५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोभिड खोप अब सातामा ६ दिन दिइने

जिल्ला स्वास्थ्य कार्यालय उदयपुर।

उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।

जारी सूचना अनुसार १८ वर्ष उमेर पूरा भएका सबै नागरिकले जिल्ला अस्पताल गाईघाट गएर भेरोसेल खोप लिन पाउने छन्। आइतबार र बुधबार दुई दिन अन्य खोप दिनुपर्ने भएकाले सार्वजनिक बिदा भएको दिन र आइतबार तथा बुधबारबाहेक बाँकी सबै बार खोप उपलब्ध हुने स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।

दासका अनुसार स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा टेकुको समन्वयमा हालसम्म खोप नलिएका १८ वर्ष पूरा भएका नागरिकलाई जुनसुकै बेला आएर खोप लिन पाउने व्यवस्था मिलाइएको हो। यसअघि हरेक स्थानीय तहका वडा स्वास्थ्य चौकी, अस्पताल र तोकिएका केन्द्रमार्फत मात्र खोप दिइँदै आएको थियो।

खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले उदयपुरमा हालसम्म ९५ हजार बढीले कोभिडविरुद्ध खोप लगाइसकेको बताए। सुरुमा ०७७ माघमा भारतीय कम्पनीको कोभिसिल्ड दिइएको उदयपुरमा त्यसपछि चाइनिज कम्पनीको भेरोसेल, अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन र कोभिसिल्डको दोस्रो डोज लिन नपाएकालाई एस्ट्राजेनेका खोप दिइएको थियो। पछिल्लो समय भेरोसेल खोप दिइँदै गरेको निरौलाले बताए।

हाल उदयपुरमा १० हजार खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App