९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बिरामी बच्चालाई पोषिलो खानेकुरा खुवाउन परिवारका अन्य सदस्यले सहयोग गर्दै

 रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानकी सरिता गजुरेलले बच्चा बिरामी हुँदा साबिकको भन्दा बढी झोलिलो खानेकुरा खुवाउँछिन् । बिरामी बच्चाले एउटै मान्छेसँग भन्दा फरक फरक मान्छेले खुवाउँदा सजिलो गरी खान मान्ने हुनाले उनलाई परिवारका अरू सदस्यले पनि सहयोग गर्दै आएका छन् ।  

‘बच्चालाई अरू बेलामा पनि पोषणको आवश्यकता पर्छ,’ उनले भनिन्, ‘यो बेलामा झन बढी आवश्यकता हुन्छ ।’ बिरामी बच्चालाई खाना खुवाउन परिवारका अन्य सदस्यले पनि आलोपाले गर्दा मन लगाएर खाने गरेको उनले बताइन् ।

बच्चालाई उनले अण्डा तथा लिटो बनाएर खुवाउने गरेकी छिन् । यसमा उनलाई परिवारको राम्रो साथ मिलेको छ । ‘अरू समयमा पनि घरपरिवारले हरेक कुरामा साथ दिँदै आउनुभएको छ’, उनले भनिन्, ‘झन यो बेलामा त नगर्ने कुरै भएन ।’ उनले भान्छाको काम गर्दै गर्दा उनको श्रीमानले उसलाई खुवाउने तथा सरसफाई गरिदिने काम गर्ने गरेका छन् ।  

सोही ठाउँकी युडोल्मा तामाङको छोरा १४ महिनामा लाग्यो । उनको बच्चा स्वस्थ छ । खासै बिरामी पर्दैन । कहिलेकाही बिरामी पर्दा साबिकको भन्दा पोषिलो खानेकुरा दिने गरेको उनी बताउँछिन् । ‘बिरामी बच्चाले एउटै मान्छेसँग भन्दा फरक फरक मान्छेले खुवाउँदा अलि सजिलो गरी खान मान्ने हुँदा परिवारको अन्य सदस्यले पनि खुवाउने गर्नुभएको छ’, उनले भनिन्, ‘यसले धेरै सहयोग पुगेको छ ।’

कालिकास्थानकै प्रफुल्ल देवकोटाले पनि आफ्नो श्रीमती र बच्चाको स्याहारमा विशेष ध्यान दिँदै आएका छन् । बच्चा बिरामी हुँदा मात्र होइन अन्य समयमा पनि उनले विशेष ख्याल गर्छन । बिरामी हुँदाको समयमा तातोतातो खानेकुरा बनाएर खान दिने र जाउलो तथा गेडागुडीको रस बनाएर खुवाउने काम गर्ने गरेको उनले बताए । ‘अघिपछि भन्दा बिरामी भएको समयमा एकैचोटी खान मान्दैन’, उनले भने, त्यसकारण पटकपटक गरेर खुवाउने गरेको छु ।’  

स्वास्थ्य र पोषणको बारेमा जनचेतना बढ्दै जाँदा आमा तथा बच्चाको स्वास्थ्यप्रति परिवारका अन्य सदस्यले पनि उचित ध्यान दिन थालेका दिगो उद्यम तथा वातावरण विकास समाज सिड्स रसुवाकी फिल्ड संयोजक सन्तोषी पौडेलले बताइन् ।  

‘बच्चाको स्याहार तथा घरपरिवारको काम दुवै सम्हाल्नुपर्ने अवस्था रहेकोमा अहिले परिवारको सहयोगले सहज हुँदै आएको छ’, उनले भनिन्, परिवारले बच्चा सामान्य बिरामी हुँदा कामलाई बढी प्राथमिकता दिने क्रम विस्तारै कम हुँदै गएको छ ।’

आमाको मानसिक तनाव कम गर्नको लागि परिवारका सदस्यहरुले ढाडस र सहयोग गर्नुपर्ने उनको भनाइ छ । घरको अन्य काममा आमा व्यस्त हुने भएकोले बच्चालाई समय दिन बच्चा बिरामी पर्दा आमाले बच्चाको खानपान, हेरचाह र स्वास्थ्य उपचारका लागि अरू बेलाभन्दा बढी समय दिनुपर्छ ।  

यस्तो अवस्थामा परिवारका सदस्यहरुले आमाले गर्दै आएको काम पनि आफैँ गरी आमाले बच्चासँग बढीभन्दा बढी समय बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने फिल्ड संयोजक पौडेलको भनाइ छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App