२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना पोजेटिभ देखिएका किशोरका परिवारसहित १ सय १६ को स्वाब काठमाडौं लगियो

शुक्रबार दिउँसो सर्लाहीको धनकौलमा कोरोना बुथभित्र बसेका स्वास्थ्यकर्मीलाई स्वाब दिनका लागि आएका सर्वसाधारण । (तस्बिर : टंक/नागरिक)

सर्लाही- काठमाडौंबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले सर्लाहीबाट १ सय १६ जना सर्वसाधारणको घाँटीको स्वाब संकलन गरेर लगेको छ । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका किशोरका परिवारका ५ जनासहित ११६ जनाको स्वाब संकलन गरेर स्वास्थ्यकर्मीहरुको टोलीले शनिबार काठमाडौं लगेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार धनकौल गाउँपालिकाका २६ जना, चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाईनमा बसेका ७५ जना तथा ईश्वरपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका १५ जनाको स्वाब संकलन गरिएको हो ।

स्वाब संकलनका लागि काठमाडौंबाटै विश्व स्वास्थ्य संगठन, नेपाली सेना सहित सुरक्षा निकायका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टोली आएको प्रजिअ जिसीले जानकारी दिए । शुक्रबार राति अबेरसम्म स्वाब संकलन गरिएको थियो । टोलीले संकलित स्वाबहरुको पीसीआर परीक्षणका लागि शनिबार नै काठमाडौंको टेकु अस्पतालतर्फ लिएर गएको छ । स्वास्थ्यकर्मीहरुको टोली स्वाब संकलन गर्न ‘कोरोना बुथ’ नै लिएर आएको थियो । स्वास्थ्यकर्मी भित्र बसेर दुईवटा हातामात्र बाहिर निकाल्ने मिल्ने बुथबाट सर्वसाधारणको स्वाब संकलन गरिएको हो ।

धनकौल गाउँपालिका–५ हरकठवा गोठ गाउँका एक किशोरको स्वाब प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर गर्दा दुई पटकसम्म कोरोना भाइरस नेगेटिभ देखिएपनि टेकुको परीक्षणबाट पोजेटिभ रिपोर्ट आएपछि सर्लाहीबासी त्रसित बनेका थिए । जनकपुरको दुई पटकसम्मको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेको भन्दै ती किशोरलाई घर पठाइएको भोलिपल्ट अर्थात गत बिहीबार टेकुको रिपोर्ट पोजेटिभ देखिएको थियो । घर गएपछि ती किशोर गाउँ घुमेको हुनसक्ने भन्दै परिवारका ५ जनासहित २६ जनाको स्वाब लिईएको प्रजिअ जिसीले जानकारी दिए । अहिले किशोरका परिवारका ५ जना, उनलाई गौरबाट साईकलमा चढाएर ल्याउने स्थानीय एकजनालाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको र अन्य शंकास्पद स्थानीयलाई कडाईका साथ होम क्वारेन्टाइनमा बस्न भनिएकोे छ ।

ती किशोर गत चैत २३ गते भारतको दिल्लीबाट रौतहटको गौर छिरेर सर्लाही घर आईपुगेका थिए । उनलाई घर नपुग्दै बाटैबाट नियन्त्रणमा लिएर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको सुरक्षा निकायले दाबी गर्दै आएको छ । ती किशोरमा पोजेटिभ देखिएपछि हरकठवा गोठ गाउँलाई ‘सिल’ गरिएको प्रजिअ जिसीले जानकारी दिए । ‘अहिले हरकठवा गोठ गाउँलाई सुरक्षाकर्मीले पूर्ण नियन्त्रणमा लिएका छन्’, प्रजिअ जिसीले भने, ‘अब शुक्रबार संकलन गरिएका स्वाबहरुको रिपोर्ट आएपछि सर्लाहीमा कोरोना भाइरस संकक्रमणको अवस्था बारेमा धेरै तथ्यहरु खुल्नेहुँदा सोही अनुसार आगामी कदमहरु चालिने छ ।’

 

प्रकाशित: १३ वैशाख २०७७ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App