काठमाडौं– निकै उत्साहका साथ सरस्वती राय (३०) आफ्नो पहिलो सन्तान काखमा लिंदै थिइन। उनको पहिलो छोराको तौल ३ किलोग्राम छ। आफ्नो सन्तानलाई कोलोस्ट्रोमयुक्त दुध पिलाउन उनी आतुर छिन्। कोलोस्ट्रोम बच्चाको जन्मपछि आमाको शरीरमा रहेका स्तन ग्रन्थीद्वारा उत्पादित दुधको पहिलो रूप हो। तर, पछिल्लो ४५ मिनेटको प्रसव पीडाका कारण सरस्वतीले आफ्नो सन्तानलाई पुग्दो दुध पिलाउन सकिनन्। उनको पहिलो सन्तान अप्रेशनमार्फत भएको हो।
उनकी दिदी मन्दिरा, आफ्नी बहिनीको पहिलो सन्तानलाई दुधको कमी नहोस भनेर रसिलो र झोलिलो खाद्य पदार्थ जुटाउन तल्लिन छिन्। तर, पछिल्लो केही दिनयताको प्रसव पीडाका कारण सरस्वती आफ्नो सन्तानलाई पर्याप्त दुध दिन सकिरहेकी छैनन्।
गर्भवती अवस्थादेखि नै उनलाई स्तनपानको ज्ञान भएतापनि उनले अहिले आफ्नो बच्चालाई बोलतको दुध पिलाउन बाध्य छिन्। बच्चा र आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन १९९२ मा शुरु भएको स्तनपान सप्ताह हरेक बर्ष अगस्ट १ गते देखि ७ तारिखसम्म मनाउने गरिन्छ। नेपालमा पनि यसवर्ष यो दिवस भव्यताका साथ मनाइएको छ।
हाल यो कार्यक्रम विश्वका १२० भन्दा बढी मुलुकहरुमा विश्व स्वास्थ संगठन, युनिसेफ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सक्रियातामा संचालन हुँदै आइरहेको छ। यसकै ऐक्यबद्धता स्वरुप नेपालमा पनि सोही समयदेखि यो कार्यक्रम मनाइँदै आएको छ।
यो कार्यक्रमपछि विश्वभर तथा नेपालमा स्तनपानलाई बढावा दिन र मातृ तथा नवजात स्वास्थ्य सुधार गर्न राष्ट्रिय योजना र कार्यक्रमहरू संचालन गरिंदै आएका छन्।
यसमा स्वास्थ्य सुविधा, प्रशिक्षण, क्षमता निर्माण, महिला सशक्तिकरण, मातृ स्वास्थ्य सुधार, स्वास्थ्य कर्मचारीहरू, सामुदायिक स्वास्थ्य सशक्तिकरण लगायतका कार्यक्रमहरु समावेश गरिएको छ।
यद्यपी विभिन्न कार्यक्रमका बाबजुद हाल विश्वभर ४१ प्रतिशत सुत्केरी महिला मात्र आफ्ना सन्तानलाई स्तनपान गराउने गरेको तथ्यांक युनिसेफले सार्वजनिक गरेको छ। जसमा दुइतिहाई मुलुकले सबैभन्दा बढी योगदान गरेका छन्। यसमा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र ३९ प्रतिशत, उत्तर अमेरिका २६ प्रतिशत, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा २२ प्रतिशत रहेको तथ्यांक छ। पूर्वी र दक्षिणी अफ्रिका तथा दक्षिण एशिया यो सूचीको अग्र पंक्तिमा छन्, जसले क्रमशः ५६ र ५२ प्रतिशत हिस्सा ओगट्दै सामान्य औसतभन्दा माथि उक्लेको देखिन्छ।
विश्व बैंक, युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा भने स्तनपान गराउने आमाको संख्या हरेक साल घटबढ हुने गरेको छ। तथ्यांक अनुसार सन् १९९६ मा सबैभन्दा बढी ७५ प्रतिशत नेपाली आमाहरुले आफ्ना सन्तानलाई स्तनपान गराएका थिए भने सो तथ्यांक घटेर सन् २००१ मा ६८.३ प्रतिशत पुगेको थियो। त्यस्तै, सन २००६ मा ५३.२३ प्रतिशत, २०११ मा ६९.६४, २०१४ मा ५६.६८, २०१६ मा ६६.१ र २०१७ मा ६५.१५ पुगेको देखिन्छ।
तथ्यांकमा तलमाथि भएपनि सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनसँगको सहकार्यमा मातृ शिशु स्वास्थ्य कार्यक्रम र स्तनपानलाई निरन्तर बढावा दिँदै आएको छ। विभिन्न समयमा मातृशिशु स्वास्थ्यलाई ख्याल गर्दै सरकारले नीति निर्माण तहमा समेत काम गरेको देखिन्छ।
महिलालाई ९८ दिन तलबी विदा
