१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बराहक्षेत्र नगर अस्पतालको सेवामा सुधार हुँदै

बराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित बराहक्षेत्र नगर अस्पतालको सेवामा सुधार हुँदै गएको छ।

चार वर्ष अघिसम्म लेखा परीक्षणको रिपोर्टका आधारमा झन्डै ५० लाख आर्थिक दायित्व बहन गर्नुपर्दा कमजोर बनेको नगर अस्पतालमा कम्रश: सुधार हुँदै गएको हो।

यति बेला अस्पतालमा सेवा थपिएको छ। व्यवस्थापन समितिले अस्पतालको नाममा रहेको आर्थिक दायित्व पनि घटाउँदै गएको छ। अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टका अनुसार नयाँ समितिले लेखा परीक्षण रिपोर्टका आधारमा ४० लाख रकम दायित्व भुक्तानी गरी सकिएको छ।  अब १० देखि १२ लाख दायित्व रकम रहेको र त्यसको पनि अध्ययन भइरहेको छ।

अस्पतालले यति बेला मासिक करिब ८० देखि ९० लाख सम्मको कारोबार गर्ने र करिब १० लाख रकम नाफा गर्ने गरेको विष्टले बताए। अस्पतालमा दैनिक एक सय ७५ देखि दुई सय २५ को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन्।

अस्पतालमा २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स–रे र  फिजोयो थेरापी सेवा दिने गरिएको छ। यस्तै, हप्तामा दुई दिन आइतबार र बुधवार आँखा उपचार सेवा प्रदान गर्ने गरिएको छ। यसैगरी, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स–रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ। हाल अस्पतालमा तीन जना डाक्टर, दुई जना एचए, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ४१ जना जनशक्ति रहेका छन्।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन निर्माण भइरहेको र एमडिजिपिसहित विशेषज्ञ डाक्टर, डेन्टल लगायतका अन्य सेवा थप गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए।

‘नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण नगरवासीलाई स्वास्थ्यको पहुँच सम्म पुर्‍याउनेछ,’ उनले भने।

चक्रघट्टी, चतरा र मधुवनका अस्पतालमा सेवा बिस्तारदेखि सुर्यकुण्डमा स्वास्थ्यकर्मी उपलब्ध र भवनको निर्माणको काम, कोसीपारी स्वास्थ्यकर्मी र भवनको काम भइरहेको र सम्पूर्ण वडाहरूमा स्वास्थ्य संस्थाको स्तरवृद्दि र जनशक्ति व्यवस्थापनमा नगरपालिकाको योजना रहेको पनि कार्कीले बताए।

प्रकाशित: २१ असार २०८० ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App