१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मधेस प्रदेशमा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

संक्रमण बढेपछि स्कूल बन्द

फाइल तस्बिर

देशभर आँखा पाक्ने रोगका कारण समस्या बढ्दै गएसँगै मधेस प्रदेशका जिल्लामा आँखा पाक्ने रोग महामारीको रुप लिन थालेपछि आइतबारदेखि प्रदेशका शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गरिएको हो। आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि जनकपुर उपमहानगरपालिकाले सूचना जारी गरी शैक्षिक संस्थाहरु साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ।

एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

यसैगरी प्यावसनका सिरहा अध्यक्ष समेत रहेका प्यारागन पब्लिक स्कूलका संचालक उमेश चौधरीले २१ र २२ गते विद्यालय बन्द रह्ने जनाएका छन्। त्यसपछि संक्रमणको अवस्था हेरेर अघि बढ्ने उनले बताए।

पछिल्लो केही दिनयता मधेस प्रदेशका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ। लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल, वीरगन्ज स्थित केडिया अस्पताल, मलगंवा आँखा अस्पताल, गौर आँखा अस्पताललगायत मधेस प्रदेशका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो।

सगरमाथा चौधरी आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रबन्धक अभिषेक रोशनका अनुसार आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक आउने विरामीको संख्या बढेको छ। जसमा बालबालिकाको संख्या बढी छ। उनले भाइरल कनजङटिवाइटिसका कारण आँखा पाक्ने समस्या देखिने गरेको बताए। धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको उनको भनाइ छ। उनले यो पटक विगतका वर्षहरुभन्दा धेरै नै केसहरु देखिएको बताए।

यो एउटा भाइरल इन्फेक्सन नै मानिन्छ। आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ। त्यसले गर्दा यो रोग फैलिन्छ र यो आँखा पाक्ने रोगमा चाहिँ आँखा रातो हुने, पाक्ने गर्छ।

आँखा पाक्नेहरुमा रुघाखोकी, ज्वरो पनि आइरहेको छ। कतिपय व्यक्तिको भने आँखा मात्रै पाक्ने देखिएको छ। अहिलेको आँखा पाक्ने समस्या बढी विद्यालयमा पढ्ने बालबालिकामा देखिएको छ। रोशनले भने, ‘यो पहिला पहिला पनि देखिराख्ने हो। प्रायजसो अगस्ट, सेप्टेम्बरमा भइरहेको हुन्छ। तर, यो पटक पहिलेको भन्दा धेरै नै केसहरु पाइरहेका छौँ। अरु बेलामा पनि आँखा पाक्ने समस्या देखिन्छ। सायद गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्छ। हामी यसमा थप अनुसन्धान गरिरहेका छौं।’

यो समस्या हुँदा धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने र बिझाउने हुन्छ। यस्तै अफ्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ। कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ। धेरै जसो बिरामीमा बिहान उठ्दा आँखा पूरै टालिएको हुनेगर्छ।

उपचार नगरी त्यत्तिकै छोडियो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरु जम्न थाल्छ। लेयरहरु जम्न थाल्छ। त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ।

आँखा पाक्ने समयस्या भएका व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यसबाट बच्न अस्पतालले आमजनमा अपिल गरेको छ। ‘बढी रातो भएको छ, धेरै बिझाएको छ, धेरै सुन्निएको छ भने आँखा अस्पतालमा आएर चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्न रोशनले बताए। कसै कसैलाई भाइरस इन्फेक्सनसँगै ब्याक्टेरियल इन्फेक्सन पनि हुनसक्छ। कन्जनटिभाइटिसले आँखाको नानीमा पनि संक्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ। त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ। कालो चस्मा लगाउँदैमा अरुलाई नसर्ने भन्ने चाहिँ होइन। आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।’

सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट आँखा रोग विशेषज्ञ डा. संजयकुमार सिंहले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ गर्न नहुने सुझाएका छन्। आँखा पाकिहाले नजिकको आँखा अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग नगर्न उनको सुझाव छ। आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुन उनले सुझाएका छन्। अरुले प्रयोग गरेको रुमाल, तौलिया प्रयोग नगर्न र आफूखुशी औषधिको प्रयोग नगर्न उनले सुझाए।

प्रकाशित: १९ श्रावण २०८० १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App