१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

किन बढ्दो छ युवामा क्यान्सर?

क्यान्सर विशेषज्ञ क्याथी इङले यसअघि पेटको क्यान्सरको उपचार गरेकी सबैभन्दा पाको उमेरकी महिला ६५ वर्षकी थिइन्। अहिले उनी चीनबाट टेक्सास पुगेकी १६ वर्षकी किशोरीको उपचारमा संलग्न छिन्। वृद्धवृद्धामा देखिने यस किसिमको क्यान्सर ती चिनियाँ किशोरीलाई लागेको छ। यो रोगको उपचारका लागि रकम जुटाउन ती किशोरीका मातापिता घरबार बेचेर अमेरिका पुगेका थिए।

‘उनको क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको छ। मैले गर्न सक्ने थोरै छ,’ अमेरिकाको नेसभिलस्थित भान्डरभिल्ट मेडिकल सेन्टरकी चिकित्सक इङ भन्छिन्। उनी प्रौढहरूमा हुने क्यान्सर रोगकी विशेषज्ञ हुन।

अमेरिकी विशेषज्ञ मात्र होइन, मुम्बईमा कार्यरत क्यान्सर रोग विशेषज्ञ जर्ज बारेटो पनि युवाहरूमा क्यान्सर रोगको प्रकोप बढ्दो अवस्थामा रहेको मान्छन्। यी दुवै क्यान्सर विशेषज्ञले भनेझैं विश्वभरबाट संकलन गरिएका तथ्यांकले ५० वर्षमुनि उमेर समूहमा १२ भन्दा बढी प्रकारका क्यान्सरको प्रकोप बढ्दो अवस्थामा पाइएको छ।

सन् २०१९ को तुलनामा सन् २०३० मा कम उमेरमै क्यान्सर हुने जोखिम ३० प्रतिशतले बढ्ने कम्युटर मोडलिङबाट गरिएका विभिन्न अध्ययनको प्रक्षेपण छ। ६० वर्षमाथिका पुरुषको ठुलो आन्द्राको एक भागमा हुने कोलोन क्यान्सर अहिले ५० वर्ष मुनिको उमेर समूहमा अमेरिकामा हुने कुल क्यान्सरजन्य मृत्युको सबैभन्दा ठुलो कारण बन्न पुगेको छ। यही रोग युवा महिलामा हुने क्यान्सरजन्य मृत्युका लागि दोस्रो कारण बनेको छ ।

यस्तो पृष्ठभूमिमा रोगको राम्रो स्क्रिनिङ गर्नुपर्ने माग एकातिर छ भने अर्कातिर अनुसन्धानकर्ताहरू यति धेरै तीव्र गतिमा युवाहरूमा किन क्यान्सर रोग बढेको भनेर अन्योलमा छन्।

मोटोपना तथा समयमै हुन नसकेका स्क्रिनिङ मात्र यो रोगका लागि जिम्मेवार नभई अन्य कैयन् कारण जिम्मेवार रहेको मानिएको छ। पेटमा रहने माइक्रोवायोम अथवा ट्युमरको जिनोम्स पनि यसको कारक रहेको कतिपयको आकलन छ।

त्यसो त राम्रोसँग र समयमै हुने रोगको स्क्रिनिङ, धूमपान गर्नेको संख्यामा कमी तथा उपचार उपलब्धताका कारण अमेरिकालगायत कतिपय देशमा क्यान्सरजन्य मृत्यु घटेकोछ। तर विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप बढ्दो छ।

सन् ११९० को तुलनामा सन् २०१९ मा कम उमेरमै क्यान्सरका कारण मृत्यु हुनेको संख्यामा २८ प्रतिशतले वृद्धि भएको छ। कम्युटर मोडलले आगामी वर्षमा यो मृत्युदर झन् बढ्ने देखाएको छ।

कम उमेरमै हुने क्यान्सरले मानिसको पाचन प्रणालीलाई असर गर्ने र विशेषगरी आमाशय, ठुलो आन्द्रा तथा ठुलो आन्द्राको अन्तिम भाग (कोलोरेक्टल) लाई सबैभन्दा बढी प्रभावित गर्ने मानिएको छ। विश्वमा सर्वाधिक देखिएको कोलोरेक्टल क्यान्सरले सबैको ध्यान तानेको छ। तर स्तन र प्रोस्टेट क्यान्सर पनि विश्वभर बढ्दो अवस्थामै छन्।

