४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिंगापुरबाट फर्केका युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका अर्का युवाको पनि स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। सिंगापुरबाट नेपाल भित्रिएका त्रियुगा नगरपालिका ६ जलजलेका ३५ वर्षीय विजय चौधरीको स्वाब (खकार)को परीक्षण रिपोर्ट नेगेटिभ आएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।

सिंगापुरबाट जिल्ला भित्रिएलगत्तै ज्वरो आएका कारण उनमा संक्रमणको आशंका बढेको भन्दै स्थानीय त्रसित भएका थिए। तत्कालै गाउँले र प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन उदयपुर जिल्ला अस्पताल ल्याएका थिए। अस्पतालले उनको स्वाब परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो।

धरानले परीक्षणका लागि उनको स्वाब शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको थियो। टेकुले पठाएको रिपोर्टले चौधरीमा कोरोना नेगेटिभ देखाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले बताए। डा. मण्डलका अनुसार स्वाब परीक्षणका लागि पठाउँदै उनलाई घरमै क्वारेनटाइनमा बस्न भनिएको थियो।

यसअघि नै कतारबाट फर्केका बेलाका नगरपालिका ३ का ३६ वर्षीय विद्यानन्द चौधरीको रिपोर्ट पनि नेगेटिभ आएको थियो। चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल फर्केकी युवती कोरोना संक्रमित भेटिएपछि सोही दिन कतार एयरवेजकै अर्को जहाजबाट फर्केका चौधरीमा संक्रमणको आशंका गरिएको थियो।

५ गते घर आईपुगेका विद्यानन्दलाई संक्रमणको आशंकामा ७ गते स्वास्थ्य जाँचका लागि धरान लगिएको थियो। उनीसँगै विजयको स्वाब पनि धरान पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ देखिएको धरान अस्पताललाई उद्धृत गर्दै उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताएका छन्।

 

प्रकाशित: १९ चैत्र २०७६ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App