१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

साकेलालाई ‘पोषणमैत्री गाउँपालिका’ घोषणा गर्ने प्रतिबद्धता

पोषणयुक्त गाउँपालिका घोषणाको प्रतिबद्धता पत्रमा हस्ताक्षरपछि सामूहिक तस्बिर खिच्दै अध्यक्ष, उपाध्यक्ष लगायत सरोकारवालाहरू। तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ। सोमबार आयोजित एक कार्यक्रममा पोषणमैत्री गाउँपालिका बनाउने आवश्यक बिभिन्न सूचकसहितको ‘११ बुदे प्रतिवद्धता पत्रमा सरोकारवालाहरूले हस्ताक्षर गरेका छन्। 

प्रतिबद्धता पत्रमा गाउँपालिकालाई आगामी ४ वर्षभित्र पोषणमैत्री स्थानीयतह घोषणा गर्ने गरी आवश्यक सूचकहरू पुरा गर्ने अभियान चलाउन लागिएको उल्लेख छ। ‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति पदाधिकारी र सरोकारवालालाई पोषणमैत्री स्थानीयतह बनाउन आयोजित अनुशिक्षण कार्यक्रमले बनाएको प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको हो। 

अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, १ नं. वडाध्यक्ष हेमन राई, २ का जितेन्द्रकुमार राई, ३ का गोविन्द तामाङ, ४ का अर्जुन कटवाल र ५ का जीवन खत्रीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष राईले आफ्नो कार्यकालभित्रै गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरी छाड्ने दुढता व्यक्त गरे। अध्यक्षको दृढतालाई उपाध्यक्ष बिर्सिका र ५ वटै वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कार्यपालिका सदस्यले  स्वरमा स्वर मिलाए। गाउँ सभा सदस्यहरू स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मी, विषयगत शाखा प्रमुखलगायत कर्मचारीसमेतले एकमतले ४ वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्ने कुराप्रति पूर्ण समर्थन गर्दै सक्दो सहयोग गर्ने बाचासहित हस्ताक्षर गरेका छन्। 

पोषणमैत्री स्थानीयतह घोषणा गर्न गाउँपालिकाले पुरा गर्नुपर्ने ७६ वटा सूचकहरू तय गरिएको छ। जसमध्ये अधिकांश सूचकहरू अहिले नै पुरा भइसकेको अध्यक्ष राईले बताए। बाँकी सूचकहरू पुरा गर्न अध्यक्षदेखि उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हुँदै वडा सदस्यसम्म र कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृतदेखि विषयगत शाखा प्रमुख हुँदै कार्यालय सहयोगीसम्मले समान भूमिका खेल्न अध्यक्ष राईले आग्रह गरे। यसरी जनप्रतिनिधि र कर्मचारीको पुरै संयन्त्र लागी परेपछि ४ वर्षभित्र प्रतिबद्धता पुरा नहुने भन्नेमा कसैले शंका गर्न नसक्ने उनले बताए। ‘हामी जनप्रतिनिधि र कर्मचारी सबै मिलेर लागेपछि आज हस्ताक्षर गरे अनुसारको प्रतिबद्धता पुरा भएरै छाड्नेछ’ अध्यक्ष राईले भने ‘पुरा नहुने देखिएमा टाउकाले टेकेरै भए पनि ४ वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री घोषणा गरेरै छाडिने छ।’

स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारलेसमेत पोषण क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको भन्दै अध्यक्ष राईले निर्धारित लक्ष्य अनुरूप पोषणमैत्री देश बनाउने अभियानमा साकेला गाउँपालिका अगुवा बन्ने उद्घोष पनि अध्यक्ष राईले बताए। अध्यक्ष राईले जनतालाई स्वस्थ्य राख्न गाउँपालिका मात्र नभएर सिङ्गो देश पोषणमैत्री हुनुपर्ने भन्दै त्यसो नगरी नेपाली नागरिकले समृद्धिको सपना पुरा नहुने बताए। साकेलाले देखेको सपना पुरा गर्न ‘५ वर्षे आवधिक योजना’ निर्माणको अन्तिम चरणमा पुगेको भन्दै अध्यक्ष राईले पोषणमैत्री स्थानीयतह घोषणा गर्नु पनि प्रमुख कर्तव्य भएको बताए। आवधिक योजना कार्यान्वयन गर्न सकेमा साकेलावासीको सुन्दर सपना साकार हुने भएकाले गाउँपालिका पोषणमैत्री स्थानीयतह अनिवार्य भएको बताए। उनले यो स्वर्णिम अभियानमा साथ सहयोग गर्न पनि सबै क्षेत्र, तह, तप्का, लिङ्ग, वर्ग र समुदायसँग आग्रह गरे। 

बहु क्षेत्रीय पोषण कार्यक्रमका प्रदेश १ संयोजक सञ्जिव लामा घिसिङ र प्रशिक्षक सीताराम रिमालको सहजीकरणमा सम्पन्न अनुशिक्षणमा गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्न बालबालिकालाई अनिवार्य विद्यालय पठाएर गुणस्तरीय शिक्षा दिनुपर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकीमा निशूल्क र गुणस्तरीय उपचार र पोषण सेवा सुनिश्चित हुनुपर्ने, गर्भवती, सुत्केरी महिला र बालबालिकालाई पोषण प्रोत्साहन र पोसिलो खाना उपलब्ध गराउनुपर्ने, २ वर्ष मुनिका बालबालिकाको वृद्धि अनुगमन प्रभावकारी बनाउन बाल पोषण अनुदान वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचकहरू रहेका छन्।

त्यसैगरी सुरक्षित खानेपानी र सरसफाई व्यवस्था सुनिश्चित, पूर्ण सरसफाई अभियान, विभिन्न तहका प्रतिवद्धता, कार्य योजना र समन्वय संयन्त्रको सुनिश्चित, सहयोगी निकायबाट प्राप्त हुने सहयोग मूल प्रवाहीकरणमा ल्याएर कार्यान्वयन तथा प्रभावकारी अनुगमन, सबै स्तरमा बहु क्षेत्रीय पोषण योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चिततालगायत सूचकहरू पुरा भएको हुनुपर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। बहु क्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयन गर्न वार्षिक उपलब्ध आन्तरिक स्रोतका साथै प्राप्त अनुदानको निश्चित हिस्सा लगानी गर्ने, संघ, प्रदेश र स्थानीय तहले अन्य दाता संघसंस्थाहरुसाग विकास साझेदारी गरेर योजना सफल पार्नुपर्ने बुँदाहरू पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। 

त्यसैगरी समाजमा विद्यमान बालविवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्यनीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो ४ वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गर्ने बुँदाहरू प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०८० १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App