१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

राजनीतिक दलदलमा जिल्ला अस्पताल

जिल्ला अस्पताल कालीकोट अहिले प्रमुख बिहीन छ। नवौँ तहको दरबन्दी रहेको स्वास्थ्य कार्यालय कालीकोटमा आठौँ तहका कर्मचारीले सञ्चालन गर्दै आएको भएपनि पछिल्लो समय राजनीति भागबन्डाका कारण व्यक्ति हुँदाहुँदै पनि जिम्मेवारी दिइएको छैन। जसका कारण असपतालको दैनिक कामकाजमा समस्या भइरहेको छ।

कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालय माओवादीको भागमा छ। र, उसले आफ्नै पार्टीको भागमा दुबै कार्यालयको प्रमुख राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।

आर्थिक वर्षको अन्तिम महिनामा नै कार्यालय प्रमुखबिहीन भएपछि अहिले भुक्तानीका सबै काम ठप्प छन् भने स्वास्थ्यका दैनिक काम पनि हुन सकिरहेका छैनन्।

यसअघि कार्यलय प्रमुखको जिम्मेवारीमा रहेका डा. भिष्मप्रसाद पोख्रेल अध्ययन विदा सकेर गत वैशाख १४ गते हाजिर भएपनि मन्त्रालयले उनलाई प्रमुखको जिम्मेवारी दिन आनाकानी गरेपछि कार्यालयको दैनिक कामकारबाहीमा समस्या भइरहेको छ।

डा.पोख्रेलले सरकारकै निर्देशनमा काठमाडौं मेडिकल कलेजबाट रेडियो डाईग्नोसिसको अध्ययन पुरा गरेर कार्यक्षेत्रमा फोृ पनि राजनीतिक पहुँचका कारण मन्त्रालयले उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन आनाकानी गरिरहेको बुझिएको छ।

डा. पोख्रेलले आफू कार्यालय प्रमुख स्वतः हुनु पर्नेमा आफूभन्दा जुनियर व्यक्ति र काज फिर्ता भएर जेठ २८ गते गइसकेका व्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको मन्त्रालयले नै दाबी गर्ने गरेको बताए।

डा.पोख्रेलले भने,‘म कुनै राजनीतिसँग आवद्ध नभएको व्यक्ति परे, तर मेरा आफन्त जोडिएको नाताले आफूलाई सामाजिक विकास मन्त्रालयका सचिवले जिम्मेवारी दिन चाहिरहेका छैनन।’ उनले रमाना लिएर गएका डाक्टर सँकेत बिश्वक्रर्मा र आफूबीच कुनै विवाद नभएपनि मन्त्रालयले विवाद जस्तै देखाएर माओवादी आवद्ध व्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने योजना बनाएको बताए।

‘मैले प्रमुख पाउनुपर्छ भन्ने होइन, तर कानुन बमोजिम आफू अध्ययन विदाबाट कार्यालयमा हाजिर हुने बित्तिकै प्रमुख हुनुपर्नेमा रोक्ने र आफूलाई काजमा सुर्खेत सरुवा गरेको गर्नु उचित होइन। मन्त्रालयको यो रवैयाले आफूलाई चित्त बुझेको छैन।’

कर्णाली प्रदेशको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीका अनुसार मन्त्री र सचिव स्तरको निर्णय भएकाले कालीकोटको हकमा शंकेतनै कार्यालय प्रमुख हुन सक्ने बताए। उनले नियम अनुसार डाक्टर भिष्मप्रसाद पोखरेललाई नै जिम्मेवारी दिनुपर्ने धारणा राखेँ। 

माओवादीको अखडा बनेको स्वास्थ्य सेवा कार्यालय कालीकोटमा अहिले पनि जनस्वास्थ्य अधिकृत कटक महतको तजविजमा माओवादीको हालिमुहाली हुने गरेको आरोप छ।

प्रमुखबिहीन हुनुको कारणबारे सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलको पनि हात रहेको एकथरीको आरोप छ। उनले राजनीतिक आस्थाका आधारमा कार्यालय प्रमुख पठाउने भन्दै रोकेको र डा.भिष्मप्रसाद पोखरेललाई प्रदेश अस्पताल सुर्खेतमा काज सरुवा गरेको पाइएको छ।

सचिव पोख्रेलको मोबाईल नम्बर अफ रहेको र उनको कार्यकक्षमा रहेको टेलिफोन समेत चार वर्षदेखि बिग्रेकाले उनलाई प्रत्यक्ष भेट्नुको अन्य बिकल्प नरहेको कार्यालयका कर्मचारीको भनाइ छ।

यता डा. पोख्रेल भने आफु कालीकोटको प्रमुख हुन पाउने भन्दै काज सरुवा जान मानेका छैनन्। उता अस्पताल विकास समितिका अध्यक्ष गगन बहादुर मल्लले डाक्टर भिष्म अध्ययन विदामा गएकाले अब उही हैसियत खोज्न नहुने बताए। अध्यक्ष मल्लले साउनपछि प्रमुख हुनु होला भनेर सल्लाह दिँदा पनि नमानेका कारण समस्या भएको बताए। यसअघिकै प्रमुख डा. संकेत बिश्वक्रर्मा नै प्रमुख रहने अध्यक्ष मल्लको दाबी छ।

डाक्टर संकेत बिश्वक्रर्मा भेरी अस्पताल नेपालगञ्जमा आफ्नै दरबन्दीमा हाजिर भएर फेरि भोलि कालीकोट आउने भएका छन्।

मन्त्री, सचिव र अस्पताल विकास समितिको अध्यक्षकै नजिकको भएकाले कार्यलय प्रमुख पनि आफ्नै व्यक्ति वा कार्यकर्तालाई नै बनाउने योजनामा रहेको देखिन्छ।

प्रकाशित: १० असार २०८१ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App