१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमणदर वृद्धि भई २३.६ प्रतिशत पुगेको छ। अघिल्लो दिनको तुलनामा बुधबार ७.३ प्रतिशतले संक्रमणदर बढेको छ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ९ हजार ५१ र एन्टिजेन विधिबाट ३ हजार ९८५ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जना संक्रमित भएको पाइएको छ।

थपसहित नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। जसमध्ये १० हजार ८ सय १० जना होम आइसोलेसनमा, ८ सय ८० जना संस्थागत आइसोलेसन र ८७ जना आइसियुमा छन्।

आइसियुमा उपचार भइरहेका मध्येमा ३३ जना भेन्टिलेटरमा छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा बुधबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ।

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गरेका हुन्।

दोस्रो लहरपछि अत्यन्त कम संख्यामा संक्रमित देखिएको अवस्थामा केही दिनयता संक्रमणदर बढ्दै गएको छ। यसलाई आधार मानेर जनस्वास्थ्यविद्ले तेस्रो लहर फैलिन सक्ने बताएका हुन्। जनस्वास्थ्यविद् कोइरालाले भने, ‘छोटो अवधिमा धेरै मानिस संक्रमित हुनु भनेको तेस्रो लहरको संकेत हो, तेस्रो लहर हो कि होइन भन्ने प्रस्ट हुन केही दिन पर्खिनुपर्छ।’ तर जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नसके संक्रमणदर घटाउँदै नियन्त्रणमा ल्याउन सकिने उनले बताए।

स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरिए अहिलेको संक्रमणदर कम गर्न र जोखिमबाट बच्न सकिने उनले बताए। उनले संक्रमणको जोखिमबाट जोगिन घरबाहिर जाँदा अनिवार्य मास्क लगाउन, खोक्दा र हाच्छ्युँ गर्दा रुमाल या कुहिनाले मुख छोप्न, भिडभाडमा नजान, कसैलाई भेट्दा दुई मिटर भौतिक दूरी कायम गर्न, गुम्म परेको कोठामा धेरैजना नबस्न, साबुनपानीले पटकपटक हात धुन, खोप लिन सुझाए।

अहिले भारत र नेपालमा फैलिरहेको कोरोना भाइरस ओमिक्रोन पुराना भेरियन्टभन्दा बढी संक्रामक भएकाले यसले खोप नलिएकालाई गम्भीर बनाउन सक्ने उनले बताए। पछिल्लो अध्ययनअनुसार ओमिक्रोन भाइरस एक व्यक्तिबाट १० जनामा संक्रमित हुन्छ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मुलुकभरि कोरोनाविरुद्धको खोप लिएर सुरक्षित रहन लक्षित समूहका सबैलाई अनुरोध गरेको छ। अहिले १२ देखि १८ वर्षसहित अन्य उमेर समूहलाई लक्षित गरी खोप अभियान चलाइएको छ।

अहिलेसम्म नेपालमा १८ वर्ष उमेरमाथिका ७८ प्रतिशतले एक मात्रा र ५८ प्रतिशतले पूरा मात्रा खोप लिइसकेका छन्। कुल जनसंख्याको ५७ प्रतिशतले पहिलो मात्रा र ३८ प्रतिशतले पूरा मात्र खोप लिइसकेका छन्।

बेवास्ता गर्दा एकाएक बढ्यो संक्रमणदर

कोरोना संक्रमणको पहिलो र दोस्रो लहर झेलिसकेको नेपालले फेरि तेस्रो लहरको सामना गर्ने स्थिति देखिएको छ। नेपालमा यतिबेला किन संक्रमणदर ह्वात्तै बढ्यो भन्ने कुरा जिज्ञासाको विषय बनेको छ।

संक्रमणदर छोटो समयमा ह्वात्तै बढ्नुमा सरकारको व्यवस्थापकीय कमजोरी र जनताको लापरबाही प्रमुख कारण भएको चिकित्सक तथा विज्ञहरूको भनाइ छ।

