नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स हेमा थापा कोभिड–१९ सेवाकी नर्सिङ सुपरभाइजर हुन् । डेढ महिनाअघि तीन जना भारतीय व्यक्तिमा कोरोना संक्रमण हुँदादेखि यता हेमा नै संक्रमित विरामीहरुको सेवामा खटिएकी छिन् । त्यो भन्दाअघि उनी अस्तपालको एनआइसियु वार्डमा थिइन् । सुरुमा अस्पतालमा तीन/चार जना मात्र विरामी थिए । सबै निको भएर घर फर्के । अहिले अस्पताल नै कोभिड – १९ हब अस्पताल बनेको छ । त्योसंगैं कोरोना संक्रमित मात्र ७५ जना विरामी भर्ना भएका छन् । अस्पतालमा नर्स भने कम छन् ।
यो व्यवस्थापन गर्न सुपरभाइजर थापाले ६ जनाको समूह बनाएर डियुटीमा खटाएकी छिन् । सबै विरामीलाई समय दिन सजिलो छैन । यसलाई सहज पार्न विरामीको वार्डमा सिसिटिभी क्यामेरा जडान गरिएको छ र हरेक ब्लकमा फोन छ । तीन वटैै ब्लकका विरामीको कुरा समस्या सुन्नको लागि एक जना नर्सिङ लिडर खटाइएको छ । लिडरमार्फत उनीहरुलाई चाहिएको सेवाको जानकारी संकलन गरिन्छ र आवश्यक्ता अनुसार नर्स पठाइन्छ । ‘ सवै नर्सले फोनमा कुरा सुन्ने हो भने कुन विरामीको के माग हो भन्ने बारेमा कन्फ्युज हुन्छ, त्यही भएर फोनबाटै समस्या संकलन गर्ने व्यवस्था गरेका हौं’ उनले भनिन् । वार्डमा धेरै जसो मुस्लिम समुदायका विरामी छन् । उनीहरु धेरै जसो समय नामाज पढ्नै बिताउँछन् बाँकी समय नर्सहरुले फोनबाटै परामर्श दिन्छन् । ‘व्यायम गर्न, सकरात्म सोंच राख्न र पानी प्रशस्त पिउने कुराको परामर्श दिन्छौ,जुन कुराले विरामीलाई निको हुन मद्दत पुग्छ’ उनले भनिन् ।
अस्पतालमा विरामी मात्र छैनन् कतिपय नर्सहरु समेत नयाँ छन् उनीहरुसंगको सहकार्य बढाउन छुट्टै विधि तय गरेकी छिन् । कतिपय नयाँ नर्सहरु कोभिड १९ का विरामी हेर्न आत्तिन्छन् । उनीहरुलाई समेत परामर्श दिएर र आपसी एकता, समन्वय गरी सेवा दिइरहेको अनुभव सुपरभाइजर हेमाले सुनाइन् ।
नर्सको परामर्श र नर्सबीचकै आपसी एकताले मात्र कोरोना संक्रमित विरामीलाई निको पार्न सकिन्छ, कोरोना संक्रमित हुँदैन र भइहाल्यो भने निको हुन्छ भन्ने सोंच नर्समा हुनु पर्छ ’ उनले भनिन् । त्यही सोंच राखेर आफु डियुटीमा आत्मबल बढेको उनी सुनाउँछिन । उनलाई परिवार र समाजको सम्मान र सहयोगले पनि मनोबल झनै बढेको बताउँछिन् । ‘ म वीरगंजकै स्थानीय बासिन्दा हुँ,अस्पतालवाट निस्केर जाँदा सबैैले राम्रो व्यवहार गर्नुहुन्छ, सम्मान दिनुहुन्छ’ उनले नागरिकसित भनिन् ।
माघ पहिलो कोरोना संक्रमित युवक भर्ना भएदेखिनै शुक्रराज सरुवा अस्पतालका नर्सहरु फ्र«न्टलाइनमा बसेर सेवा दिन सुरु भएको हो । अस्पताल नै सरुवा रोग भएपछि उनीहरु पहिल्यैदेखि सरुवारोगबाट बचेर कसरी संक्रमित विरामीलाई बचाउन सकिन्छ भन्ने कुराले अभ्यस्त भइसकेको अनुभव यो अस्पतालका नर्सहरु सुनाउँछन् । पहिलो विरामी आउँदा धेरै नर्सलाई कोभिडको वारेमा थाहा नै थिएन । नर्सहरुले खासै सुरक्षा विधि पनि अपनाएनन । त्यतिबेला १९ जना ती विरामीको सम्पर्कमा पुगेका थिए । तर कसैलाई पनि कोराना संक्रमण भएन ।
