१७ मंसिर २०७९ शनिबार
शिक्षा

सीपमूलक शिक्षाले जनजागृति माविमा विद्यार्थीको आकर्षण

केही वर्ष अघिसम्म धादिङ थाक्रेको जनजागृति उच्च माध्यमिक विद्यालय सामान्य नै थियो। व्यावहारिक तथा गुणस्तरीय शिक्षा प्रबन्धसँगै यो विद्यालयमा पढ्ने विद्यार्थीको ओइरो लागेको छ।

२२ वर्षअघि २०५७ सालमा स्थापना भएको यो विद्यालयमा एक सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष ०७९/८० मा १३ सय ७६ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये छात्र ६९० र छात्रा ६७६ रहेका छन्।

गत आवमा यो विद्यालयमा विद्यार्थी संख्या १२ सय ५० थियो भने अघिल्लो आव २०७६/०७७ मा एक हजार थियो। विद्यालयको क्षमताभन्दा बढी भर्ना हुन आएका तीन सय विद्यार्थीलाई फिर्ता पठाउनुपरेको प्रधानाध्यापक लवणप्रसाद फुयाँलले बताए।

‘विद्यालयको क्षमताभन्दा बढीलाई भर्ना गर्न सकेनौं। टाढाबाट विद्यालय आउने धेरै भए’, उनले भने। पाँच वर्षदेखि शिक्षा तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रम लागु गरेसँगै विद्यार्थी आकर्षण बढेको प्रधानाध्यापक फुयाँल बताउँछन्।

२०७३ सालदेखि सरकारले विद्यालय क्षेत्र शिक्षा विकास कार्यक्रम लागु गरेयता विद्यालयमा खानेपानी, पुस्तकालय विस्तार, विज्ञान प्रयोगशाला, इन्जिनियरिङ प्रयोगशाला विस्तार, इन्जिनियरिङ पढाइ, भूकम्पले क्षति पुर्‍याएको भवनको रेक्टोफिटिङ, छात्राका लागि सेनेटरी प्याड कार्यक्रम, विद्यालय राहत शिक्षक दरबन्दी, विद्यालय खाजा कार्यक्रम, दृष्टिविहीन विद्यार्थीका लागि छात्राबाससहितको निःशुल्क शिक्षा व्यवस्थालगायत कार्यक्रममा गुणस्तरीय विस्तारसँगै विद्यार्थी आकर्षण बढेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक फुयाँलका अनुसार कक्षा ९ देखि १२ कक्षासम्म सिभिल इन्जिनियरिङ, कक्षा १२ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुने गरेको छ। यी विषयका अतिरिक्त विद्यालयमा अध्यापन हुने म्युजिक कक्षा, कम्प्युटर कक्षा, बाल क्लबलगायत अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीको थप आकर्षण बढेको सहप्राध्यापक रामचन्द्र रूपाखेतीले बताए।

फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले विद्यालयमा कम्प्युटर ल्याब, सेनेटरी प्याड, खाजा निःशुल्क रूपमा प्राप्त भएपछि गरिब, जेहेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ। सेनेटरी प्याड निःशुल्क रूपमा वितरण गर्न थालेपछि छात्राको बीचैमा कक्षा छाड्ने क्रम रोकिएको हो। अहिले छात्रको तुलनामा छात्रा संख्या बढी छ। ‘खाजा कार्यक्रमले पैसा हुने र नहुने विद्यार्थीबीचको असमानता मेटिएको छ’, उनले भने। ‘विज्ञान प्रयोगशाला, इन्जियिरिङ, कम्प्युटर ल्याबको अभाव थियो। यो अभाव विद्यालय क्षेत्र विकास कार्यक्रमले हटाइदिएको छ’, फुयाँलले भने।