दुई महिनाअघिदेखि घट्दो दरमा रहेको संक्रमणलाई जिरोमै पुगेको जस्तो गरी बेवास्ता गरेकाले अहिलेको स्थिति आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए। ‘हामीले सतर्क रहन भनिरहेका थियौं तर जनताले कोरोना सधैंका लागि सकिएजस्तो गरी मापदण्ड पालना गर्र्न छोडे’, उनले भन, ‘जनताको साइडबाट पनि व्यापक गल्ती भएको छ।’

डा. पुनका अनुसार केही विकसित राष्ट्रमा फैलिएको ओमिक्रोन संक्रमणको अवस्था हेरेर नेपाल सरकार र जनता झुक्किएको देखिन्छ। विकसित राष्ट्रमा ओमिक्रोनको असर सामान्य रहेको ठानेर नेपालले बेवास्ता गर्दा अहिले एकाएक संक्रमण फैलिएको उनको बुझाइ छ। ‘ओमिक्रोनले धेरैलाई अस्पताल नकुँदाएका कारण यो भित्रभित्रै फैलियो’, पुनले भने। नेपालमा ओमिक्रोन मात्र नभएर दोस्रो लहरमै देखिएको डेल्टा भाइरस पनि अहिले तीव्र गतिमा फैलिरहेको हुन सक्ने उनले बताए।

नेपालमा कोरोना संक्रमणदर ओरालो लाग्दै गएको बेला जनस्वास्थ्य मापदण्ड पालना नगरी भिडभाड गरेका पनि फेरि एकाएक संक्रमण फैलिएको धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले बताए। सबैमा खोप नपुगेका कारण पनि संक्रमण फैलिएको उनको भनाइ छ। ‘न हामी सबैले मास्क लगायौं न सबैले खोप पाए। यो पनि संक्रमणको कारक हो’, उनले भने।

सीमानाकामा क्वारेन्टिनको व्यवस्था नहुनु र पिसिआरको रिपोर्ट अनिवार्य नगरी प्रवेश दिनु, राजनीतिक दल र अन्य पक्षले महाधिवेशन, भेला भिड हुने खालका कार्यक्रम गर्दा अहिलेको स्थिति निम्तिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले बताए।

‘राजनीतिक पार्टीले गाउँगाउँबाट कार्यकर्ता बोलाएर काठमाडौंमा धेरै दिनसम्म अधिवेशन चलाए, क्रिसमस र अन्य कार्यक्रममा पनि सामूहिक भेला र भोजभतेर गरियो’, उनले भने। भिडभाड नगरेको भए यति तीव्र गतिमा संक्रमण नफैलिने डा. मरासिनीको तर्क छ। ‘भिड नभएको भए यति तीव्र गतिमा संक्रमण फैलिने थिएन’, उनले भने। यही अवधिमा विभिन्न ठाउँमा भएका कन्सर्ट र महोत्सव पनि संक्रमणको कारक भएको उनको भनाइ छ।

भारतको सीमानामा कडिकडाउको साथ निगरानी, क्वारेनटिन र आइशोलेशनको व्यवस्था गरेको भए यसको पाmइदा नेपालले दीर्घकालिन रुपमै लिन सक्नेमा सरकारले पनि बेवास्ता गर्दा संक्रमण फैलिएको उनले बताए। ‘बाहिरबाट आउनेलाई पिसिआर रिपोर्ट नेगेटिभ छ, छैन भन्ने नहेरी प्रवेश दिइयो, अहिले पनि आइसोलेसनको उचित व्यवस्थापन छैन’, उनले भने।

यो लापरबाहीले विस्तारै गाउँ–गाउँमा संक्रमण पुगेको उनले बताए। भिडभाड कम गरी मास्कको प्रयोग र हातको सफाइ गरेमा संक्रमण नियन्त्रणमा लिन सकिने उनी बताउँछन्। ‘मुख्य कुरा हाम्रै हातमा छ, सरकारले सीमानाकामा कडाइ गुर्नुपर्‍यो’, उनले भने।

प्रकाशित: २९ पुस २०७८ ००:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App