coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बालबालिकाको स्वाब निकाल्नै समस्या

क्याप्शन

कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा यसपटक बालबालिका संक्रमणको उच्च जोखिममा छन्। एकातिर विद्यालय तथा विद्यार्थीले स्वस्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन लापरबाही गरेका छन् भने अर्कोतर्फ जोखिममा रहेका बालबालिकाको स्वाब निकाल्न नै समस्या देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लकडाउनपछि खुलेका विद्यालयले सुरुका दिनमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका थिए। 

तर दोस्रो लहर सुरु हुँदा विद्यालय तथा विद्यार्थीले लापरबाही गरेकै कारण यसपटक बालबालिकामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बुधबार र बिहीबार गरी दुई दिनमा एक वर्षदेखि १७ वर्षमुनिका ८६ बालबालिकालाई कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै विद्यालय जाने बालाबलिका रहेको उनले बताए। 

‘बालबालिकामा कोरोनाका समान्य लक्षण देखिने भएकाले आमाबुवाले परीक्षण नै गराउँदैनन्,’ पौडेलले नागरिकसँग भने, ‘अर्को तर्फ बालबालिकाको स्वाब निकाल्न पनि समस्या छ। बालबालिका स्वाब निकाल्ने समयमा उपकरण देखेर डराउने, रुने, चिच्याउने, स्थिर नबस्ने भएकाले उनीहरूको स्वाब निकाल्न निकै मुस्किल परिरहेको छ।’ उनका अनुसार यसअघि अस्पतालको आइसियुमा भर्ना हुनेमा ५० माथिका बढी हुन्थे, यस पटक भने १८ वर्षमुनिका बालबालिका आइसियुमा भर्ना भएका छन्। 

यी बालबालिकामा कोरोना भाइरसको युके भेरिएन्ट देखिएको छ। जोखिममा पनि यही समूह बढी छ। कक्षा ८ सम्मका बालबालिकामा साइलेन्ट केरियर दर बढी भेटिएकाले वैकल्पिक माध्यमबाट पढाउनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव रहेको उनले बताए। मन्त्रालयले कोरोनाको जोखिम बढीजसो ठूला सहरी क्षेत्रका बालबालिकामा देखिएकोले यस्ता सहरका विद्यालय एक महिना बन्द गर्न सरकारलाई प्रस्ताव गरेको छ। 

काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिना बन्द गर्न मन्त्रालयले सरकारलाई सिफारिस गरेको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। सिसिएमसीका सचिवालय संयोजक तथा शिक्षा मन्त्रालयका पूर्वसचिव खगराज बरालले भने यसअघि तीन साता पठनपाठन अनलाइनबाट सञ्चालन गर्ने सुझाव आए पनि एक महिना विद्यालय बन्दको लिखित प्रस्ताव हालसम्म नआएको बताए। तर पनि सिसिएमसीमा विद्यालय बन्द गर्ने वा अनलाइन जानेबारे छलफलले तीव्रता पाएको उनको भनाइ छ। 

‘स्वास्थ्य मन्त्रालयले विद्यालय एक महिना बन्द गर्न मौखिक खबर भने छ, लिखित केही दिनमा आउला,’ उनले भने, ‘विद्यालयमा अध्ययनरत बालाबलिका साथीभाइसँग अँगालो हालेर हिँड्ने, एउटै भाँडोमा खाजा खाने र स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको मैले एक देखेको हुँ, जुन निकै डरलाग्दो हो।’ भारतका उत्तरप्रदेश तथा महाराष्ट्र लगायतका राज्यमा कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढ्दै गएछि विद्यालय बन्द भएको बताउँदै उनले थपे, ‘भोलि बच्चाहरूमा कोरोना भाइरस फैलियो र नियन्त्रण गर्न कठिन भयो भने त्यो ठूलो दुर्भाग्य हुन्छ। त्यही भएर हामीले सिसिएमसीमा विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गरिरहेका छौं । आवश्यक परे विद्यालय बन्द गर्ने निर्णयमा जानुपर्छ।’ 

प्रकाशित: ३ वैशाख २०७८ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App