२८ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं महानगरमा मात्रै १० हजार संक्रमित, कुन-कुन वडामा धेरै?

काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ। 

काठमाडौँ महानगरमा मात्रै ९ हजार ८ सय २५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। 

जसमा सबैभन्दा बढी १५ नं वडाका छन्, जहाँ ८ सय ७१ सङ्क्रमित छन्। त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० भन्दा बढी सङ्क्रमित रहेको काठमाडौँ महानगरपालिकाकाे जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए। 

उनका अनुसार होम आइसोलेसनमा बस्नेको सङ्ख्या २ हजार ९ सय ९० छ। अस्पतालमा उपचार गराइरहेका ५ सय ७२, संस्थागत आइसोलेसनमा ५ सय ८३ छन्। 

५ हजार ५ सय ९ जना निको भएर घर फर्किसकेको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ। जनस्वास्थ्य प्रमुख कुँवरका अनुसार सङ्क्रमणका कारण ८० जनाको मृत्यु भएको छ। सरकारले भनेअनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ। 

उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ। 

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरले बताए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनजीवन सञ्चालन गर्न बजार खुला गरे पनि नागरिक स्वयं सतर्क रहन आवश्यक रहेको बताइरहेकाे छ। अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ। 

तीमध्ये ५ सय २० जनाको मृत्यु भएको छ भने ६० हजार ६ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन्। 

हाल देशभर २१ हजार २ सय ३४ सक्रिय सङ्क्रमित छन्। तीमध्ये ११ हजार ७ सय ६० होम आइसोलेसनमा छन्। ९ हजार ४ सय ७४ संस्थागत आइसोलेसनमा छन्। जसमध्ये २ सय १० आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रकाशित: १७ आश्विन २०७७ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App