२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

लकडाउनले मृगौलाका विरामीलाई सास्ती

२ महिनादेखि धर्मशालाको बास, महंगोमा औषधी किन्नुपर्ने बाध्यता

वीपी प्रतिष्ठानको एकेडेमिक भवनमा रहदै आएका मृगौलाका विरामी तथा आफन्तजन ।तस्बिर : रोहित राई/नागरिक

लामो लकडाउनको कारण डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरूलाई धेरै सास्ती खेप्नु परेको छ ।

सातामा २ पटकसम्म डाइलाइसिस गर्नुपर्ने विरामीहरू यातायात बन्द हुँदा आवतजावत गर्न नपाउदा समस्यामा छन् भने कतिपय विरामीहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताभित्र धर्मशालामा बसेका छन् । धर्मशालालाई प्रतिष्ठानले आइसोलेसनमा परिणत गर्ने भएपछि अहिले उनीहरूलाई एकेडेमिक ब्लकमा सारिएको छ । मृगौला पीडित सरोकार समितिका अनुसार लकडाउनको कारण हाल १३ जना मृगौला विरामीहरू प्रतिष्ठानमा नै रहेका छन् ।  

सरोकार समितिका सचिव विशाल तामाङका अनुसार लकडाउनको कारण मृगौलाका विरामीहरूले धेरै दुःख पाइरहेका छन् । खान र बस्नमा समस्या त छदैछ, अहिले डाइलाइसिस गराउदा सरकारबाट निःशुल्क पाउने कतिपय सामानहरू वीपी प्रतिष्ठानमा सकिएकोले विरामीहरूले निजी मेडिकलबाट महंगामा किन्नु परिरहेको छ । ‘एक महिना जति नै भइसक्यो, हामीले बाहिर मेडिकलबाट कतिपय सामानहरू किनिरहेका छौं,’उनले भने । मोरङको उर्लाबारी १ का तामाङ ६७ वर्षीय आमालाई डाइलाइसिस गराउन लकडाउन यता प्रतिष्ठानमै छन् ।

डाइलाइसिस गराउदा आवश्यक पर्ने फिस्टुला निडल, एभि ट्युब, एचडि फ्ल्युडलगयात सामानहरू वीपी प्रतिष्ठानमा अभाव भएको पीडितहरूको भनाई छ । प्रतिष्ठानले लकडाउनको कारण अभाव भएको जवाफ दिने गरेको पीडितहरू बताउँछन् । रगत व्यवस्थापन गर्न पनि समस्या भइरहेको उनीहरूको भनाई छ । २०७१ सालदेखि वीपीमा नियमित डाइलाइसिस गराउदै आएका सरोकार समितिका संयोजक मानबहादुर बजगाई लकडाउनले समस्यामा परेका विरामीहरू आफैले सामान महंगोमा किन्नुपर्दा थप आर्थिक बोझ भएको बताउँछन् । ‘निःशुल्क पाउदै आएका थियौं, एक डेढ महिनै भइसक्यो बाहिरबाट महंगोमा किन्नु परिरहेको छ,’उनले भने,‘पहिला त विल अनुसार पैसा फिर्ता हुन्थ्यो, अब त थोरै मात्र फिर्ता हुन्छ भन्दैछन् ।’

मृगौलाका विरामी तथा कुरुवा बस्दै आएको वीपी प्रतिष्ठानको एकेडेमिक भवनको हल । तस्बिर : रोहित राई/नागरिक

पीडितहरूले डाइलाइसिस गर्दा आवश्यक पर्ने सामानहरू सबै प्रतिष्ठानबाट उपलब्ध गराउन माग गरेका छन् । बाहिर खरीद गर्दा पनि आफुहरूले तिरेको रकम बराबर फिर्ता हुनुपर्ने उनीहरूको माग छ । प्रतिष्ठानले भने निजी मेडिकलले लिएको मुल्य नदिने र सरकारी रेट अनुसार मात्र फिर्ता दिने भनेकोले समस्या भएको सरोकार समितिका सचिव तामाङ बताउँछन् । 

‘कि वीपीले नै सामानहरू उपलब्ध गराओस्, कि हामीले तिरेको विल अनुसार पैसा फिर्ता होस्,’उनी भन्छन् । उनका अनुसार सरकारले २३ रुपैयामा किनेको फिस्टुला निडललाई निजी मेडिकलमा १३० रुपैयामा किन्नुपरेको छ । वीपीले पैसा फिर्ता गर्दा २३ रुपैया मात्र गर्ने भएपछि पीडितहरू थप मर्कामा परेको उनले बताए ।

मेडिकलहरूले मुनाफा नलिई बिक्री गर्ने

डाइलाइसिस गराउनुपर्ने विरामीहरूले बाहिर महंगामा सामानहरू खरीद गर्नुपर्ने र त्यसअनुसार पैसा फिर्ता पनि नपाउने भएपछि धरान उपमहानगरपालिकामा निवेदन दिएका थिए । उक्त निवेदन पछि १८ नम्बर वडा कार्यालयले वीपी प्रतिष्ठानको आसपासमा सञ्चालित मेडिकल पसलहरूसँग शुक्रबार वृहत छलफल गरेको थियो ।

छलफलमा मेयर तिलक राईको आग्रहमा औषधी व्यवसायीहरूले डाइलाइसिसको सामानमा मुनाफा नलिाई बिक्री गर्न सहमत भएको वडाअध्यक्ष प्रविण राईले जानकारी दिए । ‘मेयर साबले आग्रह गरेपछि औषधी व्यवसायीहरूले पनि नाफा नखाई डाइलाइसिसको सामान दिन सहमत भएका छन्,’अध्यक्ष राईले भने ।

नेपाल औषधी व्यवसायी संघ सुनसरीका सचिव एवं युनिक फार्मेसीका प्रोपाइटर पंकज झाका अनुसार सर्जिकल तथा डाइलाइसिस गर्ने सामानमा ढुवानी खर्च मात्र जोडेर नाफा नलिई दिइनेछ । ‘सर्जिकल तथा डाइलाइसिस गर्ने सामान ढुवानी खर्च मात्र जाडेर दिन्छौं, खानुपर्ने औषधीमा भने थोरै मात्र मार्जिन लिएर दिन हामी समहत छौं,’उनले भने । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App