१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गाउँपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौंको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन्। बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन्।

स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोग लगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले बताए।

‘गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको हो’, उनले भने, ‘नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना छ।’

शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो। शिविरमा आउन तथा फर्किन गाउँपालिकाले सेवाग्राहीलाई बसको समेत व्यवस्था गरेका थियो। शिविर सञ्चालन गर्न काठमाडौं मेडिकल कलेजबाट २६ चिकित्सकको टोली बाक्सिला आएको थियो।

यसैबीच केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार गराउँदा छुट पाउने भएका छन्। गाउँपालिकाको आग्रहमा काठमाडौं मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो। अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने, महाप्रबन्धक नारायणप्रसाद दाहाल, गाउँपालिकाका अध्यक्ष राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्की बीचमा उपचार छुट लगायत सात बुँदे सम्झौता भएको छ। रासस  

प्रकाशित: ६ वैशाख २०८० ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App