१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सिंजाका महिलामा पाठेघर समस्या उच्च

शिविरमा स्वास्थ्योपचारका लागि नाम लेखाउँदै महिला। तस्बिर : नागरिक ।

सिंजा– ३, नराकोट गाउँकी ३५ वर्षीय देवीकन्या चौलागाईं पहिलोपटक डाक्टरसँग जँचाउन पाउँदा खुसी भइन्। उनी डाक्टरलाई देखाएर आफ्ना रोगका बारेमा गुनासो राख्न पाएकोमा दंग थिइन् ।

‘पाठेघर समस्याबाट पीडित थिएँ’, उनले भनिन्, “स्वास्थ्यभन्दा काममा ध्यान दिएर, सानैमा विवाह गरेर, बेलैमा आफ्ना समस्या भन्न नसकेर पाठेघर खस्ने हुँदो रहिछ । स्वास्थ्य जाँचसँगै ज्ञान पनि पाएँ । गाउँमै सुविधा पाउँदा म उत्साहित छु ।’

सिंजा– ५, फुङग्र गाउँकी ३३ वर्षीया उनकली रोकाया पनि खुसी देखिन्थिन् । घरआँगनमै डाक्टरी सेवा पाएकाले उनका आँखामा हर्षका आँसु बगेका थिए । उनले भनिन्, ‘पहिलोपटक डाक्टरसँग गाउँघरमै जँचाउन पाएँ । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याबाट ग्रसित थिएँ ।’

यस्तै वडा ६ को जोडु गाउँकी ३१ वर्षकी निर्मला रावतले घरनजिकै आफैंलाई चाहिएको सेवा आएको खुसी देखिन्थिन्। उनले भनिन्, ‘पाठेघर समस्या र स्तन क्यान्सर भएका हाम्रा लागि त घरआँगनमै डाक्टरी सेवा पाउनु ठुलै उपलब्धि हो ।’ उनले घरनजिकै यस्तो सेवा पाइएकोमा खुसी व्यक्त गरिन् ।

लामो समयदेखि पाठेघरसम्बन्धी समस्या लुकाएर बसेकी सिंजा– ५ की ४६ वर्षीया सुवा रावलले अहिलेसम्म अस्पताल पुग्न नसकेकोमा गुनासो पोखिन्।  

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरू पनि गाउँघरमै स्वास्थ्य सेवा लिन पाएकोमा खुसी थिए।  कम उमेरमै विवाह गर्नु, ठुलो भारी बोक्नु, बेलाबेलामा स्वास्थ्य परीक्षण नगर्नु आदि कारणले आफूहरू अत्यधिक पीडित भएको उनीहरू बताउँछन्।  नजिकै स्वास्थ्य संस्था नहुनाले नियमित जाँच गर्न नपाएको स्थानीय महिला बताउँछन् ।

पाठेघर खस्ने समस्या रोकथाम तथा व्यवस्थापनका साथै सेतो पानी बग्ने, प्रजनन स्वास्थ्यलगायत समस्या समाधानका लागि विशेषज्ञ चिकित्सकले उनीहरूलाई परामर्श दिएका थिए । हाम्रो समस्यालाई ख्याल गरेर हरेक वर्ष गाउँमा स्वास्थ्य शिविर पुर्‍याउन महिलाले माग गरे।’

जुम्लाको सिंजा गाउँपालिकाले आयोजना गरेको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ५० जना महिलाले सेवा लिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयले जुम्लाको समन्वय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्लान इन्टरनेसनल नेपाल र पेस नेपाल जुम्लाको आर्थिक सहयोगमा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको थियोे।

एक सय ४० जनाको पाठेघर क्यान्सरको चेकजाँच, पाँचजनामा पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ भने तीनजनाको पाठेघर शल्यक्रिया गर्नुपर्ने, पाँचजना क्यान्सरको ‘पोजिटिभ’ शंका लागेको र तीनजना महिलाको पाठेघरमा संक्रमण देखिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार दुर्गमका महिलाले आँगनमै स्वास्थ्य परीक्षण गर्न पाएको बताए। जनस्वास्थ्य कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रम संयोजक मोर्चा शाहीले महिलाले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेलाबेलामा जान्न जरुरी रहेको बताइन्।  

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्रले महतले पाठेघर समस्या भएका महिलाका लागि गाउँमै शिविर चलेकोमा राहत मिलेको बताए। उनी भन्छन्, ‘हाम्रो लक्ष्य जतिसक्दो ग्रामीण भेगका महिलाले उपचार पाऊन् भन्ने रहेको छ।’ 

प्रकाशित: १० फाल्गुन २०८० ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App