२७ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दाँत कसरी माझ्ने ?

के तपाईंलाई दाँत माझ्ने सही तरिका थाहा छ ? दाँत सफा नहुँदा यसले मुखको स्वास्थ्यका साथै शरीरका अन्य भागमा गर्ने असरबारे बुझ्नुभएको छ ? दाँत ब्रस दिनहुँ दुईपटक गरे पनि दाँत तथा गिजाको समस्या जस्ताको त्यस्तै छ ? त्यस्तो हो भने दाँत सफा गर्ने सही तरिका थाहा नभएर पनि त्यस्तो हुन सक्छ । नेपाली समाजमा दिनहुँ दाँत सफा गर्नुपर्ने ज्ञान भए पनि दाँत माझ्ने सही ज्ञानको अभाव देखिन्छ । दाँत माझ्ने सही तरिका थाहा नहुँदा गिजा तथा दाँतको समस्या प्रशस्तै देखिन्छ ।

दाँत सफा नहुँदा मुखको समस्या मात्र नभई शारीरिक तथा अन्य समस्या पनि त्यत्तिकै निम्त्याउँछ । खाना खाएपछि दाँत सफा नगर्दा दाँत र गिजा तथा दाँतभित्र खानाका टुक्रा अड्किन्छन् । केही दिनमै खानाका टुक्रा, थुक तथा ब्याक्टेरियाका संयोगले ‘ब्याक्टेरियल प्लाग’ बनाउँछ, जुन दाँतमा अड्किएर बस्छ । राम्ररी दाँत दिनहुँ सफा नहुँदा ब्याक्टेरियाको अझ धेरै मात्रामा वृद्धि÷विकास हुन जान्छ र पछि गएर यी ‘ब्याक्टेरियल प्लाग’ले गिजाका समस्या निम्त्याउँछन् । गिजाबाट रगत आउने, गिजामा पिप जम्ने, गिजा दुख्ने, सुनिने, गिजा तल–तल सर्ने तथा दाँत हल्लिने आदि समस्या ‘ब्याक्टेरियल प्लाग’ले निम्त्याउँछ । त्यसैगरी यी ब्याक्टेरियाले मुखमा अम्ल बनाई दाँत खियाउन मद्दत गर्छ, जसलाई दाँतमा कीरा लागेको भनिन्छ । त्यस्तै, मुख गन्हाउने पनि एउटा महतवपूर्ण असर हुन आउँछ । मुख स्वास्थ्यमा मात्र नभई यसले अन्य शारीरिक समस्या पनि निम्त्याउन सक्छन् । दाँत सफा नहुँदा मुखमा भएका ब्याक्टेरिया पेटमा पुगी झाडापखाला लाग्नु, बान्ता आउनु, ज्वरो आउनु इत्यादि समस्या देखिन्छन् । तसर्थ दाँतको सफाइ मुखको स्वास्थ्यका लागि मात्र नभई पूर्ण शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । दाँत कसरी माझ्ने भन्दा पनि दाँत के कुराले र कतिचोटि माझ्ने भन्ने महत्वपूर्ण हुन आउँछ । अमेरिकन डेन्टल एसोसिएसनका अनुसार, दाँत दिनहुँ बिहान र बेलुका गरी कम्तीमा दिनमा दुईपटक माझ्नुपर्छ । दाँत सफा गर्न फ्लोराइडयुक्त दन्तमन्जन तथा नरम रेसा भएका ब्रसको प्रयोग लाभकारी हुन्छ । पाउडर र पेस्टमा भने फ्लोराइडयुक्त पेस्टको प्रयोग दाँतका लागि बढी स्वस्थकर हुन आउँछ ।

