२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘महामारी फैलिनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार’

हाना इलिस पेटर्सन

भारतमा कोरोना महामारीको भयावह स्थितिका लागि भाइरसका नयाँ प्रजातिमात्र नभई भीडभाड, सभा, सम्मेलन र खोपको कमजोर दर पनि उत्तिकै जिम्मेवार रहेको विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले जनाएको छ।  

संगठनका प्रवक्ता टारिक जासारेभिकले कोरोना महामारीको दोस्रो लहर आउनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार रहेको बताए। ‘भाइरसको स्वरुपमा परिवर्तन आएसँगै संक्रमितको संख्या पनि बढेको भन्ने विषय अझै प्रस्ट छैन। यसका लागि अन्य कुरा पनि उत्तिकै जिम्मेवार छन्। उदाहरणका लागि पछिल्ला दिनमा आयोजना भएका सभा, सम्मेलन पनि जिम्मेवार हुन सक्छन्,’ प्रवक्ता जासारेभिकले मंगलबार भने। भारतमा कोरोनाको बी १.६१७ भेरियन्टमा दुइटा उत्परिवर्तन (म्युटेसन) भएकाले संक्रमण तीव्र भएको विभिन्न अध्ययनले देखाएका छन्।  

घरमै बसेर धेरै बिरामीको उपचार हुन सक्ने भए पनि धेरैजना अस्पताल जाँदा स्वास्थ्य सेवा प्रणालीमा अत्यधिक चाप परेको संगठनका प्रवक्ता जासारेभिकले बताए। कोभिड–१९ का बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालमा उपचार आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी स्क्रिनिङ र बिरामीको प्राथमिकीकरणले आवश्यक हेरचाह हुन सक्ने बताए।

भारतमा पछिल्ला दिनमा दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् भने मृत्युदर पनि बढ्दो क्रममा छ। स्वास्थ्य विज्ञले मृतकको सही रिपोर्टिङ नभएकाले तथ्यांक अझै धेरै हुनसक्ने बताउँदै आएका छन्। विशेषगरी उत्तर प्रदेश र गुजरातमा कोरोना संक्रमित र मृतकको संख्या लुकाइएको आरोप एकथरीको छ। कोभिड परीक्षण प्रयोगशाला दिल्लीलगायतका सहरमा मात्र सीमित भएकाले लक्षण भएका धेरैले पनि समयमै परीक्षण गराउन पाएका छैनन्।

राजधानी दिल्लीमा संक्रमणको पोजेटिभिटी दर ३५ प्रतिशत छ भने प्रान्तीय चुनावको संघारमा रहेको पश्चिम बंगालको कोलकातामा यो ५० प्रतिशतभन्दा माथि रहेको चिकित्सकको तथ्यांक छ। यसैबीच डब्लुएचओका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले भारतमा महामारीको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताएका छन्। भारतमा महामारी नियन्त्रण प्रयासलाई डब्लुएचओ, बेलायत, अमेरिका, जर्मन, युरोपेली संघ, अस्ट्रेलियालगायतले सहयोग गर्ने घोषणा गरिसकेका छन्। (द गार्जियन)

प्रकाशित: १६ वैशाख २०७८ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App