६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

स्वास्थ्य सेवा पहुँचले फेरिँदै आठबिसकोट

पालिका

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ पहाडाकी २७ वर्षीया झरी वुढालाई २०६९ फागुन २४ गते सुत्केरी बेथा सुरु भयो। तीनदिन (२७ गते) सम्म पनि उनले बच्चा जन्माउन सकिनन्। २७ गते राति ८ बजे उनको त्यही कारणले मृत्यु भयो। उनको गाउँमा सामान्य स्वास्थ्य केन्द्रसम्म थिएन। सिटामोलका लागि समेत ७ घन्टा हिडेर खदि गाउँ जानुपर्ने बाध्यता झरीको परिवारमा थियो।  

यस्तै २०७० चैत १३ गते सोही गाउँकी अर्की ३२ वर्षीया मनमाया पुनलाई सुत्केसी बेथा सुरु भयो। उनको पनि दुईदिनसम्म बच्चा नजन्मेपछि छिमेकीले डोकामा बोकेर एक दिनको पैदयात्रा पछि गोतामकोट पु¥याए। त्यहाँ रहेको स्वास्थ्य चौकीमा उनको उपचार हुन सकेन। परिवारले ३ लाख रूपैयाँ खर्चेर हेलिकप्टर चार्टर गरी नेपालगन्ज लिए। नेपालगन्जमा उनको अप्रेसन गरेर बच्चा निकालियो।  

यी त केही उदाहरण मात्रै हुन। यस्ता कयौं पीडा र समस्या झेल्दै आएका छन्। औषधि र उपचार त परको कुरा आफ्ना समस्या राख्ने ठाउँ समेत पाएका थिएनन् यहाँका नागरिकले। देशमा हुने परिवर्तन र राजनीतिक घटनाक्रमसँग उनीहरूको कुनै चासो हुँदैनथ्यो। निर्वाचनको समयमा मतदान गर्थे तर उनीहरूले आफ्नो उम्मेदवारलाई कहिलै देख्न पाएनन्। तर पछिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा भने उनीहरूले उम्मेदवारसँग भेटघाट मात्रै गरेनन् आफ्नो समस्या समेत प्रष्टसँग राख्ने मौका पाए।  

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू समस्या बुझ्न गाउँगाउँमा पुग्दा उनीहरूलाई त्यहाँको समस्याले भावुक मात्रै बनाएन कार्ययोजना समेत परिवर्तन गर्न अवसर प्रदान गर्यो। निर्वाचित हुनुभन्दा पहिले भौतिक पूर्वाधारलाई प्राथामिकतामा राखेको भएपनि पहिलो नगर कार्यपालिकाको बैठकबाट स्वास्थ्य र शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको नगर प्रमुख गोरखबहादुर केसीले बताए। विकट गाउँमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि पहिलो वर्षबाटै काम सुरु भएको उनको भनाइ छ।  

‘हामी निर्वाचित भएर आएको पहिलो दिनबाट स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्दै आएका छौं,’ नगर प्रमुख केसीले भने, ‘त्यसैअनुसार विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना, स्वास्थ्य इकाइको विस्तार गर्नुका साथै करारमा स्वास्थ्यकर्मी भर्ना गरेर सेवा उपलब्ध गराउँदै आएका छौं।’ साविकका स्यालाखदी, गोतामकोट, आठबिसकोट, आठबिसडाडाँगाउँ र घेत्मा गाविस मिलाएर आठविसकोट नगरपालिका बनाइएको थियो।  

नगरपालिका बन्दा यहाँ ५ वटा मात्र स्वास्थ्य चौकी थिए। ती स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी, औषधिको अभाव हुने गरेको नगरप्रमुख केसीले बताए। आफूहरू निर्वाचित भएर आएपछि १३ वटा स्वास्थ्य इकाई केन्द्र थप गरी अहिले १८ वटा पुगेको उनले बताए। करारमा स्वास्थ्यकर्मी भर्ना गरेर दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख केसीको भनाइ छ।  

‘हामीले प्रत्येक वडा तथा गाउँमा समेत स्वास्थ्य इकाइ केन्द्र स्थापना गरेर सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘सिटामोलका लागि मात्रै ७ घन्टासम्म हिड्नुपर्ने बाध्यता थियो। तर अहिले गाउँमै प्राथामिक उपचारको व्यवस्था छ। केही ठूलो समस्या परेमा २ घन्टाभित्र अस्पतालसम्म पुगेर विशेषज्ञ डाक्टरबाट उपचार सेवा पाइन्छ।’

नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि चालु आर्थिक वर्षमा मात्रै १३ करोड ४६ लाख ७५ हजार रूपैयाँ विनियोजन गरेको छ। उक्त बजेटबाट औषधि खरिद, दुर्गम गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, स्वास्थ्यकर्मीको तलबलगायतमा खर्च हुने बताइएको छ।  

दुर्गममा २५ शड्ढयाको अस्पताल  

देश संघीय संरचनामा गएसँगै स्थानीय सरकार गठन भए। त्यसैक्रममा नेपालमै पहिलो पटक आठबिसकोट नगरपालिकाले आफ्नै स्रोतको ९ करोड लगानीमा २५ शड्ढयाको नगर अस्पताल स्थापना गरिएको थियो। प्रत्येक नागरिकलाई सिंहदरबार गाउँमा पुगेको अनुभूति गराउने र स्वास्थ्य सेवाको सुनिश्चिता लागि नगर अस्पताल सञ्चालन गरिएको मेयर केसीले बताए।  

