६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुका ४७ हजार बालबालिकाको पोषण अवस्था जाँचिदै

.

कपिलवस्तुमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ४७ हजार ५ सय ८५ बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ।

कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै जिल्लाका दशवटै पालिकाका ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गरिनेछ।

यो अभियान यशोधरा गाउँपालिका-१ तिर्तिखाबाट औपचारिक रूपमा सुरु गरिएको हो। हेलन केयर, भिटामिन एन्जेल र आईडिईको सहयोगमा कालिका स्वाबलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ।  

- ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह)  

- ११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह)  

- १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था

जिल्लाका ९६ वटै वडाका १ हजार १ सय ७ महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको माप लिइने योजना रहेको छ। परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मुआक लिने कार्य गरिनेछ।

मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरकी प्रतिनिधि सुस्मिता शर्माले बताइन्। पाँच वर्षे अवधिमा जिल्लाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने परियोजनाकी संयोजक कमला शुक्लाले जानकारी दिइन्।

कालिका स्वाबलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, पालिकास्तरीय स्वास्थ्य संरचना र जिल्लास्तरीय सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न जोड दिए। पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य र गैसस महासंघका जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेयले कुपोषणमुक्त अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिए।

कपिलवस्तुमा हाल १६ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्यांकले देखाएको छ। यसलाई समाधान गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ मंसिर २०८१ २०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App