१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा २४ हजारले लगाए दादुरा–रुबेला खोप

बालबालिकालाई खोप दिदै महिला स्वास्थ्यकर्मी। तस्विर : नागरिक

फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्। गत १३ देखि १७ सम्म सञ्चालित पहिलो चरणको खोप अभियान शतप्रतिशत सफल भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

पहिलो चरणमा जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा रौतामाई र लिमचुङबुङ गाउँपालिका गरी पाँचवटा स्थानीय तहमा खोप अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत सतप्रतिशत प्रगति भएको स्वास्थ्यले जनाएको छ।

त्रियुगाका १६ वडाका ६ हजार ६ सय ८४ जनालाई लक्षित गरिएकोमा ११०.४७ प्रतिशत प्रगति भएर ७ हजार ६ सय ५ जनाले खोप पाएका छन् भने चौदण्डीगढीमा १० वडाका ३ हजार ५ सय ५५ जनालाई लक्षमध्ये ९०.४६ प्रतिशत प्रगति गर्दै ३ हजार २ सय १६ ले पाएका छन्।

त्यस्तै बेलकामा ३ हजार ५ सय ११ को लक्ष्य लिइएकोमा ३ हजार ३ सय १४ अर्थात् ९४.३८ प्रतिशत बालबालिकालाई खोप दिइएको स्वास्थ्य कार्यालयका सुपरभाइजर सुवास निरौलाले बताए। उनका अनुसार गाउपालिकातर्फ रौतामाईमा १ हजार ४ सय ७३ लाई खोप दिने लक्ष्य लिइएकोमा १ हजार ३ सय ६८ अर्थात ९२.७४ ले पाएका छन् भने लिमचुङबुङमा ६ सय ९५ लाई लक्षित गरिएकोमा ६ सय २४ अर्थात ८७.७८ प्रतिशतले खोप हानेको सुपरभाइजर निरौलाले बताए।

सपरभाइजर त्रियुगामा लक्ष्यभन्दा बढी ११०.४७ प्रतिशतले खोप हान्नुको कारण सदरमुकाम भएकाले अन्य स्थानीय तहका बालबालिका बसोबास गरेकाले हो। पहिलो चरणमा स्वास्थ्य कार्यालयले २३ हजार ५ सय २२ जना बालबालिकालाई खोप दिने लक्ष्य लिएकोमा पूर्णरुपमा सफल भएको दाबी कार्यालयले गरेको छ।

दोस्रो चरणको खोप अभियान भोलिदेखि २७ सम्म सञ्चालन हुने छ। दोस्रो चरणमा जिल्लाका कटारी नगरपालिका तथा उदयपुरगढी र ताप्ली गाउँपालिकाका ६ हजार ९ सय १६ लाई खोप दिइने कार्यक्रम छ।

कटारीका १४ वडाका ४ हजार ८६, उदयपुरढीका ८ वडाका २ हजार १ सय २८ र ताप्लीका ५ वडाका ८ सय ७० बालबालिकालाई खोपको लक्षित वर्गभित्र राखिएको छ। ५ स्थानीय तहका ५१ वडामा खोप अभियान उत्साहजनक रुपमा सम्पन्न भएको र बाँकी ३ स्थानीय तहका २४ वडामा पनि उसैगरी सफल बनाउने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए।

स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार यस वर्षको खोप अभियानमा जिल्लाभरि ४ सय ६४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने ९ सय २८ जना स्वयंसेवक परिचालन भएका छन्। खोप सञ्चालनको अनुगमन गर्न जिल्लाभरि ५ जना चिकित्सकसहितको टोली परिचालन गरिएको छ।

यो वर्ष देशभरका ९ देखि ५९ महिनासम्मका र ५ देखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिने अभियान चलिरहेको छ। उदयपुरको हकमा भने ९ देखि ५९ महिनासम्मका बालबालिकालाई मात्र खोप दिने कार्यक्रम रहेको प्रमुख दासले बताए।

प्रकाशित: २१ फाल्गुन २०८० १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App