राष्ट्रिय स्वास्थ्य नीतिमार्फत सरकारले नागरिकको स्वास्थ्यमा विशेष चासो देखाएको छ। जसमा स्वास्थ्य विज्ञान विभागले सुत्केरी महिलालाई ९८ दिनको तलबी विदा दिन प्रस्ताव गरेको छ। यो प्रस्ताव पास भए सम्पूर्ण सरकारी र गैह्रसरकारी संस्थाले पालना गर्नुपर्ने हुन्छ।
सरकारी कार्यक्रम र योजनाका कारण महिलाहरुमा चेतना भने अवश्य बढेको छ। पर्वत कुर्गाकी ३२ बर्षीया जमुना केसी आफ्नो सन्तानलाई निरन्तर स्तनपान गराइरहेकी छिन्। आफ्नो पहिलो सन्तानलाई खासै दुध नपिलाएकी जमुनाले त्यसको असरलाई नजिकबाट नियालेकी छिन्। ‘घरायसी काममा व्यस्त हुँदा र स्तनपान नगराउँदाको असर थाहा नपाउँदा अहिले मेरो पहिलो बच्चा चाँडै बिरामी हुने र पढाईमा पनि कमजोर बनेको छ’, उनले भनिन, ‘अहिले मेरो बच्चालाई निरन्तर दुध पिलाइरहेकी छु, उ स्वस्थ छ।’
त्रिवि शिक्षण अस्पतालको गाइनोलोजी विभागकी उप प्राध्यापक शुभना मास्केका अनुसार सन्तान जन्मेको दुई दिनसम्म आमाको दुध उत्पादन घटेपनि तेस्रो दिनबाट बढ्ने गर्छ। त्यसपछि भने उत्पादित दुध पान गराउने या खेर फाल्ने भन्ने कुरा आमामा निर्भर रहने उनी बताउँछिन्। ‘प्रसव अवस्थामा करिब ३०/४० घन्टासम्म दुध उत्पादन घटेपनि त्यसपछि भने प्रशस्त मात्रामा दुध उत्पादन हुन्छ’, उनले भनिन।
अनुसन्धानका अनुसार स्तनपानले बच्चाको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले बच्चामा स्वासप्रश्वास सम्बन्धि समस्या निराकरण गराउनका साथै एलर्जीबाट पनि टाढा राख्छ।
विना तालिका जन्मेको ६ महिनासम्म बच्चालाई निरन्तर स्तनपान गराउँदा स्वासप्रस्वास सम्बन्धि समस्या, बहिरोपन, झाडापखाला जस्ता समस्या देखा नपर्ने चिकित्सकहरु बताउँछन्। २० प्रतिशत बच्चाको ज्यान स्तनपानबाट जोगाउन सकिन्छ भने ६ महिनासम्म स्तनपान गराइएका शिशुको ज्यान जोगिने सम्भावना स्तनपान नगराइएका शिशुभन्दा १४ प्रतिशतले बढी हुन्छ।
निरन्तर स्तनपानले शिशुको मात्र नभई आमाको स्वास्थ्यमा समेत फाइदा पुग्छ। स्तनपान गराउनाले आमाको स्तन क्यान्सर, पाठेघरको क्यान्सर र मधुमेहको समेत क्रमशः २८, २१ र १२ प्रतिशतले जोखिम कम गराउने गर्छ।
सहरी क्षेत्रमा भने स्तनपानबारे जानकारी हुँदाहुँदै पनि समय अभावका कारण स्तनपान नगराउनेको संख्या ठूलो छ। विहान १० बजेदेखि साझ ६ बजेसम्म कार्यालयमा व्यस्त रहने प्रेमा दाहाल आफ्नो ३ महिनाको शिशुलाई सासुको जिम्मा दिएर कार्यालय आउँछिन्।
ग्लोबल आइएमईमा क्यासियरको रुपमा कार्यरत दाहाल सासुले दिनभर बोतलको दुध पिलाउने र बिहान बेलुका आफूले पिलाउने गरेको बताउँछिन्। ‘दिनभरको कार्यालयको काम र बिहान बेलुकाको घरको काम ले गर्दा स्तनपान गराउन खासै फुर्सद नै मिल्दैन’, उनले भनिन।
तर नवजात शिशुलाई बोतलको दुध पिलाउनु स्वास्थ्यबद्र्धक नहुने परोपकार मातृ एवं महिला अस्पतालकी वरिष्ठ परामर्शदाता कल्पना उपाध्याय सुवेदीले बताइन्। उनका अनुसार आमाको स्वास्थ्य जोखिमयुक्त भएमा र दुध उत्पादन नभएको अवस्थामा मात्र बोतलको प्रयोग गर्न मिल्ने हुन्छ।
भर्खरै २६ औं स्तनपान सप्ताह मनाएको सरकारले सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा स्तनपान कक्षको निर्माणमा जोड दिएको छ। स्वास्थ विज्ञान विभागले युरोपेली युनियन र युनिसेफको सहकार्यमा देशभर ६० वटा स्तनपान कक्ष निर्माण गर्नेगरी हस्ताक्षर गरेको छ। अधिकारीहरु सरकारका यस्ता कदमले स्तनपानलाई बढावा मिल्लेमा आश्वस्त छन्।
प्रकाशित: २८ श्रावण २०७५ ०७:१६ सोमबार