१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा बढ्याे आँखा पाक्ने रोग

ताप्लेजुङमा दिनहुँ आँखा पाक्ने रोगी बढ्दै गएका छन्। आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएकामध्ये ३६ प्रतिशत सम्म आँखा पाक्ने समस्याका बिरामी आउने गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।  

विगत ५ दिन देखि आँखा पाक्ने बिरामीको संख्या अत्यधिक रहेको गुरुङले जानकारी दिए। उनका अनुसार आँखा उपचार केन्द्रमा मंगलवार ३३ जना आँखाको परीक्षण तथा उपचारका लागि आएकोमा १२ जना आँखा पाक्ने रोगबाट प्रभावित थिए । सरदर ४५ जना सम्म आँखा उपचार केन्द्रमा पुग्ने गरेकोमा १२–१३ जना सम्म त आँखा पाक्ने रोगी नै भेटिने गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ। 

गुरुङले आँखा पाक्ने समस्या देखिएका बिरामीलाई सफा पानीले पटक–पटक आँखा सफा गर्न, आँखा अत्यधिक मात्रामा पोलेको अवस्थामा चिसो बरफ वा आइसले सेक्न,प्रसस्त मात्रामा पानी पिउन र आँखा छुनु भन्दा अघि राम्रोसंग साबुन–पानीले हात धुन सुझाएका छन् । यस्तै कालो चश्माको प्रयोग गर्न,संक्रमित आँखालाई छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्विच आदि छुँदा तौलियाले छुन, आफुले प्रयोग गरेका तौलिया, रुमाल जस्ता सामाग्री अरुलाई प्रयोग गर्न नदिन समेत गुरुङको सल्लाह छ।

आँखा पाक्ने बिरामीले संक्रमित आँखालाई अनावश्यक छुन र चलाउन नहुने,भिडभाड हुने ठाउँमा जान नहुने,आफुले प्रयोग गरेको सामान तथा बस्तुहरु अरुलाई चलाउन दिन नहुने र आँखामा जोडपर्ने कुनै काम गर्न नहुने समेत गुरुङको सल्लाह छ। उनले आँखामा गम्भिर समस्या देखिन सक्ने भएकोले बिरामका संकेत देखिने बित्तिकै नजिकको आँखा उपचार केन्द्रमा गई आँखाको परीक्षण गर्न र चिकित्सकको सल्लाह बेगर आँखामा कुनैपनि औषधिको प्रयोग नगर्न समेत सुझाएका छन्।

‘अवस्था अनुसार केहि बिरामीले बेडरेस९ओछ्यानमै आराम०समेत गर्नुपर्छ’उनले भने । नेत्र रोग सम्वन्धी जानकारहरुका अनुसार आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने गरेको विज्ञहरु बताउँछन्। आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुनेगरेको पाइन्छ। यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुघाका लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्ने भएकोले सजगता अपनाउन विज्ञहरुको सल्लाह छ।  

प्रकाशित: १७ श्रावण २०८० ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App