उक्त अस्पतालबाट प्रत्येक दिन बिरामीलाई ओपिडी सेवा, रगत, दिसा पिसाब, खकार परिक्षणका लागि प्रयोगशाला, इसिजी सेवा, सुरक्षित मातृत्व सेवा प्रदान गर्दै आएको नगर स्वास्थ्य संयोजक मनिराज शाहले बताए। यसका साथै अस्पतालबाट महिलाको पाठघर खस्ने समस्याको उपचार, परिवार नियोजन, फार्मेसीलगायतका सेवा उपलब्ध गराउँदै आएको उनले बताए।

नगरपालिका–९ राडीबजारमा रहेको उक्त अस्पतालबाट ५० प्रकारका औषधि निःशुल्क उपलब्ध हुने गरेको स्वास्थ्य संयोजक शाहको भनाइ छ। अस्पतालमा गत वर्ष १९ हजार ५ सय ६० बिरामीले विभिन्न रोगको उपचार गराएका थिए। अस्पतालबाट सबै खर्च कटौंती गरेर एक करोड आम्दानी समेत भएको बताइएको छ। हिजोआज प्रत्येक दिन ८० देखि १ सयसम्म बिरामी उपचारका लागि आउने गरेको बताइएको छ। नगर अस्पतालबाट अब छिट्टै आँखा, दाँत र हाडजोर्नीको सेवा समेत उपलब्ध गराउने तयारी भइरहेको मेयर केसीले बताए।  

करारमा स्वास्थ्यकर्मी  

नगरपालिकाले स्थापना गरेका स्वास्थ्य चौकीबाट सेवा उपलब्ध गराउनका लागि करारमा स्वास्थ्यकर्मी भर्ना गरिएको छ। विभिन्न पदमा ६८ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको स्वास्थ्य संयोजक शाहले बताए। उनीहरूले दुर्गममा प्राथामिक स्वास्थ्य उपचार गर्ने र स्वास्थ्य सम्बन्धि सचेताना फैलाउन गरेको उनको भनाइ छ। करारमा भर्ना गरिएको स्वास्थ्यकर्मीको वार्षिक तलबमा १ करोड ८७ लाख ८५ हजार रूपैयाँ खर्च हुने गरेको स्वास्थ्य संयोजक शाहले बताए।  

१० दिनमा १२ शड्ढयाको आइसोलेसन वार्ड  

नगरपालिकाले लकडाउनको समयमा १२ शड्ढयाको आइसोलेसन वार्ड निर्माण गरेको थियो। १० दिनमै सुविधा सम्पन्न वार्ड तयार गरिएको नगर स्वास्थ्य संयोजक शाहले बताए। नगरपालिका, नगरवासी, नगरमा रहेका उद्योगी, व्यापारी, सहकारी, सामुदायिक वन उपभोक्ता समिति सबैको सहयोगमा अस्पताल निर्माण भएको उनले बताए।  

भवन मात्रै ६९ लाख ४५ हजार लागतमा निर्माण गरिएको नगर प्रमुख केसीले बताए। अस्पताल निर्माणमा नगरपालिका, राजनीतिक दल, संघ संस्था, सर्वसाधारणको राम्रो सहयोग प्राप्त भएको उनले बताए। लकडाउनको समयमा निर्माण गरिएको भवनमा अब सरुवा रोग सम्बन्धिका बिरामीको उपचार गरिने बताइएको छ।

प्राविधिक पढ्न ऋण अनुदान  

ऋण अनुदानमा दुई जनालाई पाइलट पढाएको आठबिसकोट नगरपालिकाले अन्य विद्यार्थीलाई विभिन्न प्राविधिक शिक्षा अध्ययन गराइरहेको छ। जेहेन्दार भए पनि गरिबीका कारण पढ्न नसकेका विद्यार्थीहरू अहिले अध्ययनका क्रममा छन्। २ जनालाई डाक्टर र २ जनाले हेल्थ एसिस्टेन्ट पढाइ पढाइरहेको नगरपालिकाले जनाएको छ।

कोर्ष पूरा गर्दा लाग्‍ने कलेजको सम्पूर्ण शुल्क तिरेर विद्यार्थीलाई पढाइरहेको नगर प्रमुख केसीले बताए। उनका अनुसार खाने र बस्ने व्यवस्था भने विद्यार्थी आफैंले गरिरहेका छन्। पढ्न चाहेको विषय र प्रवेश परीक्षा पास गरेको प्रमाणसहित छात्रवृत्तिका लागि निवेदन दिएकामध्येबाट विद्यार्थी छनोट गरिएको उनले जानकारी दिए।

प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि नगरपालिका आफैं अघि सरेको नगर प्रमुख केसीले बताए। ‘काम गर्ने क्रममा प्राविधिक जनशक्तिको अभाव देखियो,’ उनले भने, ‘नगरपालिकामै यस्तो जनशक्ति तयार पारेपछि सजिलो होला भन्ने कार्यक्रमको उद्देश्य हो।’

रुकुम पश्चिमका तीन÷तीन वटा नगरपालिका र गाउँपालिका रहेका छन्। त्यसमध्ये आठबिसकोट नगरपालिका सबै बढी दुर्गम र भौतीक क्षेत्रफल भएको स्थानीय तह हो। यो नगरपालिले कुल जिल्लाको ४६ प्रतिशत भू–भाग ओगटेको छ। कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिका समेत हो।

प्रकाशित: ११ चैत्र २०७७ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App