४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा पहिलो चरणमा ६१ जनाको आरडीटी परीक्षण गर्ने तयारी

ताप्लेजुङ- चैत महिनादेखि यता भारतसहित तेस्रो मुलुकबाट ताप्लेजुङ आएका ६१ जनाको र्‍यापीड डाईग्नोस्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गरिने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको मंगलबार बसेको बैठकले बुधबारबाट परीक्षण थाल्ने निर्णय गरेको हो।

ताप्लेजुङका लागि पहिलो चरणमा १ सय २० थान आरडीटी किट आएको छ। चैत महिना यता भारतसहित तेस्रो मुलुकबाट यहाँ आएका ६३ जना मध्ये २ जनाको स्वाब नै परीक्षण गरेर नतिजा आएकोले अब ६१ जनाको र्‍यापीड डाईग्नोस्टिक टेष्ट गर्न लागिएको हो। कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार परीक्षणका लागि जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले मंगलबार अबेरसम्ममा कार्ययोजना बनाउने छन्। सो कार्ययोजनाका आधारमा परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्ने तयारी रहेको छ।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर लामाले ढिलोमा शुक्रबारसम्ममा सबैजनाको परीक्षण सक्ने गरी कार्ययोजनाको तयारी भईरहेको जानकारी दिए। भारतसहित तेस्रो मुलुकबाट आएका ६१ जनानै अहिले होम क्वारेन्टाइनमा रहेका छन्। उनीहरुको ठेगाना र मोवाईल नम्बर समेत रहेकोले उनीहरुसंग दैनिक सम्पर्क स्थापित भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सबैभन्दा बढी १६ जना मेरिङ्देन गाउँपालिकामा रहेका छन्।

कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले परीक्षण गर्नुपर्ने मानिस रहेका सबै स्थानीय तहसंग परीक्षण प्रकृया र मितिबारे परार्मश भईरहेको जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७७ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App