२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा हात्ती पाइले रोगविरुद्धको औषधि खुवाउनै सकस

बाँकेमा हात्ती पाइले रोगविरुद्धको औषधि खुवाउँदै स्वास्थ्यकर्मी। तस्बिरः नागरिक

हात्ती पाइले रोगविरुद्धको औषधि कम सेवन गर्नेमा नेपालगन्ज उपमहानगरपालिका पहिलो भएको छ। सरकारले गत फागुन २८ गतेदेखि बाँकेसहित १० जिल्लामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत औषधि सेवन कार्यक्रम सुरु गरेको थियो।  

अभियान अन्र्तगत नेपालगन्जमा सबैभन्दा कम ४३ प्रतिशतले मात्र औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। नेपालगन्जमा हात्ती पाइले रोगविरुद्धको औषधि खुवाउन सकस परिरहेको स्वास्थ्यकर्मी बताउँछन्। कार्यालयका किटजन्य रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमले १० जिल्लाका स्थानीय तह मध्ये नेपालगन्जमा सबैभन्दा कम औषधि सेवन गरेको पाइएको जानकारी दिइन्। लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तुमा अभियान चलिरहेको छ।  

‘यसवर्ष राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान लागु भएका १० जिल्लाका स्थानीय तह मध्ये सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा औषधि सेवन गरेको रिपोर्ट आएको छ, यसबाट अभियानमा चुनौती सिर्जना भएको छ,’ उनले भनिन्।  

फोकल पर्सन गौतमका अनुसार हालसम्म बाँकेको कोहलपुर नगरपालिकामा ७२ प्रतिशत, राप्ती सोनारीमा ६१, नरैनापुरमा ६२, खजुरामा ६२, बैजनाथमा ६५, जानकीमा ७३ र डुडुवा गाउँपालिकामा ७७ प्रतिशतले औषधि सेवन गरेका छन्। जिल्लाभर ६० प्रतिशतले मात्र हात्ती पाइले रोगविरुद्धको औषधि सेवन गरेको फोकल पर्सन गौतमले बताइन्। ‘जिल्लाभर कम्तिमा पनि ८० प्रतिशतले औषधि सेवन गरेको हुनुपर्छ, तर यो धेरै कम हो,’ उनले थपिन्।

कार्यालयका अनुसार बाँकेमा हाल हात्ती पाइले रोगको सक्रिय संक्रमित दर ४.१ प्रतिशत रहेको छ। गौतमले भनिन्, ‘बाँकेमा हाल १ सय जनसंख्या बराबर ४ जना ब्यक्तीमा हात्ती पाइले रोग छ।’ फोकल पर्सन गौतमले कतिपय ब्यक्तिले औषधि सेवन गरेपछि खुट्टा सुन्निने समस्या कम भएको पाइएको बताइन्। ‘जसको शरीरमा लक्षण देखिएको छैन, भित्र रहेको परजिवीलाई मार्ने काम गर्छ, समुदायका सबैले एकैपटक औषधि खाएपछि समुदायमा सर्ने दर कम हुन्छ,’ उनले भनिन्।

बाँकेमा २०६७ सालबाट हात्ती पाइले रोग निवारण अभियान सुरु भएको हो। उक्त अभियान सुरु हुनुअघि जिल्लामा रोगको प्रकोप दर २१ प्रतिशत रहेकोमा वर्षेनी औषधि सेवन कार्यक्रम हुँदा घटेर ४ प्रतिशतमा झरेको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह बताउँछन्।  

‘रोगको प्रकोप दर २१ प्रतिशतबाट झरेर ४ प्रतिशतमा आएको छ, तर खासमा २ प्रतिशतभन्दा पनि तल झर्नुपर्छ,’ उनले भने। स्वास्थ्य मापदण्ड अनुसार जनस्वास्थ्य समस्या नरहने गरी प्रकोप दर घटेपछि मात्र औषधि सेवन गर्नु पर्दैन। बाँकेमा अहिले हात्ती पाइले रोग जनस्वास्थ्य समस्याकै रुपमा समुदायमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा फैलिरहेको छ।  

२०६७ सालमा बाँकेमा अभियान सञ्चालन हुने क्रममा चार जना ब्यक्तिको अन्य रोगबाट मृत्यु भएपनि हात्ती पाइले रोगको औषधि सेवन गरेर मृत्यु भएको भनि गलत प्रचार भएका कारण त्यसपछिका अभियान नेपालगन्जमा प्रभावकारी हुन नसकेको शाहले सुनाए। रोगको प्रकोप २ प्रतिशतमा नझर्दा सम्म कार्यक्रम नरोकिने र जसरी भएपनि औषधि सेवन गराउनुपर्ने बताए।  

हात्ती पाइले रोग भएका ब्यक्तिमा हाइड्रोशिल हुने, खुट्टा सुन्निने लगायतका समस्या देखापर्ने र रोग लागेपछि निको सम्भावना कम हुने स्वास्थ्यकर्मी बताउँछन्। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले विशेषगरी मधेसी र मुस्लिम समुदायमा हात्ती पाइले रोगविरुद्धको औषधिबारे गलत बुझाई रहेको बताए।  

‘विशेषगरी नेपालगन्जको वडा नम्बर ३, ११ र १७ मा औषधि खान नमानेको अवस्था छ,’ उनले भने, ‘कतिपयले औषधि लिएपनि सेवन नगरेको देखिन्छ, धेरैजसोले जानी जानी औषधि नखाएको अवस्था छ,’ उनले भने। हात्ती पाइले रोगविरुद्ध जनचेतनामुलक कार्यक्रमसँगै जनप्रतिनिधि, धर्मगुरु, सरोकारवाला निकायसँग छलफल गरेपनि अभियान प्रभावकारी नभएको चन्दले सुनाए। ‘औषधि सेवन नगर्दा समुदायमै हात्ती पाइले रोगको संक्रमण दर देखिरहेको छ, अब खुवाउने तरिकामा पनि परिर्वतन गर्न जरुरी छ,’ उनले थपे।

प्रकाशित: १२ चैत्र २०७८ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App