दाँतको सफाइ विशेष तरिकाले गर्नुपर्छ । जसलाई हामी डेन्टल साइन्समा ‘मोडिफाइड वास टेक्निक’ भन्छौँ । यसअन्तर्गत दाँतको बाहिरी भाग पहिला सफा गर्नुपर्छ । ब्रसका रेसाहरू गिजा तथा दाँत दुवै छुने गरी दाँतसँग ४५ डिग्रीको कोणमा राखी, एकपटकमा २÷३ वटा दाँत हल्का रूपले भाइब्रेट गरी अर्थात् अगाडि–पछाडि चलाई गिजाबाट तलतिर बढारेको जसरी माथि र तलको दाँतको बाहिरी भाग छुट्टाछुट्टै सफा गर्नुपर्छ । त्यसैगरी ४५ डिग्री कोण बनाई दाँतको भित्री भाग पनि सफा गर्नुपर्छ । ब्रसलाई ठाडो बनाई तल–माथि गर्दै अगाडिको दाँतको भित्री भाग सफा गर्नुपर्छ । दाँतको टोक्ने भागमा अगाडि–पछाडि गर्दै सफा गर्नुपर्छ । यसरी गर्दा दाँतको कुनै पनि भाग सफा गर्न बाँकी रहनु हुँदैन । बच्चाहरूले भने ब्रसलाई दाँतमा राखेर गोलो आकारमा ब्रसलाई दाँतमाथि घुमाउनुपर्छ ।

यसरी दाँत माझ्दा कम्तीमा पनि प्रत्येक पटक दुई मिनेट जति माझ्नुपर्छ । दाँत सफा गर्नुका साथै जिब्रोको सफाइ पनि नितान्त आवश्यक हुन जान्छ । जिब्रोको सफाइ दाँतको सफाइसँगै गर्नुपर्छ । जिब्रोको सफाइ बजारमा पाइने टङ क्लिनर वा ब्रसको पछाडिको भागले गर्न सकिन्छ । जिब्रोको पछाडिबाट अगाडितिर बढारेको जसरी जिब्रो सफा गर्नुपर्छ । यो विधिले दाँत माझ्दा दाँत राम्ररी सफा हुनुका साथै गिजाभित्र अड्केका खाना तथा ‘ब्याक्टेरियल प्लाग’लाई राम्ररी सफा गर्न मद्दत पु-याउँछ । ब्रस गर्ने सही तरिकाको ज्ञान नहुँदा सानै उमेरमै दाँत सिरिंग–सिरिंग हुने समस्या धेरैमा देखिन्छ । दाँत बढी घोटियो भने यस्तो समस्या देखिन सक्छ । दाँतको सफाइ बेस्सरी घोटेर गर्नु हुँदैन । त्यसो गर्दा दाँतको बाहिरी परत इनामेल खिइएर भित्री भाग डेन्टिनमा भएका डेन्टिनल ट्युबमा सेन्सेसन पुगी सेन्सिटिभिटी समस्या निम्तिन्छ । त्यस्तै, गलत तरिकाले ब्रस गर्दा गिजामा चोट लाग्ने, गिजा सुन्निने, दाँत हल्लिने जस्ता प्रमुख समस्या आउन सक्छ ।  

मुख स्वास्थ्यका लागि एक मात्र सबैभन्दा राम्रो र सही तरिका भनेको ‘दुई मिनेट, दिनमा दुईपटक’ फ्लोराइडयुक्त दन्त मन्जनले दाँत सफा गर्नु नै हो । यसबाहेक मुखलाई अझ स्वस्थकर बनाउन खाना खाएपछि कुल्ला गर्ने, दिनहुँ डेन्टल फ्लसको प्रयोग तथा माउथवासको प्रयोग गर्न सकिन्छ । त्यस्तै, प्रशस्त पानी पिउने, पौष्टिक खानपानमा ध्यान दिने, गुलियो खानेकुरा कम खाने तथा धूमपान एवं मद्यपान सेवन नगर्ने गर्नाले मुखलाई स्वस्थ राख्न सकिन्छ । तीन–तीन महिनाको अन्तरालमा ब्रस बदल्नुपर्छ । यी सतर्कतासँगै नेपाल मेडिकल काउन्सिलमा रजिस्टर्ड दन्त चिकित्सकको सल्लाहले मुख स्वास्थ्यको अवस्था अझ सुधार गर्न सकिन्छ ।

प्रकाशित: २९ कार्तिक २०७७ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App