coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कम तौल भएका तिम्ल्याहा शिशुको सर्लाहीमै उपचार

तस्बिर : टंक/ नागरिक

सेवा सुविधाका हिसाबले स्वास्थ्य उपचारका लागि सर्लाहीमा स्तरीय स्वास्थ्य केन्द्र छैन। सामान्य बाहेक जिल्ला स्थित गम्भीर खालका बिरामीहरु उपचारका लागि जनकपुर, वीरगंज वा भरतपुर जानुपर्ने बाध्यता छ। अझ दक्षीणी क्षेत्रका त्यस्ता बिरामीहरु त भारतका विभिन्न अस्पतालमा जाने गरेका छन्।  

तर सर्लाहीकै सदरमुकाम मलंगवा स्थित एक चिकित्सकले भने अत्यन्त कम तौल भएका तिम्ल्याहा शिशुलाई बचाउँन सफल भएका छन्। सदरमुकाम मलंगवा स्थित स्तुती सौम्या हेल्थ केयर सेन्टरमा तिम्ल्याहा छोराको पाँच दिनदेखि उपचार भइरहेको छ। जिल्लाकै दक्षिणी क्षेत्र सदरमुकाम मलंगवाबाट केही पश्चिम पर्ने कौडेना गाउँपालिका–१, सुकचैना निवासी २५ वर्षीया बबिता राउतले जन्माएकी तिम्ल्याहा छोराको डा. गुणेश्वर झाले उपचार गरिरहेका छन्।

राउतले गत शुक्रबार सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा तीनवटा छोरालाई जन्म दिएकी थिईन्। ‘मध्यान्ह १२ बजेदेखि दिउँसो दुई बजे भित्र तीनवटा बच्चा जन्माउनु भयो’, जिल्ला अस्पतालका प्रसूती विभाग हेर्ने डा. चन्दनराज शर्माले भने, ‘बिना शल्यक्रिया तीन छोरालाई जन्माउन सफल हुनुभयो, जन्मने वितिकै शिशुहरु रोएका पनि थिए, तर तौल एकदम कम भएको र स्वाशप्रस्वास लगायत अन्य समस्या देखिएपछि त्यहाँ पठाएका हौं।’ शिशुहरुको तत्कालै उपचार सेवा सूरु गर्नुपर्ने भएकाले बालरोग विशेषज्ञ रहेका डा. गुणेश्वर झाकोमा आफूहरुले आमा सहित शिशुलाई पठाएको शर्माले बताए।  

जिल्ला अस्पतालकी स्टाप नर्स संगिता श्रेष्ठले समय नपुग्दै जन्मिएका कारण तिम्ल्याहा शिशुको तौल अत्यन्त कम भएको बताईन्। ‘सामान्यतया ३७ हप्ता बितेपछि बच्चा जन्मिनु राम्रो मानिन्छ’, श्रेष्ठले भनिन्, ‘तर बबिताले २८ हप्तामै तिम्ल्याहा बच्चा जन्माएकी छिन्, त्यसैले शिशुहरुको तौल निकै कम भएको हो।’

तीन मध्ये एक शिशुको तौल साँढे १ किलो तथा दुई शिशुको तौल सबा एक–सबा एक किलो रहेको छ। ‘जन्मने वितिकैको भन्दा शिशुहरुको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ, चिसोबाट बचाउन तीनवटै बच्चालाई वार्मरमा राखेको छु, एन्टिबायटिकसहित तौल बढाउने लगायत औषधि चलाईरहेको छु’, डा. झाले भने, ‘यसैगरी सुधार हुँदै गयो भने एक साता भित्रै डिस्चार्ज गर्ने विचारमा छु।’ सामान्यतया समय पुगेर जन्मेको स्वस्थ शिशुको तौल दुई किलो छसय ग्राम हुनुपर्ने भएपनि तिम्ल्याहा मध्ये दुई शिशुको तौल त सबा एक किलोको दरले मात्र छ।

जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा बच्चा शल्यक्रिया बिना जन्माउन र सबैलाई बचाउन निकै कठिन हुने डा. झा बताउँछन्। ‘पहिलो कुरो त आमा र बच्चा दुवै सुरक्षीत हुने गरी तिम्ल्याहाको डेलिभरी गराउनमा सरकारी जिल्ला अस्पतालका चिकित्सकहरुले पनि धेरै मेहेनत गर्नु भएको छ’, डा. झाले भने, ‘अहिले म ति सकुशल जन्माईएका तिम्ल्याहा शिशुको स्वास्थमा सुधार गर्न लागि परेको छु।’ सानो समस्या आईपर्दा पनि भारत तथा मुलुकका जनकपुर, वीरगंज वा भरतपुर जानुपर्ने अवस्था अन्त्य गर्नका लागि नवजात शिशु सहित बालबालिकाको उपचारमा चाँहिने उपकरणहरु सहित आफूले अन्य रोगका बिरामहरुलाईसमेत सेवा दिने प्रयास गरिरहेको डा. झाको दाबी छ। ‘काठमाडौं कान्ति बाल अस्पतालमा काम गरिरहेको थिएँ’, झाले भने, ‘आफ्नै जिल्लामा केही सेवा गरौं र अनावश्यक झञ्झट र आर्थिक व्ययभारबाट पनि जिल्लाबासीलाई बचाउने उद्धेश्यले आवश्यक उपकरणसहित विगत ३ वर्षदेखि निजी स्वास्थ्य संस्था संचालन गरिरहेको छु।’ उनकोमा भेन्टिलेटर जतिकै बालबालिकाका लागि उपयोग हुने ‘सीप्याप’ उपकरण पनि छ। त्यस्तै अन्य बिरामीहरुको पनि परीक्षण गर्ने गरेको झाले जानकारी दिए।  

तिम्ल्याहाकी आमा बबिताको स्वास्थ्य अवस्था पनि सामान्य रहेको झाले बताए। बबिताले यसअघि पनि दुईवटा छोरा जन्माईसकेकी छिन्। ५ वष र साँढे ३ वर्षका ती दुवै छोराहरु भने घरमै जन्मिएको बबिताका श्रीमान पोषण् राउतले बताए। तिम्ल्याहाका पिता पोषण मलंगवामै यतिको उपचार पाएकामा खुशी छन्। ‘बाहिर लानु परेको भए पक्कैपनि निकै झञ्झट र खर्च व्यहोर्नु पर्ने थियो’, उनले खुशी हुँदै भने, ‘आफ्नै आँगनमा उपचार पाउँदा निकै सहज भएको छ, आफन्त परिवारजन सबैले नियाल्न पाईरहेका छन्।’

प्रकाशित: २० आश्विन २०७७ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App