४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालका डाक्टर र नर्सले तलब पाएनन्

नेपालगन्ज– भेरी अञ्चल अस्पताल नेपालगन्जको क्याथल्याब र आईसियु कक्षमा कार्यरत डाक्टर तथा स्टाफ नर्सले तलब नपाएको गुनासो गरेका छन्।

गत साउन महिनादेखि आफूहरुले खाईपाई आएको तलब र दशै पेश्की नपाएको भन्दै दुई जना चिकित्सकसहित ९ जनाले नपाएका हुन। क्याथल्याब कक्षका डा. विपिन आचार्य र समिक्षा थापा तथा स्टाफ नर्सहरु रेलुशा खत्री, विज्ञा शाह, मोनिका श्रेष्ठ, एलिना बिक, अश्विनी गुरुङ, रचना खड्का र खतिजा बानोले विगत ४ महिनादेखी बिना तलब काम गरिरहेको बताएका छन्। 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई निवेदन लेखेर उनीहरुले खाईपाई आएको तलब र दशै पेश्की उपलब्ध गराइदिन माग गरेका छन्। गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य मन्त्रालयको संयुक्त प्रयासमा अस्पतालमा क्याथल्याब सेवा सञ्चालनमा आएको छ। तर, उक्त कक्षमा कार्यरत चिकित्सक, स्टाफ नर्स तथा टेक्नीसियनलाई सरकारले तलब नियमित रुपमा उपलब्ध गराउन नसकेको बताइएको छ। यसअघि तलब नपाएर २ जना डाक्टर, ४ जना स्टाफ नर्स र २ जना टेक्नीसियनले जागिर छाडेको डाक्टर आचार्यले बताए।

प्रकाशित: १८ मंसिर २०७५ १५:४५ मंगलबार

भेरी_अञ्चल_अस्पताल डाक्टर_र_नर्स तलब