१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्व क्षयरोग दिवस: हिजोका क्षयरोगी आजका अभियन्ता

हेटौडाकी विनिका श्रेष्ठ अहिले २५ वर्षकी भइन्। तर १८ वर्षको उमेरमा उनलाई क्षयरोग लाग्यो। रोग पत्ता लाग्न ढिलो भएपछि मानसिक र शारीरिक कठिनाई तथा दुःख धेरै भोग्नुपर्यो। यही रोगले गर्दा उनले आफ्नो पढाई केही समय छोड्नु पर्ने अवस्था पनि आयो। अनि समाजले उनलाई हेर्ने दृष्टिकोण परिवर्तन भयो। 

हेटौडा उपमहानगरपालिका वडा ४ खोपे गल्लीकी विनिका भन्छिन्, ‘त्यतिबेलाको दुःख सम्झँदा अहिले पनि मन पोल्छ।’

यतिसम्मका अप्ठेरा र दुःख उनले भोगिन् कि ती दुःखले उनलाई क्षयरोग नियन्त्रण तथा निदान अभियन्ता नै बनायो। उनी अहिले क्षयरोग निदानका लागि युवा जमातमा सचेतनाका कार्यक्रमहरु गरिरहेकी छिन्। र, उनीहरुको दुःख सुखमा साथ दिइरहेकी छिन्। आफूले भोगेका दुःखका दिनहरु अरुले भोग्न नपरोस् भन्दै दिनरात फिल्डमा खटिरहेको उनले बताइन्।

विनिका २ वर्षदेखि यस अभियानमा क्रियाशील छिन्। स्नातक तह भर्खर भर्ना भएकी उनी मद्यपान, धुमपान केही गर्दिनथिन् र गर्दिनन्। तरपनि कसरी क्षयरोग लाग्यो? भन्नेमा विश्वास गर्नै गाह्रो भएको अनुभव उनी सुनाउँछिन्।  

उनले पब्लिक हेल्थ पढ्न नोबेल कलेजमा नाम निकालेकी थिइन्, तर कलेज पढ्न थालेको केही महिनामै उनलाई छाति दुख्ने समस्या सुरु भयो। ‘त्यो समयमा चिसो लाग्यो होला भनेर सामान्य औषधि खाएँ, तर साँझ परेपछि ज्वरो आउने र मध्यरातमा पसिना आएर ज्वरो कम हुने जस्ता लक्षणहरु देखिन थाल्यो, सबै परीक्षण गरेँ तर टिबि भयो होला भन्ने तर्फ ध्यान नै गएन। उल्टै ग्यासट्राईटिश भयो होला भन्ने सोचियो,’ उनले आफ्नो विगत सम्झिँदै भनिन्, ’ग्यासट्राईटिशकै परीक्षण गर्दा एक्सरे गरिएको थियो। सोही क्रममा मेरो दाँयापट्टिको फोक्सोमा पानी जमिसकेको पत्ता लागेपछि, काठमाडौं आएर शल्यक्रिया गरी फोक्सोको पानी निकालियो। चिकित्सकको सल्लाह अनुसार मोन्टक्स् टेष्ट गरेपछि टिबि भएको थाहा भयो र औषधि सुरु गरेँ।’

उनले औषधि खान सुरु गरेपछि अनुहार, घाँटि र पेट सुन्निने समस्या सुरु भएको र एक महिनापछि बिस्तारै समस्याहरु कम हुन थालेको बताइन्। उनले भनिन्, ’फेरि हाडजोर्नी दुख्ने समस्या सुरु भयो। यतिसम्मकी म आफू बसेको ठाउँबाट उठ्न समेत नसक्ने भएपछि पढाई छोड्नु पर्ने अवस्था आयो।’ उनी अगाडि भन्छिन्,‘हेटौंडा घर, काठमाडौंमा पढाई, त्यो पनि होस्टेलमा बसेर पढ्नुपर्ने। घरपरिवारले पढ्न सक्दिन भनेर काठमाडौं नपठाउने भने तर मेरो बुवाले हौसला दिनुभयो र म फेरि कजेल पढ्न थालेँ। ६ महिना औषधि खाएँ, तर ४ महिनासम्म होस्टेल र कलेजको ५ मिनेटको दूरी पार गर्न मलाई २० मिनेट लाग्थ्यो, मुख सुन्निने र हाडजोर्नी दुख्ने समस्या कम नै भएन।’ र्