आनुवंशिक कारण

विश्वभर पेटमा हुने क्यान्सरका वृद्धिका लागि आहारमा भएको परिवर्तन, मोटोपना तथा प्रशोधन गरिएका खानाको बढ्दो प्रयोगलाई कारक मानिएको छ। आहारविहारमा हुने परिवर्तनले पेटको माइक्रोवायोम प्रभावित हुने गर्छ। तर तथ्यांकीय विश्लेषणले यीबाहेकका अन्य कारणको पनि खोजी गर्नुपर्नेमा जोड दिएका छन्। ‘कतिपयले मोटोपना र मदिरा सेवन बढी जिम्मेवार मान्छन् तर यसको कारण झन् गहिरो देखिएको छ,’ इङ भन्छिन्।

इङले भनेझैं अधिकांश अध्ययनले यसका लागि अनुवांशिक र पुरातन कारण प्रमुख हुन सक्ने मानिएको छ। यसको गहिराइमा पुग्न अफ्रिका, युरोप र दक्षिण अमेरिकाका शोधकर्तासँगको सहकार्यमा क्यान्सरविज्ञ इङले एक परियोजनानै बनाएकी छन्।

अन्तर्राष्ट्रिय साझेदारीमा गरिने यस प्रकारको अध्ययनले पर्याप्त तथ्यांकीय आधार दिने इङ ठान्छिन्। यसैगरी हरेक देशमा यसको प्रकोप किन फरक छ भन्ने विषय पनि चाखलाग्दो छ। उदाहरणका लागि एकअर्काको नजिक रहेका दक्षिण कोरिया र जापानको आर्थिक अवस्था पनि समान छ। तर युवा अवस्थामा हुने क्यान्सरका वृद्धिदरका हिसाबले दक्षिण कोरिया जापानभन्दा अगाडि छ। हार्भड मेडिकल स्कुलकी क्यान्सरविज्ञ तोमाताका युगाई यही रहस्य पत्ता लगाउन अध्ययन गर्छिन्।

यसैगरी क्यान्सर रोगीको तथ्यांकको अभाव विश्वको अर्काे समस्या हो। उदाहरणका लागि दक्षिण अफिकाको कुल जनसंख्यामध्ये १६ प्रतिशतको मात्र क्यान्सरको तथ्यांक उपलब्ध छ। दक्षिण अफ्रिकामा कतिपयले अश्वेतलाई क्यान्सर हुँदैन भन्ने ठान्ने गरेको पाइन्छ।

यसैगरी धूमपान छाडेको कैयौं वर्षपछि पनि यही कारणले क्यान्सर लागेको कतिपय अध्ययनले देखाएका छन्। सन् १९५९ यता २० हजार महिलामा गरिएको एक अर्काे अध्ययनले समयअगावै बच्चा हुनबाट रोक्न प्रयोग गरिने प्रोगेस्टेरोन औषधिका कारण युवावस्थामै क्यान्सर हुन सक्ने देखाएको छ। तर यो निष्कर्षमा पुग्न अझै धेरै अध्ययन आवश्यक रहेको विज्ञ ठान्छन्। गर्भाशयमा हु“दा के–कस्ता रासायानिक पदार्थको सम्पर्कमा बच्चा रहेका हुन्छन् भन्ने विषय महत्वपूर्ण रहेका उनीहरू ठान्छन्।

युवाहरूमा क्यान्सरको बढ्दो उपस्थितिका कारण कतिपय एड्भोकेसी समूहलाई यसलाई लक्षित गरेर आम चेतना बढाउने गरेका छन्। युवा लक्षित यस्ता कार्यक्रमले राम्रो प्रतिफल दिएको क्यान्सर विज्ञ इङ ठान्छिन्। क्यान्सर रोगसँग सम्बन्धित गुत्थी अझै पनि सुल्झिनसकेको सन्दर्भमा क्यान्सर रोग विशेषज्ञ जर्ज बारेटो यो विषयमा बृहत् विश्वव्यापी अध्ययनको आवश्यक रहेको ठान्छन्।

‘हामीले युवाहरूमा यो जोखिम यसरी बढ्ला भनेर ठानेका थिएनौं। पछिल्ला २० वर्षका पर्याप्त तथ्यांक हामीसँग छैनन्। यो हाम्रो अससफलता हो। हेलचेक्र्याइँ हो,’ बारेटो थप्छन्।

नेचर डटकम

प्रकाशित: ३ चैत्र २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App