२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सीमाक्षेत्रमा ५० मिटरको दुरीमा सशस्त्र

नेपालको लिलकण्ठवा र भारतको कटहरियाबीचमा पर्ने दसगजा क्षेत्रमा दुवैतिरबाट ओहोरदोहोर हुन नदिन खटिएका सशस्त्र प्रहरी । तस्बिर : नागरिक

बारा, - भारतमा दिनदिनै कोरोना भाइरस संक्रमित ठुलो संख्यामा भेटिन थालेपछि भारतसँग सिमाना जोडिएको बाराका सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले बारा जिल्लाको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउँदै ५० मिटर दुरीसम्ममा पनि सशस्त्र प्रहरी परिचालन गरेको बताएको छ ।

भारतबाट कोरोना संक्रमित नेपालमा प्रवेश गर्न नदिन जिल्लामा रहेको अधिकतर सशस्त्र प्रहरीको जनशक्ति भारत–नेपालको दसगजा क्षेत्रमा परिचालन गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताएका छन् ।

दसगजाक्षेत्रमा दुवै देशतिर बस्ती भएका स्थानहरूको अवस्थाअनुसार ५० मिटरदेखि बढीमा चार सय मिटरसम्मको दुरीमा सशस्त्र प्रहरी परिचालन गरिएको सुवेदीले बताए ।

भारतसँग ६४ किलोमिटर खुला सीमा रहेको दसगजा क्षेत्रमा पहिले सातवटा बिओपी (बोर्डर आउट पोस्ट) मार्फत निगरानी गर्दै आएकोमा अहिले सशस्त्र प्रहरीको १७ वटा थप पोस्ट निर्माण गरी २३ स्थानबाट सीमाक्षेत्रमा सशस्त्र प्रहरीको फौज परिचालन गरिएको सुवेदीले बताए ।

सीमाक्षेत्रमा सामान्य अवस्थामा एक सय ५० जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने कोरोना भाइरस संक्रमित वा शंकास्पद व्यक्तिहरू रोक्न चार सय ५० देखि पाँच सय हाराहारीमा सशस्त्र प्रहरी परिचालन गर्नुपरेको उनले बताए ।

सीमानाकामा खटिने प्रहरी जवानहरूलाई व्यक्तिगत रूपमै मास्क, पान्जा, स्यानिटाइजर लगायत सामग्रीको व्यवस्था गरिएको र अहिलेको संवेदनशील अवस्थालाई बुझेर सशस्त्र प्रहरीले २० घण्टासम्म डयुटी गर्नेगरेको सुवेदीले बताए ।

‘अहिलेसम्म भारतबाट नेपाल प्रवेश गर्न खोज्ने एक सय २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न लगाएका छौं,’ सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘२० जना जति भारतीयलाई नियन्त्रण्मामा लिएर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएका छौं ।’ भारतसँग जोडिएको सानो गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी बढाइएको उनले बताए ।

दसगजामा घर भएका नेपालीको भारतमा र भारतीयको नेपालमा समेत खेती गर्न जग्गा रहेको र अहिले ती जग्गामा तरकारी र अन्न बाली लगाएकोमा सशस्त्र प्रहरीले ओहोरदोहोर गर्न दिनमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रका किसानलाई समस्या भएको स्थानीयले बताएका छन् ।

प्रकाशित: २२ वैशाख २०७७ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App