अहिले पनि विरामीको आवयक्ता अनुसार नर्स नै वार्डमा पुग्नु पर्छ । औषधि दिन होस् या अन्य कामको लागि । अस्पतालकी नर्स सानु नकर्मीका अनुसार पिपिई लगाएर जाँदा पसिनै पसिनाले आँखै नदेखिने हुन्छ । कतिपय विरामी आफैमा डराइरहेका हुन्छन् । यस्तो वेलामा नर्सको भूमिका झन् धेरै हुने नर्स नकर्मी बताउँछिन् । कोरोनाका विरामीलाई बढ्तै परामर्शको आवश्यकता पर्ने हुनाले औषधि दिने बेला बाहेक अन्य समय फोनबाटै समस्या सोध्ने र समस्या अनुसार परामर्श दिने गरेको सुनाउँछिन् ।
विरामीलाई अप्ठेरो भयो कि भएन भनेर हेर्नको लागि भने सिसिटिभी क्यामेराले पनि सहयोग मिल्छ । उनको अनुसार कतिपय विरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने जस्ता लक्षण छन् । त्यही अनुसार लाक्षणिक औषधि दिइन्छ । दुई दिनअघि लगातार कोरोना संक्रमित विरामीको मृत्यु भएपछि विरामीहरु केही आत्तिएको देखेपछि सम्झाएर राखेको उनले सुनाइन् । ‘हामीले आत्मविश्वास भएपछि निको हुन्छ भनेका छौं, हाम्रो अनुभव पनि त्यही छ’ नर्स नकर्मीले भनिन् । पहिलादेखि नै सरुवा रोग अस्पतालमा काम गरिरहेको हुनाले कोभिड १९ का विरामी पनि सामान्य लाग्ने गरेको उनले बताइन् । तर नर्सले एउटा कुरामा सावधानी अपनाउनु पर्ने नकर्मीको सुझाव छ,‘ पिपिई खोल्ने बेलामा हुन सक्ने कमजोरीले संक्रमण सर्न सक्ने हुनाले सावधानी पुर्वक पिपिई खोल्ने गछौं’ उनले भनिन् ।
अस्पतालकै नर्स बेली पौडेलको सरुवा रोग अस्पतालमा २४ वर्ष बितेको छ । उनलाई अहिलेसम्म सरुवा रोगका विरामीको सेवा गर्ने क्रममा कुनै रोग सरेको याद छैन । यसको पछि नर्स आफ्नै होशियारीले सम्भव हुने नर्स पौडेलेको अनुभव छ । कोभिड १९ का विरामी आउन थालेपछि उनी पनि त्यही आइशोलेशन वार्डमै खटिरहेकी छिन् । अहिलेसम्म गम्भिर प्रकारका विरामी भर्ना भएका छैनन् । तर मनमा डर पालेका विरामी भने छन् । उनीहरुको डरलाई कम गर्ने र आवश्यकता अनुसारको औषधि दिने काम नर्सकै हुन्छ । कतिपय नर्स पनि आत्तिएका छन् ।
लामो समय सरुवा रोग अस्पतालमा काम गरिरहेकी उनीसंंग आफू बचेर विरामीलाई निको पार्ने छुट्टै उपाय छन् । अहिले पनि तिनै उपाय अपनाएर काम गरिरहेको पौडेलले सुनाइन् । नर्स संक्रमित विरामीको वार्डमा जानु अघि नै केको लागि जाने भन्ने कुरा थाहा भइसकेको हुन्छ । त्यही अनुसार आफु सचेत हुनु पर्ने उनी बताउँछिन् । उनको अनुभवमा संक्रमित विरामीसित कुरा गर्दा अपाउने बसाइ, पिपिइ लगाएर जाने तरिका र निस्कने तरिका सवैमा भर पर्छ । ‘ सानो कमजोरीले आफु र अरु नर्स पनि संक्रमित हुने सम्भावना हुन्छ, त्यतिबेला बढी सचेत हुनु पर्छ’ उनले भनिन ् । आफू र अरु साथीलाई समेत संक्रमणबाट बचाउनको लागि वार्डमा पस्ने बेलामा एक अर्कालाई कमजोरी औंल्याईदिने पनि गर्छन् । यसो गर्दा नर्सलाई संक्रमण हुनबाट बचाउन सकिने गरेको पौडेल बताउँछिन् ।
आफू सचेत हुँदै विरामीलाई दिइने प्रभावकारी सेवाले दुबैको हितमा काम हुने उनी बताउँछिन् ।यसको लागि अस्पतालले यतिखेर सिसिटिभी क्यामेरा र वाइफाइ विरामीको लागि उपलब्ध गराएको छ भने नर्सहरुले फोनबाटै कुरा गरेर विरामीलाई घरेलु वातवरण बनाउने गरेको सुनाइन् । ‘ सवै विरामीको सोंच एउटै हुँदैन,आवश्यकता अनुसार फरक कुरा गछौं ’उनले भनिन् । उनले कोरोना विरामीसंगको सेवाको अनुभव सुनाउँदै भनिन् ,‘ विरामी र नर्स दुवैको मनोवल बलियो भयो भने मात्र कोरोना निको हुन्छ’ ।
प्रकाशित: ५ जेष्ठ २०७७ १५:४० सोमबार