ताप्लेजुङ- फ्रान्सबाट कतार ट्रान्जिट हुँदै फर्किएकी युवतीका साथ आएका ताप्लेजुङका एक यात्रुसहित उनका २ आफन्त बिहीबार क्वारेन्टनमुक्त भएका छन्। उनीहरु गत मंगलबारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघमा बनाईएको क्वारेन्टाइनमा रहेका थिए।
बुधबार बसेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले संक्रमित युवतीसंगै यात्रा गरेका यात्रु तथा उनकी श्रीमती र छोरामा कोरोना संक्रमणको कुनै सम्भावना नरहेकोे भन्दै क्वारेन्टाइनमुक्त हुने निर्णय गरेको थियो। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य तथा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले चैत ४ गतेदेखि यताको अवस्था हेर्दा उनीहरुमा कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएको बिफ्रिङ गरेका थिए।
अवस्था सामान्य रहेको चिकित्सकीय परार्मश पछि उनीहरुलाई क्वारेन्टाइनमुक्त गरिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। उनका अनुसार जिल्ला भरमा अब ३ जना मात्र क्वारेन्टाइनमा रहेका छन्। फक्ताङ्लुङ गाउँपालिकास्थित तापेथोकमा २ र सिदिङ्वा गाउँपालिकास्थित साब्लाखु केन्द्रमा १ जना गरी ३ जना क्वारेन्टाइनमा रहेको प्रजिअ निरौलाले बताए। उनका अनुसार जिल्ला भरमा १ सय २८ शैयाको क्वारेन्टाइन निर्माण भएको छ।
यहाँको मिक्वाखोला गाउँपालिकामा भने बिहीबार बेलुकासम्ममा २० शैयाको क्वारेन्टाइन निर्माण भईसक्ने उनले बताए। यो सहित यहाँ अब १ सय ४८ शैयाको क्वारेन्टाइन हुने छ। लकडाउन अवधिभर भारतको सिक्कीम, दुवई, हङकङ, मलेसिया, कतार र बेलायत आएका ताप्लेजुङका ४० जना होम क्वारेन्टनमा रहेको पनि प्रजिअ निरौलाले बताए।
प्रकाशित: २० चैत्र २०७६ ११:१५ बिहीबार