काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।
झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ। माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ।
‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्यचौकी पुगिहाल्नुपर्छ,’ राष्ट्रिय इपिडियोमोलोजी तथा रोगनियन्त्रण महाशाखा, विपद् व्यवस्थापन शाखाका प्रमुख डा. गुणनिधि शर्माले भने।
गत वर्षदेखि यो रोगका कारण नेपालमा आठ जनाको ज्यान गइसकेको छ । वैशाखयता मात्रै तीन जनाले ज्यान गुमाएका छन् । यस वर्ष १७ जिल्लाका ९३ जनामा संक्रमण प्रमाणित भइसकेको छ।
‘स्क्रब टाइफसका कारण जसको ज्यान गयो उनीहरू उपचारमा ढिला पुगेको देखिन्छ,’ डा. शर्माले भने।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुन सुरुमै आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गनुपर्ने अवस्था निम्तिने बताउँछन्।
स्क्रब टाइफस उपचारका लागि सरकारले देशभरका स्वास्थ्यचौकी तथा अस्पताललाई तयारी अवस्थामा राखेको डा. शर्माले जानकारी दिए । उनका अनुसार यो रोग संक्रमण भएपछि दिइने औषधि र जानकारी सबै तहका स्वास्थ्यसंस्थामा पुगिसकेको छ । ‘हेल्थपोस्टका प्यारामेडिकल पनि यसको उपचार गर्न सक्षम छन्,’ शर्माले भने।
महाशाखाले छिटो उपचार गरी जोखिम कम गर्न सबै स्वास्थ्यचौकीमा औषधि विवरण जारी गरिसकेको छ। डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दस दिन प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुने शर्माले बताए । यसका साथै संक्रमितले प्रोटिनयुक्त खाना र प्रशस्त झोल पदार्थ खानुपर्ने उनले सुझाए।
चितवनमा यो रोगको संक्रमण अधिक पाइएको छ । वैशाखयता चितवनमा ४२, नवलपरासीमा १० र संखुवासभामा ६ संक्रमित फेला परेका छन् । नुवाकोट, मकवानपुर, बाग्लुङ, पर्सा, रुकुम, सर्लाही, सिन्धुली, सुनसरीलगायत जिल्लामा पनि यसका बिरामी भेटिएका छन्।
चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन् । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन्। ‘यसको जोखिम भनेकै छिट्टै अन्य अंगमा पनि संक्रमण गराउँछ,’ शर्माले भने ।
कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । उनीहरूका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ।
नेपालमा सन् २००४ देखि नै यो परजीवी रहेको अध्ययनले पुष्टि भइसकेको छ । गत वर्षदेखि भने यसका प्रमाणित बिरामी फेला परिरहेका छन् । ‘यस्तै लक्षणलाई पहिला टाइफाइड भनेर उपचार गरिन्थ्यो, टाइफाइडको औषधिले निको नभएपछि टाइफसको खोजी भएको थियो,’ डा. शर्माले भने । टाइफस संक्रमण गराउने परजीवी भारत, अस्टे«लिया, मलेसिया, थाइल्यान्ड, कोरिया, भियतनाम, माल्दिभ्स, बंगलादेश, पपुवान्युगिनीलगायत देशमा पनि पाइन्छ । अमेरिकी सैनिकमा सन् १९७० मा देखा परेपछि यो रोग पहिचानमा आएको थियो।
प्रकाशित: ८ भाद्र २०७३ ०२:०९ बुधबार