दृष्टिविहीन विद्यार्थी पढाउनका लागि यो कार्यक्रमले प्रति महिना चार हजारका दरले सरकारले छात्रवृत्ति वितरण गरेको छ। विद्यालयमा २० जना दृष्टिविहीन अध्ययनरत छन्। बिहान–बेलुकी दृष्टिविहीन विद्यार्थीलाई बे्रललिपि, कम्प्युटर र म्युजिक सिकाइपछि मात्र साधारण कक्षामा अध्ययन गराइन्छ।

खुला विद्यालय कक्षा सञ्चालनले यो विद्यालयमा आकर्षण बढेको फुयाँलको भनाइ छ। ‘कारणवश बीचैमा पढ्न छाडेका विद्यार्थीका लागि खुला विद्यालय कक्षा सञ्चालन हुनुले आकर्षण बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रूपाखेती बताउँछन्। उनका अनुसार यो पालिकामा विभिन्न कारणले बीचैमा कक्षा छाड्ने सयौं छन्।

‘बीचैमा कक्षा छाडेका एक सय ६४ विद्यार्थी भिन्नै कक्षामा अध्ययन गरेर एसइई उत्तीर्ण भइसके। अहिले पनि त्यस्ता विद्यार्थी छन्’, उनले भने। यो विद्यालयको बाल विकास केन्द्रमा अध्यापन गराइरहेकी शिक्षिका भगवती बिडारीले बीचैमा पढाइ छाडिन्। पछि यही विद्यालयमा कार्यालय सहायकका रूपमा काम गर्न थालिन्। विद्यालयले सञ्चालन गरेको खुला विद्यालयमा पढेर एसइई उत्तीर्ण गरिन्। अहिले उनी जनजागृति विद्यालयमै बालविकास केन्द्रकी शिक्षिका बनिसकेकी छन्। उनीबाहेक खुला विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा र रोजगारमा सहभागी भइसकेको प्रधानाध्यापक फुयाँलले बताए।

सीपमूलक शिक्षा नै विद्यार्थी आकर्षणको मुख्य कारण रहेको शिक्षकहरू बताउँछन्। ‘व्यावहारिक तथा रोजगारमूलक शिक्षा आजको आवश्यकता’ नारा लागु गर्न विद्यालय व्यवस्थापन समिति सक्रिय बनेको छ। ‘विद्यालय तहमै इन्जिनियरिङको आधारभूत ज्ञान मिलेपछि उच्चस्तरमा अध्ययन सहज हुन्छ र भविष्यमा कुन विषय छनोट गर्ने भन्ने तयारी पनि विद्यालयदेखि नै सुरु हुन्छ’, उनले भने।

बेरोजगार शिक्षितको बोझ घटाउन सञ्चालन भएका प्राविधिक शिक्षाले बाटो खोलेको उनको तर्क छ। ‘विद्यालय प्राविधिक शिक्षा, व्यावहारिक शिक्षाको नाराबाट अघि बढिरहेको छ’, फुयाँलले भने। कक्षा १० मा सिभिल इन्जिनियरिङमा अध्ययनरत छात्रा अमिता थापाले इन्जिनियरिङ अध्ययनकै लागि टाढाबाट आएर यही विद्यालय भर्ना भएको बताइन्। उनले भनिन्, हामी भाग्यमानी छौं। गाउँमै इन्जिनियरिङ पढ्न पाएका छौं। पूरै निःशुल्क कक्षा पढ्न पाएर आफू खुसी भएको विद्यालयका दृष्टिविहीन छात्र जिवेश तामाङले बताए।

विद्यालयमा रोजेको विषय पढ्न पाइने र अतिरिक्त क्रियाकलाप, संगीत कक्षा, एनसिसी तालिम, अतिरिक्त क्रिायकलापमा बालक्लबको सक्रियताजस्ता कार्यक्रमले पढाइ बोझिलो नलागेको छात्रा प्रतिभा घलानले बताइन्। घलानको स्थायी घर मकवानपुर हो, तर उनी डेरा लिएर अध्ययरत गरिरहेकी छन्।

