१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने

जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो। चन्दननाथ–१० स्थित बोहोरा गाउँमा अस्पताल बनाउन ठेक्का आह्वान समेत भइसकेको छ। चन्दननाथ नगरपालिकाप्रमुख राजुसिंह कठायतले आर्थिक स्रोत सुनिश्चित भइसकेकाले अस्तपाल बन्ने पक्का भइसकेको बताए।

अस्पताल निर्माणका लागि केन्द्र सरकारले बजेट छुट्याइसकेको छ। आयुर्वेद स्वास्थ्य केन्द्रमा जाजरकोट, डोल्पा, कालिकोट, मुगु र सुर्खेतसम्मका बिरामी उपचार गर्न पुग्छन्। पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा विश्वास बढेकाले अस्पताल बनाउनुपर्ने अवस्था आइपुगेको कठायतको भनाइ छ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य विभागले सबै कागजपत्र जुटाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आह्वान गरी काम अगाडि बढाएको हो। बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने १५ शय्याको आयुर्वेद अस्पताल बनाउन गत वर्षका लागि ३ करोड विनियोजन भएको थियो। तर, स्रोत सुनिश्चितता नहुँदा ठेक्का खोल्न सकिएको थिएन।

 पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासँगको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सब–इन्जिनियर चन्द्र खड्का बताउँछन्।

‘गत फागुन ३ गते मन्त्रीस्तरीय निर्णयबाट आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड (प्रथम संशोधन), २०८० को दफा ६ (१) बमोजिम बजेट विनियोजन गरी १२ करोड रूपैयाँको स्रोत सहमति प्रदान भएको थियो।

सब–इन्जिनियर खड्काका अनुसार बहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ भने स्रोत सहमति प्राप्त भएको आयोजनाको आव २०८०/८१ को हकमा चैतमसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधानअनुसार काम अगाडि बढेको छ।

स्वास्थ्य केन्द्रमा कहिले औषधि अभाव हुने त कहिले जनशक्ति अभाव हुने समस्या देखिरहेको हुन्थ्यो। अस्पताल बन्ने भएपछि विशेषज्ञ चिकित्सक पाइनुका साथै सेवा थपिएर सहज हुने जुम्लावासीको अपेक्षा छ।

नगरपालिकाको विकट क्षेत्र मानिने वडा नम्बर–१० स्थित बोहरा गाउँमा ठूला सरकारी संरचना नभएकाले केन्द्र सरकारको बजेटमा १५ शड्ढयाको अस्पताल बनाउन लागेको चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले बताइन्।

‘एलियोपैथिक पद्धतिबाट छिटो छरितो स्वास्थ्य लाभ लिन सकिने भए पनि कैयौं रोगहरूको निदान आयुर्वेदिक पद्धतिबाट गर्न सकिने रहेछ,’ स्थानीय उत्तम देवकोटाले भने, ‘यस्तो पद्धतिबाट उपचार हुने अस्पताल बन्नु साह्रै खुसीको कुरा हो।’

आयुर्वेद औषधिबाट उपचार लिइरहेका बिरामीलाई सुखद सन्देश हो। स्वास्थ्य केन्द्रबाट दैनिक सयौं जनाले निःशुल्क उपचार लिइरहेका छन्। अहिले अस्पताल बन्ने भएपछि निकै खुसी लागेको स्वास्थ्य केन्द्रका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए।

‘जल, जमिन र जंगलको उपयोग गरी स्थानीय स्तरमै औषधि बनाएर उपचार गरिने आयुर्वेद केन्द्र अब अस्पताल हुने भएको छ,’ उनले भने, ‘यो समग्र कर्णालीवासीका लागि सुखद खबर हो। ‘हाल आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रूपमा ओपिडी र ल्याब सेवा दिँदै आएको छ। निकट भविष्यमै सर्जरी सेवासमेत दिने तयारी गरिरहेको आयुर्वेद केन्द्रमा दिसा, पिसाब, रगत, खकार जाँचको सेवा उपलब्ध छ।

हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा दुईजना चिकित्सकले दैनिक रूपमा सेवा दिइरहेका छन् भने योग ध्यान शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिने काम भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App