अहिले म स्वस्थ छु। तर पनि एकपटक त्यसरी विरामी भईसकेको कारणले म वर्षमा एकपटक आफ्नो पूरै शरीर जाँच गराउँछु।’ उनी भन्छिन्,‘शरीरमा केही समस्या रहेछ भने पनि पहिला नै थाहा भएको राम्रो, जति ढिला रोग पत्ता लाग्छ, त्यती नै गाह्रो हुन्छ।’

विनिकाले पब्लिक हेल्थमा आफ्नो स्नातक तहको पढाई उतिर्ण गरिन्। संयोगवस क्षयरोग सम्बन्धी काम गर्ने एक संस्थामा जिल्ला कार्यक्रम अधिकृतको जागिर पाइन्। ‘मेरो भित्रि इच्छा पनि यही थियो, पब्लिक हेल्थ पढेँ। यही क्षेत्रमा काम गर्ने अवसर पनि पाएँ,’ उनले भनिन्र्, आफूले भोगेको अनुभवले गर्दा मलाई अहिले सजिलो भएको छ। अरुलाई यो रोगबाट जोगाउने काम गरिरहेकी छु।’    

क्षयरोगविरुद्धको राष्ट्रिय युवा अभियान (निम्याट)मा आवद्ध उनले नेपालमा क्षयरोगको वस्तविक रुप कस्तो छ भन्नेबारे आफूले भोगेको बताउँछिन्। ‘परिवार, साथीभाईले मलाई निकै सहयोग गरे र मैले यो रोगसँग लड्न सकेँ तर अझैपनि कतिपय मानिस आफूलाई क्षयरोग भएको छ भनेर स्वीकार्न नसकेको मैले देखेँ,’ उनी भन्छिन्, ‘आफूलाई टिबि भएको लुकाउन खोज्ने प्रवृत्ति अझैपनि छ। आफन्त र छिमेकीहरुले छिछि दुरदुर गरेको हामीले पायौँ।’  

क्षयरोगको औषधि आएपछि सुरुका वर्षमा बिरामीले यसको औषधि २ वर्ष खानु पथ्र्यो, बिस्तारै १८ महिना, ९ महिना हुँदै ६ महिनामा झरेको छ। ६ महिना औषधि खाए यो रोग निको हुन्छ।  

विनिकाको अनुभवमा बिरामीहरु आफैंले लापरवाही गरेर औषधि १–२ हप्ताभन्दा बढी नखाने गरेको पाइन्छ। ग्रामीण भेगमा अझैपनि समयमै औषधि नखाने र स्वास्थ्य चौकीमा औषधि लिन नजाने समस्या छ। म एक स्वास्थ्यकर्मी हुँ, क्षयरोगको बिरामी पनि। त्यसैले मलाई यस क्षेत्रमा प्रभावकारी रुपमा काम गर्न सजिलो पनि भएको छ,’ उनले भनिन्।  

क्षयरोग भोगेर यहाँसम्म आएकी उनलाई यसको उपचार, औषधि वितरण र यसको जनचेतना सम्बन्धी कामहरु प्रभावकारी ढंगले गर्न सजिलो भएको छ। उनी भन्छिन्, ‘पहिलेको भन्दा यस क्षेत्रमा धेरै सुधार भएको हो। तर अझै सरकारी र गैरसरकारी संस्थाहरुबीच समन्वयको खाँचो छ। तव मात्र यसको निदान संभव छ।’  

यस्तै भक्तपुर नगरपालिका वडा न. ४ का २३ वर्षीय बिवेक ख्याजु जसलाई १८ वर्षको उमेरमै फोक्सोमा क्षयरोग लाग्यो। यो रोग लागेको थाहा पाएपछि ख्याजु ४ महिना घरमै बसे। उनी पनि यही अभियानमा संलग्न छन्। युवा पुस्तालाई यस रोगबाट कसरी जोगाउन सकिन्छ भन्ने लक्ष्यका साथ काम गरिरहेका छन्।  

ख्याजुको सुझाव यस्तो छ, ‘यसको नियन्त्रणका लागि सरकारले ल्याएका कार्यक्रमहरु परिमार्जन गर्नुपर्ने बेला आएको छ। आम नागरिकलाई चेतना जगाउने खालको प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ। सरुवा रोग भएकाले व्यापक जनचेतनाको खाँचो छ। कुनै परिवार बसाईसराई गर्दा टिबिको स्क्रिनिङ्ग गरेका रिपोर्टहरु पनि देखाउनुपर्ने नियमहरु लागु गर्नुपर्छ।’  

