२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कति उचित मोटोपन घटाउने औषधी?

यस्तो पनि!

फाइल तस्वीर

अचेल पश्चिमा मुलुकहरूमा, खासगरी अमेरिकामा, मोटोपन रोक्न वा घटाउन केही औषधीहरू निकै प्रचलित छन्। अमेरिकी औषधी विभागले त्यस्ता औषधी निर्बाध प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ। यस्तोमा त्यहाँ कुन उमेरदेखि मोटोपनको औषधी लिनु उपयुक्त हुन्छ या हुँदैन भन्नेबारे निकै चर्चा हुन थालेको छ।

गत वर्ष अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (आप)ले १२ वर्षभन्दा माथिका किशोर किशोरीले सो औषधी प्रयोग गर्न सक्ने र यसले मोटोपन पर्याप्त घटाउन मद्दत गर्ने विज्ञप्ति जारी गर्दा निकै हलचल मच्चिएको थियो।

सेमाग्लुटाइडलाई आपले स्वीकति दिएको थियो। सो औषधीलाई यसअघि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि स्वीकृति दिइसकेको थियो। वेगोभी र ओजेम्पिकजस्ता औषधी पनि चल्तीमा छन्। तिलाई युरोपेली संघ, बेलायत र युनाइटेड अरब इमिरेट्सले पनि किशोरकिशोरीले प्रयोग गर्न सक्ने भनी स्वीकृति प्रदान गरिसकेको छ।

तर हालै अमेरिकामा युएस प्रिभेन्टिभ सर्भिसेस टास्क फोर्स (युएसपिएसटिएफ)ले भने किशोरकिशोरीलाई मोटोपन घटाउने औषधी प्रयोगमा नियन्त्रण गर्नुपर्ने विज्ञप्ति जारी गरेको छ। किशोरकिशोरीले ती औषधी प्रयोग गर्दा उनीहरूको वजन पर्याप्त घटेको नदेखिएको भन्दै प्रयोगमा रोक लगाउनुपर्ने विज्ञप्ति जारी गरेको छ।

सन् १९९० यता विकसित मुलुकमा मोटोपन ठूलो समस्याका रूपमा देखिन थालेको छ। कम उमेरमै चिनीरोग तथा कलेजका गम्भीर किसिमका रोग लाग्न थालेको देखिएको छ। यस्तो समस्याका लागि वजन घटाउनु मात्र उपयुक्त नहुने भन्दै टास्क फोर्सले क्लिष्ट किसिमको उपचार पद्धति चाहिने बताएको छ।

केही संस्था विरोधमा लाग्नुको मूल कारणचाहिँ  किशोरकिशोरीको उमेर भनेको उनीहरूको मस्तिष्क वृद्धिको उमेर हो। यस्तो बेलामा जब गम्भीर किसिमका औषधीहरू चलाइन्छन्, त्यस्तो अवस्थामा उनीहरूको मस्तिष्क वृद्धिमा के कस्ता असर र कुप्रभावहरू देखिन्छन् भन्नेबारे वैज्ञानिकहरू अझै निष्कर्षमा पुगिसकेका छैनन्। त्यसैले पनि ती औषधीको प्रयोग किशोरकिशोरी गर्नु उपयुक्त नहुने विरोधीहरूको तर्क छ।

उता यसका पक्षपातीहरू भने किशोरकिशोरीलाई समयमा नै यस्ता औषधी प्रयोग नगराइए पछि उनीहरूको स्वास्थ्यमा गम्भीर असर गर्ने सम्भावना व्यक्त गर्छन्। केहीले भने औषधीको सकारात्मक प्रभाव देखापरेको छैन भन्दैमा औषधीले नकारात्मक प्रभाव पार्छ भन्ने कुनै प्रमाण नहुने भन्दै यस्ता औषधीको अहिले व्यापक प्रयोगपछि मात्र भविष्यमा यसका परिणामहरू देखा पर्ने उनीहरूको तर्क छ।

नेपालमा बालबालिकाको मोटोपनको समस्या के कस्तो छ, कुन हदसम्म पुगेको छ भन्नेबारे अझै पनि अध्ययन भएको छैन। त्यसै पनि नेपालमा केही वर्षअघिसम्म मोटोपन समस्या नै मानिदैनथ्यो। पछिल्लो समय भने मोटोपनप्रति सचेतना बढ्दै जान थालेको छ। यस्तोमा ती औषधी नेपाल पनि भित्रन सक्ने सम्भावना उच्च देखिन्छ।

प्रकाशित: २३ असार २०८१ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App