कोभिड १९ महामारीका बेला विद्यालयले अपनाएको वैकल्पिक अध्यापनको प्रभावकारिताले पनि यो विद्यालयप्रति अभिभावकको विश्वास बढेको व्यवस्थापन समितिको दाबी छ। यो अवधिमा विद्यालयले स्नातक तह सकेर बेरोेजगारमा रहेका युवालाई टोल–टोलमा खटाएर अध्यापन गराएको थियो। बाँकी रहेका विभिन्न समूहको अनलाइन कक्षामार्फत अध्यापन गराएको थियो। यी वैकल्पिक कक्षामार्फत कोभिड महामारीमा पढाइ प्रभावित नबनेको विद्यालयको दाबी छ।

विद्यालय आधार शिक्षा विकास कार्यक्रमबाट सीमान्तकृत तथा पिछडिएका बालबालिका लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रूपाखेती बताउँछन्। ‘अहिले यो विद्यालयमा एक सयभन्दा बढी चेपाङ र दनुवार समुदायका विद्यार्थी छात्रावृत्तिसहित अध्ययन गरिरहेका छन्’, उनले भने।

प्रधानाध्यापक फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र कार्यक्रमले सयजना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति वितरण गरेको छ। ‘पढ्नबाट वञ्चित छु भन्ने अवस्था छैन। विद्यालयमा घरायसी वातावरण सिर्जना भएकाले अभिभावक र विद्यार्थी दुवै ढुक्क छन्’, उनले भने।

सरकारी विद्यालयका शिक्षक र व्यवस्थापन समितिका सदस्यका छोराछोरीसमेत सरकारी विद्यालयमा पढाउनुपर्ने नीति लागू भएकाले पनि अभिभावकमा विश्वास बढेको देखिन्छ। प्रधानाध्यापक फुयालका दुवै छोरी यही विद्यालयमा पढिरहेका छन् भने व्यवस्थापन समितिका अध्यक्ष र सहप्राध्यापक रूपाखेतीका दुवै छोराछोरीले यही विद्यालयबाट एसइई उत्तीर्ण गरिसकेका छन्।

२०७३ देखि विद्यालय क्षेत्र विकास कार्यक्रम लागु भएयता धेरै क्षेत्रमा परिवर्तन आएको छ। राहत शिक्षक, सहजकर्ता, छात्रवृत्ति, खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुदृढीकरण, भौतिक पूर्वाधार, कक्षाकोठा व्यवस्थापन जस्ता क्षेत्रमा लगानी भएसँगै थाक्रे गाउँपालिकाका अन्य विद्यालयमा पनि बीचैमा कक्षा छाड्ने विद्यार्थी घटेको थाक्रे गाउँपालिका शिक्षा विभागकी प्रमुख अनिता खनालले बताइन्। ‘बीचैमा विद्यालय छाड्नेको संख्या घटेको छ’, उनले भनिन्।

विद्यालय तहदेखि नै सीपमूलक विषय समेट्ने तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष रूपाखेतीले सुनाए। ‘देशमा रहेको शैक्षिक बेरोजगार समस्या आउन नदिने गरी विषय समावेश गर्दै छौं, अब अन्य प्राविधिक विषय पढाउँछौं’, उनले भने।

विद्यालयको भवन हाता साँघुरो छ। जमिन कम छ। कक्षाकोठा र खेल मैदान अपुग छन्। विद्यालय जग्गा खरिद गर्न सक्षम छैन। आवश्यक जग्गा सरकारले उपलब्ध गराएको स्थितिमा भवन अन्य स्रोतबाट पनि निर्माण गर्न सकिने अध्यक्ष रूपाखेतीले बताए। ‘थप जग्गा र भवन भएमा पढ्ने इच्छा भएका विद्यार्थीले फर्कनुपर्ने थिएन’, उनले भने।

प्रकाशित: १३ आश्विन २०७९ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App