२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

योजनाबाट बचाइएको ५० लाख कोरोनाविरुद्धको कोषमा

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट सञ्चित कोषमा जम्मा गरिएको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट सञ्चित कोषमा जम्मा गरिएको २ करोड ६३ लाख ६० हजार २७५ रुपैयाँमध्ये कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रकम उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक गतिविधि सञ्चालनका लागि सञ्चित कोषको रकम खर्च गर्ने निर्णय गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

चालु खाताबाट १ करोड ४० लाख ३१२, केन्टेन्जेन्सीबाट २४ लाख ९९ हजार ८१० रुपैयाँ र पुँजीगत खाताबाट २ करोड ७२ लाख ५३ हजार ७७६ रुपैयाँ गरी ४ करोड ३७ लाख ५३ हजार ८९८ रुपैयाँ सञ्चित कोषमा जम्मा भएकामा प्रदेश सरकारबाट प्राप्त नभएको २३ लाख ४५ हजार ३७ रुपैयाँ र संघीय सरकारबाट प्राप्त नभएको १ करोड ४८ हजार ५८५ रुपैयाँको सट्टामा खर्च गर्दा पनि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले साँढे दुई करोडभन्दा बढि रकम सञ्चित कोषमा जम्मा गरेको थियो ।

भुक्तानीमा कडाई गरेर जम्मा भएको रकम विपत्तीमा उपयोगी भएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘कागजात मिलाएर खान दिन मिल्ने भए पनि हामीले विभिन्न योजनाबाट सुका–सुका जोगाएर सञ्चित कोषमा रकम जम्मा गरेका थियौँ गाउँपालिका अध्यक्ष राईले भने, ‘अहिले त्यही बजेटलाई कोरोना भाइरसविरुद्धको अभियानमा खर्च गर्ने निर्णय गरिएको हो ।’

सञ्चित कोषबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको कोषमा जम्मा गरिएको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि खर्च गरिने गाउँपालिकाले जनाएको छ । अधिकांश योजनाको बजेट भुक्तानी दिने परिपार्टीकाबीचमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भने प्राविधिक नापजाँचका आधारमा मात्र भुक्तानी दिँदा करोडौं रकम सञ्चित कोषमा जम्मा गर्दैआएको छ ।

निःशुल्क खाद्यान्न ढुवानीको व्यवस्था
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका परिवारका लागि खाद्यान्न ढुवानी गरिदिने भएको छ । लकडाउनको कारण नागरिकले बजारबाट आवश्यक खाद्यान्न ढुवानी गरेर ल्याउन नसकेको अवस्थामा गाउँपालिकाले ढुवानी अनुदान उपलव्ध गराउने निर्णय गरेको हो । बजारबाट प्रतिपरिवार ५० केजी चामल ल्याउँदा ढुवानी निःशुल्क गाउँपालिकाले बेहोरिदिने गाउँपालिकाका अध्यक्ष राईले बताए । गाउँपालिकामा ३ हजार ७५२ परिवार छन् ।

शहरमा बसिरहेका गाउँपालिकाबासीलाई गाउँ ल्याउन पहल गर्नुको सट्टा तत्तत् स्थानमै राहत उपलव्ध गराउने, संक्रमण फैलिन नदिन संक्रमण फैलिएको क्षेत्र तथा जिल्ला प्रवेश गर्ने नाकामा कडाई गर्ने, संक्रमित क्षेत्रबाट आउने स्थानीयलाई अझ बढि निगरानीमा राखेर क्वारेन्टीनमा राख्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा रहेका स्थानीयलाई राहत बाँडेको गाउँपालिकाले पुनः मोरङ र सुनसरीमा बसोबास गरिरहेको अवस्थामा लकडाउनको मारमा परेका परिवारलाई पनि राहत बाँड्ने तयारी गरिरहेको छ ।

प्रकाशित: १७ वैशाख २०७७ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App