सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी युवतीसँगै एउटै विमानमा नेपाल आएका सिन्धुपाल्चोकका तीन जना ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन्।
गत चैत ४ गते कतार एयरवेजको क्यूआर ६५२ उडान नम्बर भएर फ्रान्सबाट कतार ट्रान्जिट हुँदै संक्रमित युवतीसँगै उनीहरु नेपाल आएका थिए। उक्त विमानमा रहेका एक सय ९८ यात्रुको खोजी गर्ने क्रममा तीमध्ये सिन्धुपाल्चोकका तीन रहेको खुलेको थियो। सिन्धुपाल्चोक प्रहरीले बुधबार साँझ मात्र उनीहरुको अवस्था पत्ता लगाएको हो।
संक्रमित युवतीसँगै यात्रारत जिल्लाको बलेफी गाउँपालिका–८ मांखाका शिवप्रसाद पराजुली, इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका कर्मरिञ्जिन शेर्पा र बलेफी गाउँपालिका–१ जलबीरेका रामचन्द्र ढकालले आफूहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताएका हुन्। नागरिकले बिहीबार उनीहरुसँग टेलिफोन सम्पर्क गरेको थियो। तीनै जनाले आफूहरुको स्वास्थ्य सामान्य रहेको र अहिलेसम्म कुनै समस्या देखा नपरेको जनाएका छन्। पराजुली र शेर्पा काठमाडौंमा नै क्वारेन्टाइनमा छन् भने ढकाल मकवानपुर पुगेर सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।
अष्ट्रिया बस्ने पराजुलीले आफू नेपाल आएकै दिनदेखि सेल्फ क्यारेन्टाइनमा बसिरहेको बताए। खासमा उनी आफ्ना बिरामी बुबा भेट्न फर्किएका थिए। उनका बुबा राजधानीको अस्पतालमा उपचाररत थिए। ‘म बिरामी बुबा भेट्न नगइ सिधै क्यारेन्टाइनमा पुगेँ,’ पराजुलीले नागरिकसँग भने, ‘आफू बाँचौ, अरुलाई पनि बचाऔँ भन्ने लाग्यो।’ बिरामी बुबासँग अहिलेसम्म भेट नभएको उनले सुनाए। उनका बुबा काठमाडौंमै दिदीको घरमा आराम गरिरहेका छन्।
तीन महिनाअघि अष्ट्रिया पुगेका पराजुली जर्मन हुँदै कतार ट्रान्जिटबाट नेपाल फर्केका थिए। उनी आएकै दिन पनि अस्पताल पुगेका थिए। चिकित्सकले कोरोनाको लक्षण देखिन दुई साता लाग्ने भन्दै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाएको उनले बताए। जिल्ला प्रहरीले बुधबार सम्पर्क गरेपछि उनी बिहीबार पुनः टेकुस्थित सरुवा रोग अस्पताल पुगे। ‘चिकित्सकले लक्षण देखिए आउन भन्दै क्वारेन्टाइनमै बसेर सतर्कता अपनाउन अनुरोध गरी पठाएका छन्,’ उनले भने, ‘अहिलेसम्म कुनै स्वास्थ्य समस्या छैन।’
ल्होसार कार्यक्रमको सिलसिलामा जर्मन, रोमानिया लगायत मुलुक दुई साता घुमेर आएका शेर्पा पनि जोरपाटीको ह्वाइट गुम्बाको क्वारेन्टाइनमा बसिरहेका छन्। ‘११ दिनदेखि क्वारेन्टाइनमा छु,’ उक्त गुम्बाका प्रिन्सिपल रहेका उनले भने। ओर्लने समयमा त्रिभुवन विमानस्थलमै सामान्य स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्न दिएको सुझावलाई आफूले अंगिकार गरिरहेको उनले जनाए। शेर्पाका अनुसार उनको स्वास्थ्यमा अहिलेसम्म कुनै समस्या देखा परेको छैन।
त्यस्तै कतारबाट फर्केका ढकाल भने मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिका–१२ अम्दावासमा क्वारेन्टाइनमा बस्न थालेका छन्। उनी भने अरुभन्दा ढिलो गरी बुधबारदेखि मात्र क्वारेन्टाइन बस्न थालेका हुन्। ‘आफूसँगै आएकी युवतीमा संक्रमण दखिएको सिन्धुपाल्चोक प्रहरीबाट हिजो (बुधबार) मात्रै थाहा पाएँ। उनीहरुकै आग्रह र सल्लाहमा एक्लै बसिरहेका छु,’ उनले भने। उनी सिन्धुपाल्चोकबाट बसाईँ सरेर हेटौँडा पुगेका थिए। आफूलाई अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको बताउने उनी आठ वर्षदेखि रोजगारीको सिलसिलामा कतार बस्दै आएका थिए।
तीनै जनाले विदेशबाट फर्कने सबैलाई क्वारेन्टाइनमा बस्न सुझाएका छन्। ‘कोरोना विश्वभरी माहामारीको रुपमा फैलिरहेको छ। नेपालमका पनि संक्रमण देखिइसक्यो,’ उनीहरुको सुझाव थियो, ‘स्वास्थ्य सचेतना अपनाउँदै दुई साता क्वारेन्टाइन बस्दैमा केही बिग्रँदैन।’ पराजुलीले भने संक्रमित युवती बसेको सिट नम्बर सार्वजनिक गर्न माग गरे। ‘यसो गर्दा आउँदा र जाँदा युवतीसँग को कति दुरीमा रहेछ भन्ने थाहा हुन्छ। यसले स्वास्थ्य सतर्कता अपनाउन अझ बल पुग्छ,’ उनको आग्रह थियो।
प्रकाशित: १४ चैत्र २०७६ ०७:१६ शुक्रबार