पछिल्लो समय तनाव शब्द निकै बोलिने र सुनिने भएको छ। तनावका कारण सायदै कोही व्यक्ति जोगिएको छ होला। विशेषगरी युवा अवस्थाका व्यक्तिहरूमा आफ्नो शिक्षा, रोजगारी, जीवनशैलीलाई लिएर बढी तनावमा हुने गरेको देख्न सकिन्छ।
तनावले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा मानिसलाई असर पुर्याउँछ भन्ने हामी सबैलाई सम्भवतः थाहा छ। तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट यो पूर्ण रुपमा निको पनि हुन सक्छ। यस्तो समस्या सबै उमेरका व्यक्तिहरूलाई हुन सक्छ। त्यसमध्ये पनि धेरै जसो युवा र महिलाहरू यसबाट बढी पीडित छन्।
त्यसो त बालबालिका तथा प्रौढ उमेरका मानिस पनि तनावबाट पीडित छन्। सामान्य देखिने तनावले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार तनाव चौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो।
सन् २०१९ को अन्तिममा सुरु भएको विश्वव्यापी कोरोना महामारीले विश्वका अधिकांश मानिसमा तनावको समस्यालाई निम्त्याइदिएको थियो। कारण, कोरोनाका कारण मानिसहरूको जागिर गुम्यो, आम्दानीको स्रोत गुम्यो, सम्बन्धमा असर पर्यो लगायत विभिन्न समस्याका कारण मानिसहरू तनावमा हुन थाले र जीवन पनि तनावमै बिताउन बाध्य भए। अझैपनि सबैका लागि सहज अवस्था बनि सकेको छैन। त्यसकारण तनावलाई व्यवस्थापन गर्नमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
तनावका लक्षणहरू:
उदासीन तथा निरास हुनु
कुनै कुरा तथा कामप्रति इच्छा नहुनु
अत्यधिक निद्रा लाग्नु वा कम निद्रा लाग्नु
एकाग्रताको कमी हुनु
जीवन बोझ लाग्नु
पश्चाताप्बोध हुनु
थकान वा उर्जाको कमी हुनु
भोक कम लाग्नु वा अति खानु
चिडचिडापन हुनु
आत्मविश्वासको कमी हुनु
यौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन–चार लक्षणहरू दुई हप्ता वा सोभन्दा बढी लगातार रहेमा तनावको शङ्का गर्नुपर्ने हुन्छ। शङ्का लाग्यो भने तुरुन्त मनोचिकित्सक वा मनोविज्ञसँग परामर्श गर्नु बद्धिमानी हुन्छ।
तनावका कारण :
मस्तिष्कि रसायनको असन्तुलन
अनुवांशिक काण
मनोगत तथा समाजिक कारणहरू
जीवनमा घटेको असम्भावित घटना
तनाव सुरुको अवस्थामा नै थाहा भएमा सजिलै बाहिर निस्कन सकिन्छ। यदि कठिनाइ भयो भने मनोचिकित्सकसँग परामर्श लिनुपर्ने पनि हुन्छ। यसका साथै मनोविज्ञहरूसँग नियमित परामर्श गर्दै उपचार गर्न सकिन्छ। जसमध्ये सिबिटी (कग्निटिभ बिहेभियर थेरापी) लाई उत्तम मानिन्छ।
डिप्रेशनबाट मुक्त हुन
तनावका पीडितहरू शारीरिक रुपमा निस्क्रिय हुने हुँदा एरोबिक्स, जुम्बा, नृत्य, योगासनजस्ता शारीरिक कार्य गर्न सकिन्छ। सात्विक भोजन लिनु राम्रो हुन्छ। यस्तो वेला नकारात्मक तथा असफलताको विचारले आक्रमण गर्ने हुँदा सकारात्मक सोचको बानी बसाल्नुपर्छ। हरेक समय उत्साहित हुँदै लक्ष्य लिएर अगाडी बढ्नुपर्छ। समस्यामा नअल्झी हरेक समस्याको सामना गर्दै समाधान खोज्ने बानी बसाल्नुपर्छ।
भिज्योलाइजेसन टेक्निक
राति निदाउनुभन्दा केही अगाडि तन्द्राको अवस्थामा ‘म स्वस्थ छु, मेरा सम्पूर्ण अङ्गहरू स्वस्थ छन्।’ जस्ता वाक्य दोहोर्याउन सकिन्छ। यस्तै, सकारात्मक वाक्यलाई करिब ५ मिनेटसम्म लगातार दोहोर्याउनु राम्रो मानिन्छ। यसे वाक्य आफैँ पनि बनाउन सकिन्छ। यसरी दोहोर्याउँदा अवचेतन मस्तिष्कमा छाप बस्छ। फलस्वरुप स्वस्थ बन्न सहयोग पुग्छ।
(मनोपरामर्शदाता आदर्श प्रधानसँगको कुराकानीमा आधारित)
प्रकाशित: ३ श्रावण २०८१ ०७:५५ बिहीबार