२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा स्क्रबटाईफसले एकको मृत्यु,दिनदिनै सङ्क्रमण बढ्दै

उदयपुर जिल्ला अस्पताल । तस्विरः महेश्वर

उदयपुरमा स्क्रबटाईफस सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । पछिल्लो केही दिनयता बढ्दै गएको स्क्रबटाईफसले अघिल्लो दिन त्रियुगा नगरपालिका ९ का ४६ वर्षीय पति सदाको ज्यान गएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ। 

अस्पतालको आकस्मिक कक्षमा बिहीबार दिउसो भर्ना भएका सदाको उपचारकै क्रममा राति मृत्यु भएको हो । सिकिस्त बिरामी भएर इमरजेन्सीमा भर्ना भएका उनको परीक्षण गर्दा स्क्रबटाईफस सङ्क्रमण देखिएको र उपचार गर्दागर्दै राति मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्रकुमार झाले बताए । डा. झाका अनुसार निकै गम्भीर बिरामी भएपछि मात्र अस्पताल ल्याएकाले उपचार हुन नसकेको हो । 

अस्पतालमा जेनेरल फिजिसिएन डा. राहुल रौनियारले स्क्रबटाईफस सङ्क्रमणसँगै सदालाई मृगौला र पिसाबमा पनि सङ्क्रमण देखिएको बताए । झट्ट हेर्दा स्क्रबटाईफसले मृत्यु भएको देखिएको तर, सदाको मृगौला खराबी र पिसाबमा पनि इन्फेक्सन देखिएको उनले बताए । रोगले निकै च्यापिसकेको अवस्थामा अस्पताल ल्याएकाले पनि उनलाई उपचारबाट बचाउन संभव नभएको डा. रौनियारको भनाई छ । ‘अस्पताल ल्याउँदा बिरामीको अवस्था गम्भीर भइसकेको थियो, तै पनि हामीले तत्काल सक्दो उपचार गर्‍यौँ’ उनले भने ‘तर, ढिला भईसककाले बचाउन सकिएन ।’ 

डा. रौनियारका अनुसार उदयपुर अस्पतालमा स्क्रबटाईफसका बिरामीको संख्या अहिले ह्वात्तै बढेको छ । दैनिक आउने बिरामीमध्ये २÷४ जनामा स्क्रबटाईफसको सङ्क्रमण देखिने गरेको छ । अहिले उपचाररत दर्जन हाराहारी बिरामी स्क्रबटाईफसकै सङ्क्रमणका रोगी रहेको र बेड भर्ना गरेर उपचार भईरहेको छ । टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाईरल ज्वरोसँग लक्ष्मण मिल्ने यो रोग लाग्दा उपचार गर्न ढिला भए जोखिम हुने डा. रौनियार बताउँछन् । 

‘स्क्रबटाईफस सङ्क्रमणको अन्य सबै लक्षण भा रज ज्वरोको जस्तै हुन्छ’ डा. रौनियारले भने ‘तर, त्यससँगै टाउको, मुटु, मृगौला र अन्य जुनसुकै अङ्गहरूमा पनि असर गर्ने भएकाले यो निकै गम्भीर रोग हो ।’ गम्भीर खाले रोग भएकाले तत्काल उपचार गराई हाल्नुपर्ने सुझाउँदै उनले लापरबाही गरेमा ज्यानसम्म जान सक्ने खतरा हुने बताए । रौनियारका अनुसार समयमै उपचार गराएमा भने यो रोग खासै खतरनाक होइन । 

लापरबाही गर्दा जत्ति खतरा हुन्छ, समयमै उपचार पाए निको हुन पनि उत्तिकै सहज हुने यो रोग ३ देखि ५ दिनभित्र निको हुन्छ । यो सङ्क्रमणबाट बिरामी भएकाहरू ३ देखि बढीमा ५ दिनभित्र निको भएर थुप्रै घर फर्किसकेको डा. रौनियार बताउँछन् । अहिलेसम्म अस्पतालले ५०÷६० जनालाई उपचार गरेर डिस्चार्ज गरिसकेको पनि उनले बताए । 

अस्पतालकी स्टाफ नर्स छबित्रा राईका अनुसार साउन सुरुतिर देखा परेको स्क्रबटाईफस सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । साउनदेखि अहिलेसम्म अस्पताल आउने प्राय बिरामीमध्ये २/४ जनामा यो सङ्क्रमण देखिने गरेको राईले बताईन् । वार्ड इन्चार्ज रहेकी राईका अनुसार हालसम्म ५ दर्जन बढी बिरामी निको भएर घर फर्किसकेको र दर्जन हाराहारी अहिले पनि वार्ड भर्ना गरेर उपचार गराई रहेका छन् । 

प्रकाशित: २२ भाद्र २०८० ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App