२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चिसोले बिरामी पारेको भन्दै संक्रमित घरैमा

गण्डकीको संक्रमणदर ५० प्रतिशत बढी

घरघरमा बिरामी, तर, परीक्षण गर्दैनन्

पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मंगलबार कोरोना विरुद्ध बुष्टर डोज खोप दिइँदै। तस्बिरः उमेश पुन/नागरिक

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले सर्वत्र त्रास बढाएको छ। गण्डकी प्रदेशको मुकाम पोखरामा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र छ। गण्डकी प्रदेशका सबैजसो जिल्लामा अहिले संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ। शून्यमा झरेको संक्रमण अहिले धमाधम उकालो लागिरहेको निर्देशनालयले बताएको छ।  

संक्रमितको संख्या शुन्यमा झरेपछि एकसाता अघिसम्म ‘ग्रिनजोन’मा रहेका जिल्ला अहिले संक्रमित भेटिएपछि रेडजोनमा फर्केका छन। एकसाता अघिसम्म गोरखा, मनाङ र मुस्ताङ ग्रिनजोनमा थिए । तर, सोमबारसम्म मनाङ मात्र ग्रिनजोनमा छ। अरु जिल्लामा संक्रमित फेला परिसकेका छन्। कोरोनासँग मिल्दोजुल्दो लक्षणले अहिले धेरै नागरिक बिरामी परेपनि ती सबैले परीक्षण गराएका छैनन। परीक्षण गराउने हो भने कोरोनाका बिरामी अहिले भन्दा अझै बढी भेटिने स्वास्थ्यकर्मीको आँकलन छ।  

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रका अनुसार सोमबार गण्डकीमा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबारको गण्डकीको संक्रमितको संख्या २१३ थियो। यो संख्या गत पुस १६ गते २७ मात्र थियो। त्यो संख्या बिस्तारै उकालो लाग्दै गर्दा पछिल्लो साता भने एकाएक माथि चढेको छ।  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. शरदचन्द्र बरालले परीक्षण गराउने हो भने संक्रमितको संख्या अझै माथि पुग्ने बताउँछन। ‘अहिले घरघरमा बिरामी छन्। ती मध्ये केहीले परीक्षण गराएका छन् भने कतिपयले परीक्षण नै गराएका छैनन,’ बरालले भने, ‘संक्रमणले तिब्र गति लिएको छ। हामीले भयाभहको अवस्था देखेका छौ।’  

उनका अनुसार स्वास्थ्यकर्मी पनि बिरामी भएका छन। १५ जनाजति स्वास्थ्यकर्मी बिरामी परेको अस्पतालले बताएको छ। अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा १४ जना बिरामी भर्ना भएका छन। जटिल अवस्थाका बिरामी थपिने क्रममा रहेको उनले बताए। ‘यत्तिको अप्ठेरो अवस्था आउँदा पनि सहयोग कतैबाट पाएका छैनौ। हामीलाई निकै नै समस्या परेको छ,’ उनले भने । परीक्षणको दायरा बढाउने हो भने अहिलेको संख्या अझै बढ्ने उनको अनुमान छ।  

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले पनि पछिल्ला समय संक्रमण ह्वात्तै बढेको बताउँछन। उनका अनुसार गण्डकीमा परीक्षण गराएका नमूनामध्ये ५० प्रतिशत भन्दा माथिका नमूनामा संक्रमण पुष्टि भएको छ। ‘मान्छेले परीक्षण नगराएकोले संक्रमित संख्या अझ कम देखिएको हो छ। अहिले त घरघरमा बिरामी छन,’ शर्माले भने, ‘यो संख्या अझै केहीदिन थपिन्छ । सबै नागरिकले परीक्षण गराउन चाहेनन।’  

अरुबेला रुघाखोकी लागेजस्तै समस्या यसमा देखिएकोले पनि परीक्षणमा वेवास्ता भएको उनले बताए। ‘अहिलेको संक्रमण जोखिमपूर्ण नभएको भन्ने छ। त्यसले गर्दा पनि नागरिक उत्तिसारो त्रसित बनेका छैन, अस्पतालमा पनि बिरामी भर्ना संख्या पनि कम छ,’ शर्माले भने।  

शर्माका अनुसार चिसोको समय भएकोले नागरिकले चिसो लागेको भनेर परीक्षण गराउन मानेका छैनन। ‘लक्षण देखिएका सबै नागरिकले परीक्षण गराउने हो भने त संख्या निकै नै उकालो लाग्थ्यो,’ उनले भने, ‘तर, चिसोको सिजन भएकोले बिरामी परेको भनेर घरमै बसेका छन। फेरि ज्यानै जाने अवस्था पनि देखिएको छैन।’ उनले परीक्षणको दायरा फराकिलो बनाउने गरि प्रदेश भित्रिने नाकामा परीक्षण बढाएको पनि बताए।  

निर्देशनालयका अनुसार अहिलेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका नागरिकमध्ये ९४ प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन। दोश्रो डोज लगाउनेको संख्या ८३ प्रतिशत छ । त्यस्तै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका मध्ये पहिलो डोज लगाउनेको संख्या ६० प्रतिशत पुगेको छ। ‘खोपको हिसाबले हामी धेरै नै माथि पुगिसकेका छौ,’ संयोजक शर्माले भने। 

बुष्टर डोज सुरु

गण्डकी प्रदेशमा कोरोना विरुद्धको पहिलो र दोश्रो डोज लगाएका नागरिकलाई बुष्टर डोज लगाउन थालिएको छ। निर्देशनालयका अनुसार तनहुँ र पर्वतमा बुधबार देखि मात्र बुष्टर डोज लगाउन सुरु हुनेछ। तत्कालका लागि गत असार मसान्त अघि दुईडोज खोप लगाएका व्यक्तिले अहिले बुष्टर लगाउन पाएका छन। पहिलो र दोश्रो डोज पुरा भएपछि बुष्टर भन्दै तेश्रो डोज खोप लगाउन थालिएको छ। निर्देशनालयका अनुसार दोश्रो डोज पुरा गरेका व्यक्तिका लागि बुष्टर डोजबापत करिब सातलाख खोप व्यवस्थापन भएको छ।  

प्रकाशित: ४ माघ २०७८ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App