा, निःशुल्क रगतलगायतका कार्यक्रम ल्याएर प्रदेशबासीको स्वस्थ जीवनको ज्ञारेन्टी गर्ने प्रयास गरेको बताए। गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले टाइफाइडविरुद्धको खोप बालबालिकाका लागि ठूलो महत्वको भएको बताइन्। उनले शारीरिक र मानसिक रूपमा स्वस्थ रहनुपर्नेमा जोड दिइन्।

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ। यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनलेलगायतका लक्षण देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोसन न्यौपानेले बताए। प्रति लाखमा एकजनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीकोसमेत व्यवस्था गरिएको उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष २ करोड मानिस विरामी हुने गरेका छन्। त्यसमध्ये करीब १ लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेका छन्। नेपालमा भने प्रति १ लाखमा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण दर रहेको छ भने १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाखमा १० हजार ९ सय ६० संक्रमण दर रहेको छ।

नेपालमा वर्षेनी ४ लाख ५० हजार मानिस यसबाट विरामी हुने गरेका छन्। नेपालमा प्रति लाखमा ९ सय जनाले ज्यान गुमाउने गरेको बताइन्छ। गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रति वर्ष कति विरामी हुन्छ भन्ने तथ्यांक छैन। तर उपचारका लागि अस्पताल आउने बिरामीमध्ये हरेक चारजनामा एकजना अर्थात् एकचौथाइ बिरामी टाइफाइडका बिरामी हुने गरेको डा. न्यौपानेले जानकारी दिए।

प्रकाशित: २५ चैत्र २०७८ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App