उनले भने, ‘जनचेतनाका प्रभावकारी कार्यक्रम लागु गर्ने हो भने बिरामीलाई गरिने नकारात्मक व्यवहारमा परिर्वतन ल्याउन सकिन्छ।’

यसैगरी जनस्वास्थ्यकी विद्यार्थी २४ वर्षीया दिक्षा शर्मा विगत १ वर्षदेखि यही अभियानमा उपाध्यक्षको रूपमा काम गर्दै छिन्। उनी भन्छिन्,‘क्षयरोग विश्व कै पुरानो रोग हो, उपचार गरे निको हुने र रोकथाम गर्न सकिने हुँदाहुँदै धेरै मान्छे अहिले पनि ज्यान गुमाउन बाध्य छन्। यसमा युवाहरुले काम गर्नुपर्छ भन्ने लागेर म यस अभियानमा लागेकी हुँ।’  

शर्मा भन्छिन्, ‘आफूले पढेको र सिकेको कुराले समुदायमा क्षयरोग अन्त्यका लागि भूमिका खेल्न सक्ने हुँदा यसमा आवद्ध भएर काम गरिरहेकी छु।’

उनको अनुभवमा क्षयरोगको अन्त्यका लागि युवाहरुको सक्रियता निकै महत्वपूर्ण छ। जनचेतना फैलाउने, लान्छना र भेदभाव हटाउन, नयाँ क्षयरोगी पत्ता लगाउन, उपचार पूरा गर्ने कार्यमा सहयोग गर्न र स्थानीय निकायमा क्षयरोगका कार्यक्रमलाई प्राथमिकतामा राख्न युवाहरुलाई परिचालन गर्दा त्यसले सुखद् परिणाम दिने देखिन्छ। एड्भोकेसी गर्ने, विभिन्न कार्यक्रमको प्रभावकारी रुपमा अनुगमन गर्ने र अन्य युवाहरुलाई यस काममा लाग्न प्रेरित गर्न युवा नै चाहिन्छ,’ उनले भनिन्।  

उनी भन्छिन्, ‘खासगरी निदान र उपचारमा आउन नसकेका बिरामी पत्ता लगाउन, उपचार गर्न र समुदायमा व्याप्त अन्धविश्वास हटाउन सरकारले धेरै काम गर्नुपर्छ।’  

सरकारले थप जोड दिनुपर्ने क्षेत्रहरु उल्लेख गर्दै शर्माले भनिन्र्, सामाजिक सञ्जालमा आधारित जनचेतनाका कार्यक्रम, प्रविधि तथा अनुसन्धानमा आधारित कार्यक्रम, बजेटको व्यवस्था, समुदायसँगको सहकार्यमा काम गर्न युवाहरुलाई परिचालन गर्ने र स्थानीय निकायको सहभागितामा क्षयरोगमुक्त समाज निर्माण गर्ने काम गर्न आवश्यक छ।’

उनका अनुसार पछिल्लो समय क्षयरोग निदानका लागि युवाहरु सक्रिय रुपमा अगाडि बढेका छन्। विगत ४ वर्षदेखि क्षयरोगविरुद्धको राष्ट्रिय युवा अभियान (निम्याट)ले १० हजारभन्दा बढी युवालाई क्षयरोग निदानमा आवद्ध गराएको छ। नेपालमा मात्र नभई विश्व भरिनै युवा अभियान सञ्चालनमा यसले महत्वपूर्ण भूमिका खेलेको छ।

सरकार एक्लैको प्रयासले मात्र सन् २०३५ सम्ममा नेपालमा क्षयरोगको निदान गर्ने लक्ष्य पूरा हुने सम्भावना कम भएकाले युवाहरुसंग हातेमालो गर्दै अगाडि बढ्न यी युवाहरुले सुझाव दिएका छन्। सन् २०१९ देखि विश्व स्वास्थ्य संगठनले पनि यही एजेण्डामा आधारित भएर क्षयरोग कार्यक्रम अन्तर्गत युवा कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अभियान अन्तर्गत विद्यालय स्वास्थ्य कार्यक्रम, समुदायमा आधारित जनचेतना कार्यक्रम, पालिका स्तरमा एड्भोकेसी कार्यक्रम, युवा क्षमता तथा नेतृत्व विकास कार्यक्रमहरु सञ्चालित छन्।

प्रकाशित: १० चैत्र २०७८ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App